काबुल ड्रोन आक्रमण: छ बालबालिकाको मृत्यु हुनेगरी भएको अमेरिकी क्षेप्यास्त्र प्रहारले उठाएका प्रश्न

    • Author, रीयालिटी चेक
    • Role, बीबीसी न्यूज

अमेरिकी सेनाले अफगानिस्तान छोड्नु केही दिनअघि काबुल विमानस्थलको ठिक उत्तरपट्टि गरिएको अमेरिकी ड्रोन आक्रमणमा एकै परिवारका कैयौँ मानिसको मृत्यु भएको घटनामा केही प्रश्नहरू अझै अनुत्तरित छन्।

अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट (आईएस) सँग आबद्ध एउटा स्थानीय समूहबाट "विशेष खालको खतरा" भएको गुप्त सूचना प्राप्त भएकाले कारबाही गरिएको थियो।

गत अगस्ट २९ मा भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी सेनाले जनाएको छ।

तर आक्रमणबारे स्थानीयवासीहरूले भनेको कुरा अमेरिकी सैन्य अधिकारीको दाबीसँग बाझेको छ।

ड्रोन आक्रमणबारे के भन्छ अमेरिका?

अमेरिकाले इस्लामिक स्टेटको अफगानी शाखासँग सम्बन्धित तथा "हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलका लागि आसन्न खतरा" भएको गाडीमाथि आक्रमण गरिएको बताएको छ।

आफ्नो निसाना सही भएको जिकिर गर्दै अमेरिकी पक्षले उक्त गाडीमा ड्रोन आक्रमण भइसकेपछि अरू विस्फोटनहरू भएको दाबी गरेको छ।

घटना भएको दिन अर्थात् अगस्ट २९ मा यूएस सेन्ट्रल कमान्डले जारी गरेको वक्तव्यमा “[आक्रमण भए] लगत्तै ठूला र शक्तिशाली विस्फोटनहरू" भएका र तिनले उक्त कारमा "ठूलो परिमाणमा विस्फोटक पदार्थ" भएको उल्लेख छ।

त्यसको भोलिपल्ट एउटा पत्रकार सम्मेलनमा अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले पहिलो प्रहारपछि थप विस्फोटनहरू भएकोमा आफूहरू विश्वस्त रहेको बताएका थिए।

तर उनलाई त्यो कसरी थाहा भयो भन्ने प्रश्नमा जोन किर्बी निरुत्तर बसे।

सोही ब्रीफिङमा जेनरल ह्याङ्क टेलरले अरू विस्फोटनहरू ग्यास सिलिन्डर वा अरू चिजबाट नभएर आक्रमण गर्ने उद्देश्यले राखिएको पदार्थबाट भएकोमा आफूहरू विश्वस्त भएको सञ्चारमाध्यमलाई बताए।

त्यसको तीन दिनअघि काबुल विमानस्थलनजिकै भएको एउटा आत्मघाती आक्रमणमा १०० जनाभन्दा बढी सर्वसाधारण नागरिक र १३ अमेरिकी सैनिकको ज्यान गएको थियो।

आईएसको अफगान शाखाले उक्त घटना आफूले गराएको दाबी गरेको छ।

घटनाबारे स्थानीय बासिन्दा के भन्छन्?

काबुल विमानस्थलनजिकै अवस्थित खाजे बुग्रा भनिने बाक्लो भौतिक संरचनाहरू भएको स्थानमा ड्रोन आक्रमण भएको थियो।

उक्त स्थानमा बस्ने पीडितका आफन्त र छिमेकीहरूले भने अमेरिकी दाबीको खण्डन गरेका छन्।

उनीहरूले पत्रकारहरूलाई अमेरिकी सुराक गलत भएको र त्यहाँ इस्लामिक स्टेटको कुनै उपस्थिति नभएको बताए।

उनीहरूका अनुसार मारिनेमध्ये छ बालबालिका एउटै अहमदी परिवारका सदस्य थिए। घरबाहिर पार्क गर्न लागिएको बेला कारमा आक्रमण भएको थियो।

बीबीसीका पत्रकारहरूले पछि घटनास्थलको निरीक्षण गरे।

तीमध्येका मलिक मुदासिरका अनुसार उनले कुरा गरेका मानिसहरूले कारमा ड्रोन आक्रमण भएपछि अरू विस्फोटन भएको आफूले नसुनेको बताए।

अन्य सञ्चारसंस्थाका पत्रकारले पनि घटनास्थलको भ्रमण गर्नुका साथै पीडित अहमदी परिवारका सदस्यसँग कुराकानी गरेका थिए।

परिवारका सदस्यले बताएअनुसार एउटा क्षेप्यास्त्र आफ्नो कारतिर सोझिएको, त्यसले कारलाई छेडेको र तल जमिनमा पुगेर विस्फोट भएको थियो।

उनीहरूका अनुसार एउटा मात्र विस्फोटन भएको थियो र नजिकै पार्क गरेर राखिएको अर्को कार आंशिक रूपमा जलेको थियो।

घटनास्थलनजिकै आँगनमा क्षति नभएका ग्यासका सिलिन्डर देखाउँदै परिवारका सदस्यले संशय व्यक्त गरेः “यदि कारमा विस्फोटक पदार्थ भएर विस्फोटन भएको भए यी सिलिन्डरहरू किन पड्किएनन् त?”

प्रमाणले के देखाउँछ?

घटनास्थल नजिकैबाट खिचिएको भिडिओमा प्रारम्भिक विस्फोटनपश्चात् धुवाँका धेरैवटा मुस्ला उडेको देखिएको छ।

एम्नेस्टी इन्टरन्याश्नलका एक विज्ञ ब्रायन कास्ट्नरले भिडिओ प्रमाण हेरेर आफू एउटा मात्र विस्फोटन भएकोमा विश्वस्त रहेको बताए।

विस्फोटनपछि कार जलेको र सम्भवतः नजिकै रहेको अर्को गाडीको इन्धन राख्ने ट्याङ्की विस्फोटन भएको हुनसक्ने उनको भनाइ छ।

“मैले अरू विस्फोटन भएको प्रमाण देखेको छैन," उनले भने।

"यदि पछि ठूलो विस्फोटन भएको भए त्यो साँघुरो ठाउँमा अझ धेरै क्षति पुग्नुपर्थ्यो भन्ने मलाई लाग्छ।"

नजिकै अवस्थित घरका भित्ताहरू र गाडीमा पनि एकदम थोरै क्षति पुगेको जस्तो देखिएको उनको भनाइ छ।

भिडिओमा देखिएको कालो धुवाँको मुस्लो गाडीको पेट्रोल जल्दा निस्किएको उनको ठम्याइ छ।

अफगानिस्तानमा इस्लामिक स्टेटले बम बनाउन अमोनीअम नाइट्रेट प्रयोग गर्ने गरेको छ।

यस्ता बम र विस्फोटक पदार्थहरू खेतीपातीमा प्रयोग हुने रासायनिक मलबाट बनाउन सकिने बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर बताउँछन्।

थप शक्तिशाली बम बनाउन "प्लास्टिक एक्स्प्लोसिभ्स" सैन्य स्रोतबाट हात पारेको हुनुपर्ने उनको भनाइ छ।

अमोनीअम नाइट्रेट विशेष परिस्थितिमा जस्तै आगोको ज्वाला वा आगो सल्किने अरू स्रोतनजिक पर्दा वा बढी तापमानमा पुग्दा विस्फोटन हुन्छ।

अर्को विस्फोटन भएको ठाउँनजिकै पर्दा प्लास्टिक एक्स्प्लोसिभ्स पड्किन सक्छ तर आगोको ज्वालाले सजिलै त्यस्तो हुँदैन।

सेप्टेम्बर १ मा अमेरिकी सेनाको जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जेनरल मार्क मिलीले पत्रकाहरूलाई अनुसन्धान भइरहेको बताउँदै ड्रोन आक्रमण भएपछि उक्त कारमा विस्फोटक पदार्थ भएकाले त्यहाँ थप विस्फोटनहरू भएको निस्कर्ष "तर्कसङ्गत"भएको दाबी गरेका थिए।

मृतकमध्ये कम्तीमा एक जना इस्लामिक स्टेटसँग सम्बन्धित मानिस भएको उनको दाबी थियो।

"अरू पनि मारिएका छन्। उनीहरू को हुन्? हामीलाई थाहा छैन। हामीले सबै पत्ता लगाउनेछौँ.... तर यो बिन्दुमा हामीलाई प्रक्रियाहरू यथोचित थिए भन्ने लाग्छ।"

यो पनि हेर्नुहोस्