अफगानिस्तान: संयुक्त राष्ट्रसङ्घ भन्छ, 'तालिबानले प्रदर्शनकारीमाथि दमन गर्दा चार जनाको मृत्यु'

अफगानिस्तानमा तालिबानले उसको विरोध गर्दै प्रदर्शनमा भेला भएका मानिसमाथि हिंसात्मक बल प्रयोग गरेर दमन गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको छ।

राष्ट्रसङ्घका अनुसार तालिबानको दमनमा पछिल्ला प्रदर्शनहरूमा चार जनाको मृत्यु भइसकेको छ।

झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शनहरू भइरहेका छन्।

प्रदर्शनकारीमाथि तालिबान लडाकुले लाठी र कोर्रा प्रहार गर्नुका साथै गोली पनि चलाएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ।

"शान्तिपूर्ण भेला हुन पाउने अधिकार प्रयोग गरिरहेका मानिसहरू र आन्दोलनको समाचार सङ्कलन गरिरहेका पत्रकारमाथि बल प्रयोग र स्वेच्छाचारी रूपमा नियन्त्रणमा लिने काम तत्कालै रोक्न तालिबानलाई हाम्रो आग्रह छ," राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तका प्रवक्ताले एउटा वक्तव्यमा भनेकी छन्।

गत अगस्टमा तालिबानले प्रादेशिक केन्द्रहरूमा नियन्त्रण कायम गर्न सुरु गरेको थियो। दुई हप्ताको अवधिमा तालिबान लडाकुहरूले राजधानी काबुललाई पनि कब्जा गरे।

अगस्ट अन्त्यमा आफ्ना सैनिकहरू अफगानिस्तानबाट बाहिरिनुअघि अमेरिकी नेतृत्वको सेनाले एक लाख २० हजार मानिसलाई काबुल विमानस्थलबाट उद्धार गरेको जनाएको छ।

दुई दशकअघि न्यूयोर्कको ट्विन टावरमा भएको ९/११ आक्रमणपछि अमेरिकी गठबन्धन सेनाले तालिबानलाई अफगानिस्तानबाट सत्ताच्युत गर्न कारबाही थालेको थियो। अहिले तालिबान पुनः शासनमा फर्किएको छ।

शान्तिपूर्ण विरोधको हिंसात्मक प्रतिक्रिया

राष्ट्रसङ्घकी प्रवक्ता रविना शामदासानीले शुक्रवार भएको एक पत्रकार सम्मेलनमा तालिबानले बल प्रयोग गरेकोमा आलोचना गरेकी छन्।

उनका अनुसार गत अगस्ट १५ पछि प्रदर्शनहरू बढ्दै गएका थिए तर तालिबानले बुधवारबाट अनधिकृत भेलाहरूमा प्रतिबन्ध लगाएको छ भने बिहीवारबाट मोबाइल इन्टरनेट बन्द गर्न दूरसञ्चार कम्पनीहरूलाई आदेश दिएको छ।

"यो अत्यन्तै अनिश्चयको समयमा" तालिबानले सडकमा भेला भएका महिला र पुरुषहरूको आवाज सुन्न आवश्यक भएको उनको भनाइ छ।

राष्ट्रसङ्घको विज्ञप्तिमा विगत केही साता विरोधप्रदर्शन दमन गर्न भएका हिंसात्मक बल प्रयोगमा एक बालकसहित चार जनाको मृत्यु भएको उल्लेख छ।

राष्ट्रसङ्घले पत्रकारहरूमाथि भएको हिंसाको पनि आलोचना गरेको छ। यसै साता प्रदर्शनको समाचार सङ्कलनमा क्रममा तालिबानले आफूहरूलाई नियन्त्रणमा लिएर पिट्नुका साथै कोर्रा लगाएको पत्रकारहरूले बीबीसीलाई बताएका थिए।

तालिबानको नियन्त्रणपछि अफगानिस्तानबारे सर्वत्र चासो बढिरहेका बेला राष्ट्रसङ्घको यस्तो प्रतिवेदन आएको हो।

के छ अफगानिस्तानको स्थिति

गत शुक्रवार विश्व खाद्य सङ्गठनले अफगानिस्तानमा ९३ प्रतिशत घरधुरीले पर्याप्त खाना नपाएको बताएको थियो।

खडेरीले आपूर्ति व्यवस्था नराम्ररी प्रभावित हुँदा गहुँबालीमा ४० प्रतिशत सम्म नोक्सानी भएको बताइएको छ।

वाल स्ट्रीट जर्नलले सहायता क्षेत्रमा कार्यरत मानिसहरूलाई उद्धृत गर्दै त्यहाँको ठूलो जनसङ्ख्या केही महिनाभित्रै गरिब बन्न सक्ने खतरा औँल्याएको छ।

राष्ट्रसङ्घकै अर्को संस्था यूनेस्कोले दुई दशकयता बालशिक्षा र विशेषगरी बालिकाहरूको लागि शिक्षामा राम्रो प्रगति गरेको अफगानिस्तानको शैक्षिक क्षेत्रमा "पिँढीगत विनाश" हुन सक्ने चिन्ता व्यक्त गरेको छ।

यसै साता नयाँ सरकार घोषणा गरेको तालिबानले शनिवार नयाँ सरकारका पदाधिकारीलाई पदबाहल गर्न लागेको अपुष्ट समाचारहरू आएका छन्।

शनिवार अमेरिकामा ९/११ आक्रमणको २०औँ वार्षिकी आयोजना गरिँदैछ।

ओसामा बिन लादेन नेतृत्वको अल-कायदाको योजनामा भएको उक्त आक्रमणमा झन्डै ३,००० जनाको मृत्यु भएको थियो। बिन लादेन त्यस बेला तालिबानको संरक्षणमा अफगानिस्तानमा बसेका थिए।

कतिपयले तालिबानको उदयले विश्वका अन्य आतङ्कवादी समूहहरूलाई समेत हौसला मिल्न सक्ने टिप्पणी गरिरहेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ मा आफ्नो सेना अफगानिस्तानबाट फिर्ता लैजाने योजना बनाए पनि तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाएसँगै अमेरिकाले त्यसअघि नै सेना फिर्ता गरेको थियो।

अमेरिकी सेना फिर्ता भएपछि बिहीवार काबुलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ। काबुल पुगेको कतार एअरवेजले अमेरिका, क्यानडा र द नेदरल्यान्ड्सका डच नागरिकहरूलाई दोहा लगेको थियो।

शनिवार पनि कतार एअरवेजले फ्रान्सका ४९ नागरिक सहित १५० जनालाई काबुलबाट दोहा पुर्‍याएको बताइएको छ।

हालै भएका उडानमा अमेरिकाले आफ्ना नागरिक र उसले तेस्रो देशमा बसोबासका लागि सहयोग गरेका अफगानहरू पनि भएको जनाएको छ।

अमेरिकी प्रेस सेक्रेटरी जेन साकीले हालै अमेरिका पुगेका चार अफगानमा दादुराको समस्या देखिएपछि अफगान शरणार्थीहरूलाई अमेरिका उडाउन अस्थायी रूपमा बन्द गरिएको बताएकी छन्।

२० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम

  • सन् २००१ अक्टोबर ७: अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल-कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल-कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला
  • सन् २००१ नोभेम्बर १३: गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा
  • सन् २००९ फेब्रुअरी ७: अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो
  • सन् २०१४ डिसेम्बर: नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित
  • सन् २०२० फ्रेबुअरी २९: अमेरिका र तलिबानबीच अफगानिस्तानमा 'शान्ति ल्याउने सम्झौता' मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता
  • सन् २०२१ एप्रिल १३: अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा
  • सन् २०२१ अगस्ट १६: एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल
  • सन् २०२१ अगस्ट १५: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
  • सन् २०२१ अगस्ट ३१: अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा
  • सन् २०२१ सेप्टेम्बर ७: तालिबानद्वारा नयाँ सरकार घोषणा

तालिबानको सत्तामा उदय

पाश्तो भाषामा तालिबानको अर्थ "विद्यार्थीहरू" भन्ने हुन्छ।

अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो।

मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।

तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्ति-सुरक्षा पुनर्स्थापित गर्ने र शरिया कानुन लागु गर्ने वाचा गर्‍यो।

तालिबानले दक्षिण-पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे।

त्यसको ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे।

उनी सोभियत सङ्घको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात्‌ "विधर्मीहरूसँग लड्ने योद्धाहरू" तयार पार्ने संस्थापकमध्ये एक थिए।

सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे।

सोभियत सेना धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे।

भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो।

तर तालिबानले आफूहरूले गर्ने शरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने - उदाहरणका लागि, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने - नियम लागु गरे अथवा त्यसलाई समर्थन गरे।

उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो।

तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिनुपर्ने बताए।

सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुदसहित कम्तीमा तीन जना मारिए।

न्यूयोर्कस्थि विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो।

त्यो हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसाम बिन लादेन र उनको सङ्गठन अल-कायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो।

सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्‍यो।

अनि डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबानहरू परास्त भए।