तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु सङ्कट: जलवायु परिवर्तनको हेक्का नराखी ठूला आयोजना बनाउनु घातक हुने चेतावनी
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
दुई दशकको मेहनत अनि दशौँ अर्ब रुपैयाँको लगानीमा निर्मित मेलम्ची खानेपानी आयोजना अहिले अस्वाभाविक रूपमा अनिश्चयमा परेको छ।
गत असार १ मा आएको अनपेक्षित तेज भेलबाढीका कारण उक्त आयोजनाका पहुँच मार्ग क्षतिग्रस्त भयो भने सुरुङको मुखमा पानी खसाल्ने संरचना 'हेडवर्क्स' बाक्लो लेदोले पुरियो।
अर्बौँको नोक्सानी भएको हिसाबकिताब भइरहँदा उक्त घटनासँग जोडेर नेपालको समग्र विकास 'मोडेल'मा नै कतिपयले चिन्तापूर्ण प्रश्नहरू उठाइरहेका छन्।
ठूला आयोजनामा ठूला विपद्
केही वर्ष यता नेपालमा खासगरी वर्षाजन्य विपद्हरू झन् झन् डरलाग्दा हुन थालेको विज्ञहरू बताउँछन्।
नेपालमा औसतमा वार्षिक ०.०५६ डिग्री सेल्सियस तापक्रम वृद्धि भइरहेको बताइन्छ। जसका कारण अहिले नै ठूल्ठूला असर पर्न थालिसकेको विज्ञहरूले बताएका छन्। यसले वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद् लगायतका असर परिरहेको उनीहरूको भनाइ छ।
तापक्रम वृद्धिले औसत वर्षात् परिमाण मध्यम कालमा २ देखि ६ अनि दीर्घकालमा ८ देखि १२ प्रतिशतले बढ्ने वन तथा वातावरण मन्त्रालय तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनले देखाएको छ। त्यस्तै करिब ४७ वटा हिमताल विस्फोटको जोखिममा परिसकेको बताइन्छ।
साथै जलवायु परिवर्तनको असरले धेरै विपद्को सम्मिश्रण हुने वा 'कम्पाउन्ड' विपद्हरू अब झन् धेरै हुने वैज्ञानिकहरूले जनाइरहेका छन्। कतै माथि हिमाली क्षेत्रमा हिमताल विस्फोट हुने जसले तलतिर बाढी अनि पहिरो निम्त्याउने, पहिरोले खोला थुन्ने अनि तल्लो तटमा झन् ठूलो बाढी र डुबान ल्याउने जस्ता घटनाबारे उनीहरूले सजग गराइरहेका छन्।
जलवायु परिवर्तनको हेक्का गर्न आह्वान
अर्थात् मेलम्चीमा देखिएको जस्तो प्रभाव नेपालका ठूल्ठूला आयोजनाहरूमा पर्न सक्ने ठानिन्छ किनभने खासगरी जलविद्युतका संरचना यस्तै जोखिमपूर्ण भौगोलिक क्षेत्रमा बनाइएका छन्।
यसले गर्दा अब आयोजना निर्माणको प्रारूपनै बदल्नुपर्ने आवश्यकता पूर्व सचिव माधव बेल्बासेले औँल्याए।
"हामीले अहिलेसम्म गर्दै आएको के हो भने विगत १०० वर्ष वा बढीका जलवायु खासगरी वर्षाका आँकडाका टाइम सिरिज हेरेर यत्तिको सम्म हुनसक्छ भनेर त्यसलाई थेग्ने संरचना बनाइन्थ्यो। तर अब त्यसले नपुग्ने भयो," उनले भने।
"विगतमा जलवायु परिवर्तनका असर थिएनन् जबकि भविष्यमा हुनेछन् भन्ने ढङ्गबाट मोडेलिङ् वा वैज्ञानिक विधिबाट यसो पनि हुनसक्छ भन्ने अध्ययन गरेर डिजाइन गर्नुपर्छ।"
तर त्यसो गर्नु सजिलो काम भने होइन।
सबभन्दा धेरै जोखिम भनेको सानो जलाधार भएका क्षेत्र र हिउँ पग्लिएर बगेका खोलाहरूमा देखिएको उनले बताए।
मेलम्चीकै क्षतिको हकमा पनि हेडवर्क्स भएका क्षेत्रमा धेरै देखिए पनि तल इन्द्रावती वा कोसीसम्म पुग्दा त्यसको कुनै असर नपरेको उनले उदाहरण दिए।
"यस्ता क्षेत्रमा आयोजना बनाउँदा जलवायु परिवर्तनका सम्भावित असरबारे पनि अब सोचविचार गर्नैपर्छ।"
अनिश्चयपूर्ण भविष्य
पछिल्ला वर्षहरूमा पहिरोका कारण नदी र खोलाहरूमा पानी थुनिने र एकाएक फुटेर तल्लो भागमा ठूलो बाढी आउने क्रम बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
झन्डै आठ वर्षअघि पोखराको सेती नदीमा त्यस्तै घटना भएको थियो भने २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा पनि त्यस्तै घटना भयो।
अझ २०७२ सालको भूकम्पपश्चात् त खासगरी सिन्धुपाल्चोकमा धेरै पहिरो जान थालेको कतिपयको अनुभव छ।
सडक विभागका अनुसार केही समययता सोही जिल्लामा पर्ने कोदारी राजमार्गमा निरन्तर पहिरो जानाले चीनसँगको एउटा मुख्य मार्ग नै अहिले अवरुद्ध छ।
बर्खामा बाढी र पहिरो नेपालका निम्ति नौलो होइन। तर जलवायु परिवर्तनका असरले अबका दिनमा बर्खा भनेको पानी परिरहने चार महिना होइन कि अत्यन्त धेरै पानी एकै पटक पर्ने र फेरि सुख्खा लाग्ने समयको रूपमा बदलिन सक्ने विज्ञहरूले चेतावनी दिइरहेका छन्।
जलस्रोतका विज्ञ अजय दीक्षितले आगामी दिनमा ठूला आयोजना बनाउँदा जोखिम आकलनका तरिका पनि बेग्लै आवश्यक पर्ने बताउँछन्।
"यसै पनि हाम्रो हिमालय क्षेत्र अलि कमलो मानिन्छ। यहाँको भूगोल अनि पानी पर्ने पनि विशिष्ट चरित्र छ। जोखिम धेरै भएकाले लगानी विनाश हुनसक्छ। त्यसैले यहाँको जोखिम विश्लेषण गर्दा पुरातन किसिमले मात्र गरेर हुँदैन," उनले भने।
मेलम्चीको घटनाबारे थप अध्ययन गर्न एसियाली विकास ब्याङ्कको सहायता लिन लागेको खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रमेश न्यौपानेले पनि यसमा सही थापे।
उनले भने, "योजना नै नगरीकन कुनै परियोजना सुरु त गरिँदैन। तर अब भने वातावरणीय तथा अन्य पक्षबारे गहन अध्ययन गरेर नै काम अघि बढाउनुपर्ने देखिएको छ।"
यसरी लगालग भइरहेका घटनाहरूलाई सरकारले जलवायु परिवर्तनको असरका कारण भएका गम्भीर मौसमजन्य घटनाकै रूपमा लिइरहेको बन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख राधा वाग्ले बताउँछिन्।
"अध्ययन त भएको छैन तर हामीलाई यी घटना जलवायु परिवर्तनकै असरले गर्दा भएको हो कि भन्ने परिरहेको छ। भविष्यमा अझ धेरै यस्ता घटना हुनसक्छ भन्ने ठानेका छौँ," उनले भनिन्।
जे होस् चाहे विज्ञहरूको तहमा होस् वा सरकारी अधिकारीहरूको तहमा आइन्दा ठूल्ठूला परियोजनाहरू खासगरी संवेदनशील भौगोलिक क्षेत्रमा बनाउँदा जलवायुको विषयलाई पनि गहन रूपमा हेर्नै पर्ने आवश्यकता परिसकेको बोध भने बढ्दो पाइन्छ।