तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल मौसमः कहाँकहाँ वर्षा र हिमपात हुन सक्छ, कहिलेदेखि सुधार हुन्छ
अहिले देशका अधिकांश भूभागमा बदली भई कतिपय स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा समेत भइरहेको छ।
बङ्गालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय एवम् पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अहिले नेपालमा देखिएको महाशाखास्थित मौसमविद् मञ्जु बासीले बताइन्।
यो क्रम तीन दिन अर्थात् बुधवारसम्म जारी रहन सक्ने महाशाखाको पूर्वानुमान छ।
कहाँका लागि कस्तो पूर्वानुमान?
सोमवार सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
सोमवार प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने समेत सम्भावना रहेको मौसमविद् बासीले बताइन्।
मङ्गलवार पनि देशभरि सोमवारको जस्तै महाशाखाको पूर्वानुमान छ।
बुधवार भने प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश नं १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको समेत सम्भावना रहेको छ।
"यो प्रवृत्ति बुधवारसम्म रहन्छ र बिहीवारबाट मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ," मौसमविद् बासीले बीबीसी नेपालीसँग भनिन्।
अहिले वर्षा हुनु सामान्य हो?
मौसमविद् मञ्जु बासीका अनुसार यो वर्ष पूर्वानुमानभन्दा केही दिन ढिलो गरी अक्टोबर ८ तारिखमा नेपालबाट मनसुन बाहिरिएको छ।
"अक्टोबर र नोभेम्बरलाई हामी पोस्ट-मनसुन भन्छौँ। यो बेला बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बन्दा त्यहाँबाट जलवाष्पयुक्त हावा नेपालमा छिर्दा वर्षा हुने गर्छ," उनले थपिन्।
सात वर्षअघि अर्थात् सन् २०१४ को अक्टोबर महिनामै अन्नपूर्ण क्षेत्रको थोराङ्ला भन्ज्याङ क्षेत्रमा हिमपातका कारण ४० जनाभन्दा बढी पर्यटक र नेपाली सहयोगीको ज्यान गएको थियो।
मौसमविद्हरूका अनुसार त्यस बेला अन्डमान सागरबाट सुरु भएको हुदहुद आँधीले नेपालका हिमाली क्षेत्रमा हिमपात गराएको थियो।
डढेलधुरा, डोटी र छेउछाउका क्षेत्रमा विगत १२ घण्टामा ठूलो वर्षा भएको तथा थप हुने पूर्वानुमान रहेकोले रङ्गुन नदी तथा सो क्षेत्रका अन्य ससाना नदीमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ।
त्यसैगरी बिदाको मौका पारेर अहिले धेरैले घुमफिर गर्ने भएको हुँदा सुरक्षा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ।
खेतीपातीमा कस्तो असर?
खासगरी पाकिसकेर काट्न तयार भएका धानलाई अहिलेको पानी असर पार्न सक्ने भन्दै किसानहरूले चिन्ता व्यक्त गरिरहेका छन्।
कृषि विभागस्थित वरिष्ठ कृषि अर्थविद् महादेवप्रसाद पौडेल पनि पाकेको धानलाई अहिलेको पानीले केही हदसम्म हानि पुर्याउन सक्ने बताउँछन्।
"हामीकहाँ धान काटिसकेपछि त्यसलाई सुकाउने प्रचलन रहेको हुँदा पानीले भिज्यो भने चामलको गुणस्तरमा असर पर्न सक्छ," उनले बीबीसी नेपालीसँग भने।
"अर्को कुरा अलि लामो समय भयो भने बोटमै अथवा काटेकै ठाउँमा धान उम्रिन सक्छ।"
किसानका लागि महत्त्वपूर्ण वस्तु रहेको पराल पनि वर्षाका कारण बिग्रिन सम्भावना पनि उत्तिकै रहने कृषि अर्थविद् पौडेल औँल्याउँछन्।