आप्रवासी सङ्कट: आप्रवासीहरूले प्रयोग गर्ने विश्वका सबैभन्दा खतरनाक मार्गहरू कस्ता छन्

अन्तर्राष्ट्रिय सीमा पार गर्न खोज्ने मानिसहरूले केही दिनको अन्तरालमा दुईवटा डरलाग्दा विपत्ति खेपे।

गत साता शुक्रवार सीमामा राखिएको बार नाघेर मोरक्कोबाट स्पेनको अधीनमा रहेको उत्तरी अफ्रिकी भूभाग मेलिला पुग्न खोज्दा कम्तीमा २३ जना मानिसको मृत्यु भएको थियो। त्यसको तीन दिनपछि अमेरिकाको सान एन्टोनियो सहरमा प्रहरीले बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला पार्‍यो।

कोरोनाभाइरस महामारीका कारण धेरै देशले प्रवेशमा कडाइ गरेपछि विश्वको सबैभन्दा ठूला आप्रवासी मार्गहरूमा यात्रा गर्ने मानिसको सङ्ख्या बढ्दै गएको देखिन्छ।

विज्ञहरूले यस्ता गतिविधिका कारण मृत्युको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनसम्बन्धी निकाय आईओएमले सन् २०१४ देखि अमेरिका वा युरोपेली युनियन ईयूजस्ता गन्तव्यमा पुग्ने प्रयासको क्रममा झन्डै ५०,००० आप्रवासी मरेको वा बेपत्ता भएको आकलन गरेको छ। मृतक र बेपत्ता मानिसको वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने ठानिएको छ।

आप्रवासीहरूका लागि संसारका सबैभन्दा जोखिमपूर्ण मार्गहरू कुन हुन्?

मध्य भूमध्यसागर

आईओएमका अनुसार आप्रवासीका लागि मध्य भूमध्यसागर संसारकै सबैभन्दा घातक मार्ग हो। सन् २०१४ देखि उत्तर अफ्रिकाबाट भूमध्यसागर पार गर्ने प्रयास गर्दा १९,५०० भन्दा बढी मानिसको मृत्यु भएको आकलन गरिएको छ।

प्रायः केही परिष्कृत रबर डिङ्गीजस्ता डुङ्गामार्फत् धेरै मानिसहरूले सागर पार गर्ने प्रयास गर्छन्। त्यसले गर्दा यात्रा झनै जोखिमपूर्ण हुन्छ र घातक हुने सम्भावना बढ्छ।

त्यस्ता डुङ्गाहरू धेरैजसो आपराधिक गिरोह र मानवतस्करहरूले सञ्चालन गर्छन्।

मध्य भूमध्यसागरको मार्ग हुँदै युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि लिबियाको छेउमा अवस्थित ट्यूनिशिया मुख्य प्रस्थानबिन्दु हो। त्यहाँ समुद्रमा डुबेर ज्यान गुमाउने मानिसका लाग आरक्षित चिहान पनि छ।

"यहाँ चिहानहरू देख्दा मलाई निकै दुःख लाग्छ," ट्यूनिशियाबाट यात्रा गर्ने आशामा रहेका नाइजिरियाली आप्रवासी विक्कीले चिहान डुल्दै गर्दा समाचारसंस्था एएफपीलाई भने।

"यी चिहानहरू देखेपछि अझै समुद्र पार गर्न मलाई मन लाग्छ कि लाग्दैन मलाई थाहा छैन," उनले भने।

आईओएमजस्ता संस्थालाई भने अन्य आप्रवासीहरूलाई यी कुराले निरुत्साहित नगर्ने डर छ।

"मध्य भूमध्यसागरबाट आप्रवासी जाने क्रम जारी छ। संसारको सबैभन्दा खतरनाक समुद्री यात्रा तय गर्ने क्रममा ज्यान जाने मानिसको सङ्ख्या उच्च हुनु चिन्ताको विषय हो। सम्बन्धित राष्ट्रहरूले ठोस कदम नचालेकाले मानिसको ज्यान जाने क्रम जारी छ," आईओएमका प्रवक्ता सफा मसेहलीले भनिन्।

युरोपेली सीमा र तटरक्षक निकाय फ्रन्टेक्सको विवरणअनुसार सन् २०१५ यता झन्डै तीन लाख मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको छ।

अफ्रिकाका भित्री मार्गहरू

धेरै अफ्रिकी आप्रवासीहरूको युरोप पुग्ने सपना उनीहरूको आफ्नै महाद्वीपको यात्राबाट सुरु हुन्छ।

त्यसका लागि उनीहरूले प्रायः उत्तर अफ्रिकी देशहरू जान सहारा मरुभूमि पार गर्नुपर्छ।

त्यहाँको कठोर पर्यावरणीय अवस्था अर्को ठूलो चुनौतीपूर्ण विषय हो। आईओएमले सन् २०१४ देखि २०२२ को बीचमा लगभग ५,४०० जनाको मृत्यु मरुभूमि पार गर्ने क्रममा भएको अनुमान गरेको छ।

"मरुभूमिमा मानिसको मृत्यु ऊर्जाको अभावले भएको देखिन्छ। केही मानिसको चाहिँ पानी सकिएकाले मृत्यु भयो," एक आप्रवासी अब्दुल्लाह इब्राहिमले समाचार एजेन्सी एएफपीलाई आफ्नो सीमा पार गर्दाको अनुभव सुनाएका छन्।

आप्रवासीहरूका लागि अर्को ठूलो चुनौती उक्त क्षेत्रमा सक्रिय मानव बेचबिखन गर्ने गिरोहहरू हुन्।

"यस क्षेत्रका मानवतस्कर र सीमा अधिकारीहरूले गर्ने हिंसाले पनि आप्रवासीले प्रयोग गर्ने मार्गमा पर्ने मरुभूमिमा हुने मृत्युको सङ्ख्या बढाउँछ," आईओएमले यस विषयसम्बन्धी प्रकाशित नयाँ विवरणमा लेखिएको छ।

मेक्सिको हुँदै अमेरिका जाने बाटो

यो मार्ग हुँदै अमेरिका पुग्ने मानिसको लक्ष्य त्यहाँ पुग्नु मात्र होइन, अमेरिकामा घरबार गर्नु पनि हो।

संयुक्त राज्य अमेरिका र मेक्सिको बीचको सीमामा ठूला चुनौतीहरू छन्: त्यो भेगमा मरुभूमि छ र त्यो मानिसका लागि अनुपयुक्त मानिन्छ। प्राय: आप्रवासीहरू सीमावर्ती रियो ग्रान्डे नदी हुँदै अमेरिका प्रवेश गर्न खोज्छन्।

सो नदीमा डुब्नु आप्रवासीहरूको ज्यान जाने मुख्य कारणमध्ये एक ठानिन्छ। सन् २०१४ देखि अहिलेसम्म ३,००० जनाभन्दा बढी मानिसको मृत्यु नदीमा डुबेर भएको आईओएमको अनुमान छ।

सवारीसाधनमा लुकेर प्राकृतिक खतराबाट जोगिने प्रयास गर्नेहरूले सान एन्टोनियोमा भएको जस्ता घटनाको सामना गर्नुपर्छ।

"भर्खरै अमेरिकातिर बसाइँ सर्ने मार्गहरूमा धेरैले ज्यान गुमाउने अन्य घटनाहरू पनि भएका छन्," आईओएमका प्रवक्ता सफा मसेहली भन्छिन्।

सन् २०२१ को डिसेम्बर महिनामा मेक्सिकोको शियापासमा ट्रक दुर्घटनामा परेर ५६ आप्रवासीको मृत्यु भयो।

"ल्याटिन अमेरिकाबाट संयुक्त राज्य अमेरिकामा पस्ने मानिसहरूले सामना गर्नुपर्ने खतराप्रति आईओएम चिन्तित छ," मसेहली भन्छिन्।।

एशियाली मार्ग

आईओएमका अनुसार सन् २०२० मा विश्वभरि रहेका १० आप्रवासीमध्ये चार जना एशियामा जन्मिएका हुन्। एशियामै आप्रवासीहरूले प्रयोग गर्ने मुख्य मार्गहरू छन्।

उक्त राष्ट्रसङ्घीय निकायका अनुसार एशियामा विगत आठ वर्षमा झन्डै ५,००० आप्रवासी मरेका वा बेपत्ता भएका छन् ।

ती मृत्युमध्ये अधिकांश समुद्री मार्गहरू प्रयोग गरेर बङ्गालको खाडी र अण्डमान सागर पार गरेर छिमेकी देश वा युरोप पुग्न प्रयास गर्ने रोहिन्ज्या र बाङ्ग्लादेशी आप्रवासीहरू छन्। ।

सीमा पार गर्ने समयमा उनीहरूले सामना गर्ने कठिनाइ चरम हुन सक्छ।

"हामी भोकाएका थियौँ। पिउने पानी पनि थिएन। खाना थिएन, भात पनि थिएन। एक महिनासम्म समुद्रमा यस्तै भयो," ३७ वर्षीय मुहम्मद इलियासले भने।

उनीहरू चढेको डुङ्गा बिग्रिएपछि भारतीय जलसेनाले उद्धार गरेको यी वृद्ध रोहिन्ज्या शरणार्थीले एएफपी समाचार संस्थालाई भनेका छन्।

अन्य मार्गहरूमा जस्तै यस मार्ग प्रयोग गर्ने आप्रवासीहरू पनि मानव बेचबिखन गर्ने गिरोहहरूको हिंसाको सिकार बन्छन्।

इरान र टर्की बीचको सीमा पनि समस्या देखिएको छ।

गत वर्ष अगस्टमा तालिबानले सत्ता ओगटेपछि यस मार्गमा अफगान आप्रवासीहरूको घुइँचो बढेको छ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले २० लाखभन्दा बढी अफगानी नागरिकहरू इरान र वरपरका देशहरूमा शरणार्थीको रूपमा दर्ता भएको जनाएको छ।

यो पनि हेर्नुहोस्