तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टेक्सस आप्रवासी सङ्कट: घोडामा बसेर हेइटीका आप्रवासीलाई पिछा गरेका सीमा सुरक्षाकर्मीका विवादास्पद तस्बिरहरू
ह्वाइटहाउसले ती दृश्यहरूलाई 'दर्दनाक' बताएको छ।
अमेरिकी सीमा सुरक्षाकर्मीहरूले घोडामा बसेर टेक्ससको रियो ग्रान्डी नदीनजिकै आप्रवासीहरूलाई लखेटेका तस्बिर तथा भिडिओहरूले देशभरि विवाद सिर्जना गरेको छ।
अमेरिका-मेक्सिको सीमामा एउटा नयाँ आप्रवासी सङ्कटबीच त्यस्ता दृश्यहरू देखा परेका हुन्। जहाँ गत साता धेरैजसो हेइटीका १२ हजार आप्रवासी अस्थायी शिविर बनाएर बसेका छन्।
उनीहरू टेक्ससको शहर डेल रियोलाई सिउड्याड अक्युनिआसँग जोड्ने पुलमुनि बसेका छन्।
आप्रवासीहरूले झेलेको दयनीय अवस्थाबारे आलोचना भएपछि गत साता अमेरिकी अधिकारीहरूले एउटा विज्ञप्ति जारी गरेका थिए।
जसमा भनिएको थियो, "तापक्रमसँग जोडिएका रोगहरू फैलन नपाऊन् भनेर डेल रियो अन्तर्राष्ट्रिय पुलमुनि उनीहरू (यूएस बोर्डर पेट्रोलले) हिरासतमा लिनुअगावै ओत लिएर अस्थायी रूपमा बसेका थिए।"
अमेरिकी सरकारले आइतवार तीमध्ये सयौँलाई उनीहरूको देश फिर्ता पठाउनुका साथै डेल रियो सीमा बन्द गरेको थियो।
त्यसलाई हाइटीका अन्य सयौँ नागरिकलाई मेक्सिकोतिरै फर्कन प्रेरित गर्ने कदमका रूपमा हेरिएको छ।
के भएको थियो?
अस्थायी शिविरमा फर्कनुअघि पुलमुनि बसेका केही आप्रवासीहरू आफू र परिवारका लागि पानी र खानेकुराहरू किन्न मेक्सिकोतर्फ गएका थिए।
एएफपी समाचार संस्थाका फोटोग्राफर पल रात्जीले सीमा पार गर्ने ठाउँमा आप्रवासीहरू अमेरिका प्रवेश गर्ने र फर्कने क्रमका तस्बिरहरू खिचेका थिए।
ती फोटोग्राफरले द वासिङ्टन पोष्ट पत्रिकासँग भने, "अचानक केही प्रहरीहरू देखा परे र उनीहरूले मानिसहरूलाई लखेट्न थाले। त्यसपछि घोडामा आएका केही गस्ती प्रहरीले पनि आएर त्यसो नै गरे।"
तस्बिरहरूमा केही एजेन्टहरूले 'कोर्रा' बोकेको देखिएको बताएका छन्। तर अधिकारीहरूले भने त्यसलाई 'घोडालाई नियन्त्रण गर्ने' लगाम बताएका छन्।
"उनीहरू आउने क्रम निरन्तर थियो र एजेन्टहरूले 'तिमीहरू आउन पाउँदैनौ, मेक्सिको फर्क्' भनिरहेका थिए। तर मानिसहरूले 'मेरो परिवार त्यता छन्' भनिरहेका थिए," रात्जीले वाशिङ्टन पोस्टसँग भने।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार त्यस्तो घम्साघम्सीबीच आप्रवासीहरू अन्तत: खोला तरेर आफ्नो सिविरसम्म पुग्न सकेको अमेरिकी सञ्चारमाध्यमहरू जनाएका छन्।
विवाद
सोमवार ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले भनिन्, "मलाई लाग्दैन ती दृश्यहरू देख्ने कसैले त्यसलाई ठिक वा स्वीकार्य ठानोस्।"
"मलाई पूरै सन्दर्भ थाहा छैन। अवश्य पनि उनीहरूले त्यस्तो फेरि गर्न पाउने छैनन्। त्यो नि:सन्देश दर्दनाक छ।"
डेमोक्र्याटिक सांसद् इल्हान ओमारले ती कार्यलाई 'मानवअधिकार हनन' बताउँदै त्यसलाई 'निर्दयी, अमानवीय र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनहरूको उल्लङ्घन' बताएका छन्।
अमेरिकाको होमल्याण्ड सेक्युरिटी मन्त्री अलेजान्ड्रो मायोर्कासले उक्त घटनालाई 'हृदयविदारक' भन्दै त्यसको अनुसन्धान गरिने बताए।
तर उनले एउटा चेतावनी जारी गर्दै भने, "यदि तपाईँ गैरकानुनी रूपमा अमेरिका आउनुहुन्छ भने तपाईँ फर्कनुपर्छ। तपाईँको यात्रा सफल हुनेछैन र तपाईँले आफ्नो र परिवारको जीवन जोखिममा पार्नुहुनेछ।"
एउटा नयाँ सीमा सङ्कट
यस अवस्थाले आप्रवासीहरूप्रति थप 'मानवीय' शैली अपनाउने बताएको जो बाइडन प्रशासनमाथि एउटा नयाँ राजनीतिक र मानवीय चुनौती थपेको छ।
आप्रवासी र शरण खोज्नेहरूप्रति राष्ट्रपति बाइडनले रिपब्लिकन पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका आफ्ना पूर्ववर्तीभन्दा सहज नीति लिने वाचा गरेका थिए।
हेइटीमा हालै राष्ट्रपति जोभनेल मोइजको हत्या र दक्षिण पश्चिमी भेगमा गएको भुकम्पको दुई ठूला सङ्कट एकैसाथ देखा परेका छन्।
तर बीबीसी मोनिटरिङको रिपोर्ट अनुसार अमेरिकी सीमामा पुगेका धेरै अमेरिकीहरू दुई लाखको ज्यान लिएको सन् २०१० को भुकम्पलगत्तै केही वर्षअघि नै आफ्नो घर छाडेका हुन्।
उनीहरू केही समय दक्षिण अमेरिकाका ब्रजिल र चिलेजस्ता देशमा शरण लिएका थिए।
यसै साता मात्र ५६० जना आप्रवासीहरू हेइटी फर्काइएका छन् र हजारौँ अन्य टेक्ससको शिविरमा रहेको एएफई समाचार संस्थाले जनाएको छ।
यही सोमवार स्वदेश फर्काइएका २३३ हाइटीका नागरिकमध्ये ४५ जना बालबालिका र ४५ जना महिला छन्।
एउटा समाचार स्रोतका अनुसार फर्काइएका सबैजसो महिलासँग साथ एक सन्तान वा शिशु थिए।
अमेरिकी अधिकारीहरूका अनुसार थप ६ हजारभन्दा धेरै हाइटीका नागरिकहरू घर फर्काउने प्रक्रियाकै लागि आप्रवासी छानबिन केन्द्रहरूमा पठाइएको छ।
स्वदेश फर्किएका केही हेइटीका नागरिकहरूले आफूहरूलाई अमेरिकी सीमा प्रहरीले नराम्रो व्यवहार गरेको बताएका छन्।
३० वर्ष आसपासकी एक महिलाले भनिन्, "उनीहरूले हामीलाई चोरजसरी व्यवहार गरे। हेइटीका मानिसहरू चोर होइनन् बरू राम्रो जीवन खोजिरहेका मानिसहरू हुन्। उनीहरूले अन्य देशका मानिसहरूलाई त्यस्तो व्यवहार गर्दैनन्। यो जातिवादका आधारमा गरिएको विभेद हो।"