बेलारुस प्रदर्शनः युरोपका ‘अन्तिम तानाशाह’ एलेक्जेन्डर लुकाशेन्का को हुन्?

विगत २६ वर्षदेखि बेलारुसमा शासन गर्दै आएका एलेक्जेन्डर लुकाशेन्कलाई प्रायः युरोपका 'अन्तिम तानाशाह' भनेर चित्रण गरिन्छ।

तर पछिल्लो चुनावी नतिजालाई लिएर अहिले उनले बृहत् प्रदर्शन तथा राजीनामा दिनुपर्ने मागको सामना गरिरहेका छन्।

लुकाशेन्का यो वर्षको अगस्ट ९ तारिखमा भएको निर्वाचनमा समेत गरी हालसम्म पाँच पटक निर्वाचित भइसकेका छन्। उनी सन् १९९४ मा देशका पहिलो निर्वाचित राष्ट्रपति बनेका थिए।

त्यो बेलाको चुनावलाई मात्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले स्वतन्त्र र निष्पक्ष ठान्ने गरेका छन्।

निर्वाचन आयोगका अनुसार पछिल्लो चुनावमा उनले ८० प्रतिशत मत ल्याएका थिए।

अहिले अभूतपूर्व प्रदर्शनहरूमा हजारौँ मानिस सहभागी भइरहेका छन्।

एलेक्जेन्डर लुकाशेन्का को हुन् र सत्तामा उनी लामो समयसम्म कसरी टिकिरहे?

खेतीपातीदेखि सत्तासम्म

सन् १९९० मा संसद्‌मा निर्वाचित भएपछि लुकाशेन्काको सत्तायात्रा सुरु भयो जहाँ उनले भ्रष्टाचारविरोधी समितिको सभापतिका रूपमा उत्साहजनक काम गरे।

उनी सामान्य पृष्ठभूमिबाट आएका व्यक्ति हुन् जसलाई पूर्वी बेलारुसस्थित एउटा गाउँमा एकल महिलाले हुर्काइन्।

सन् १९७५ मा लुकाशेन्सका शिक्षकमा उत्तीर्ण भए र सोभियत कम्युनिस्ट पार्टीमा सामेल भई सेनामा राजनीतिक प्रशिक्षकका रूपमा दुई वर्ष काम गरे।

सन् १९९४ को चुनावमा कुनै मुद्दा नउठाए पनि भ्रष्टाचारविरोधी अभियानका कारण उनलाई एउटा लोकप्रियतावादी उम्मेदवारको रूपमा हेरिएको वाशिङ्गटनस्थित द एट्लान्टिक काउन्सिलस्थित विज्ञ एन्ड्रेस एसलन्ड बताउँछन्।

तर सत्तामा आइसकेपछि लुकाशेन्काले आफ्ना विपक्षी कम्युनिस्टका धेरै नीतिहरू अङ्गीकार गरे।

'अधिनायकवादी शैली'

लुकाशेन्साको सत्तालाई सोभियतकालीन अधिनायकवादी शैलीको अवशेषको रूपमा पनि चित्रित गर्ने गरिन्छ।

उनले सञ्चारमाध्यममाथि नियन्त्रण गरे, विपक्षीमाथि दुर्व्यवहार गर्नुका साथै जेल हाले अनि स्वतन्त्र आवाजलाई पाखा लगाए।

सन् २००३ मा उनले भनेका थिए, "अधिनायकवादी शैलीको शासन गर्नु मेरो विशेषता हो र यो कुरा मैले सधैँ स्वीकारेको छु।"

"तपाईँले देशमाथि नियन्त्रण कायम गर्नुपर्ने हुन्छ र मुख्य कुरा भनेको मानिसहरूको जीवन बर्बाद गर्नु हुँदैन।"

मृत्युदण्डको सजाय दिने गरिएको बेलारुस युरोपको एक मात्र देश र पूर्वसोभियत सङ्घको सदस्य हो। त्यहाँ मृत्युदण्डको प्रक्रिया गोप्य हुन्छ।

टाउकोमा गोली प्रहार गरी मृत्युदण्डको सजाय दिएका सङ्ख्या स्पष्ट छैन तर सन् १९९९ यता ३०० जनालाई त्यसरी मृत्युदण्ड दिइएको ठानिएको छ।

परिवर्तनका लागि पश्चिमा देशहरूले दिने गरेको दबावलाई उनले बेवास्ता गर्दै आएका छन्।

भ्लादिमिर पुटिनजस्तै लुकाशेन्का पनि सोभियत सङ्घमा जस्तै शासन गर्न चाहन्छन्। दुवै आईस हकी खेल्छन्।

तर लुकाशेन्काले युरोपेली सङ्घ र रुससँग सन्तुलित सम्बन्ध राखेका छन्।

"भाइभाइमध्ये कसलाई रोज्ने भन्ने कुरा हुँदैन। अतः हामी रुससँग छौँ अथवा युरोपेली सङ्घसँग भनेर सोध्नै जरुरी छैन," सन् २०१७ मा उनले भनेका थिए।

सन् २०१८ को डिसेम्बरमा मस्को भ्रमणका क्रममा उनले पुटिनलाई चार झोला आलु र सुङ्गरको मासुबाट बन्ने एउटा परिकार कोसेलीको रूपमा दिएका थिए।

लुकाशेन्काका प्रेस सचिवका अनुसार बेलारुसबाट पुटिनले चाहेअनुसार त्यो कोसेली दिइएको थियो।

'पुरुषवादी कुरा'

जर्जिया र छिमेकी युक्रेनमा जस्तै बेलारुसमा पनि क्रान्ति हुने सम्भावनालाई लुकाशेन्काले अस्वीकार गर्दै आएका छन्।

पछिल्लो चुनावी अभियानका क्रममा उनले संविधानले राष्ट्रपतिलाई बलियो अधिकार प्रदान गरेकोले बेलारुसी समाज "महिलालाई भोट दिन तयार नरहेको" बताए।

अहिले उनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भने महिला नै छन्।

कतिपय विश्लेषकहरूका अनुसार पद छाड्नका लागि लुकाशेन्काले अभूतपूर्व दबावको सामना गरिरहेका छन्।

तर कतिपयले उनले त्यसको सामना गरिसकेको र अघिल्ला चुनावहरूअघि दबावहरूबाट उम्किसकेको बताउने गरेका छन्।