अफगानिस्तान: काबुलमा ‘सन्दिग्ध बमधारीमाथि अमेरिकी हवाई आक्रमण’

काबुल विमानस्थल नजिकै इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट- के सम्बद्ध एउटा सवारी साधनमाथि एउटा ड्रोन बज्रिएको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी अधिकारीहरूले काबुल विमानस्थलमा आक्रमण गर्ने लक्ष्य राखेको आत्मघाती बमधारी विरुद्ध निशाना लगाइएको जनाएका छन्।

बीबीसीको अमेरिकी पार्टनर मिडिया सीबीएसलाई एकजना सैन्य अधिकारीले भने, "हामीले लक्षित निशानामा नै प्रहार गरेकोमा हामी विश्वस्त छौँ।"

अमेरिकाले आज काबुलमा गरेको ड्रोन आक्रमणले विमानस्थलमाथि रहेको एक खतरा 'समाप्त पारेको' बताएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले काबुल विमानस्थलमा आक्रमण भएर १७० मानिसको ज्यान गएपछि अफगानिस्तानमा आक्रमण जारी गरिरहने बताएका छन्। 

"राष्ट्रपति (जो बाइडन) अफगानिस्तानमा नयाँ युद्ध शुरू गर्न चाहन्नन्," उनले सीबीएस टेलिभजिनलाई भने।

"त्यसो भन्दै गर्दा काबुल विमानस्थलमा हाम्रा सैनिकहरूमाथि आक्रमण गर्नेहरू विरुद्ध जुनसुकै हतियार र सामर्थ्य लगाएर भएपनि नियन्त्रणमा लिनुपर्छ भन्ने राष्ट्रपतिको आदेश छ।। काबुल विमानस्थलको उक्त आक्रमणकारी आईसीस-केलाई कमजोर बनाउनै पर्छ।"

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको विभिन्न विवरणहरू सार्वजनिक भएका थिए।

सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको थियो।

विस्फोटन भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका थिए।

घटनामा मानिसहरू हताहत भए नभएको स्पष्ट भएको छैन।

विमानस्थलमा पुनः हमला हुन सक्ने चेतावनी

केहि समय अघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुनः हमला हुन सक्ने चेतावनी दिएका थिए।

बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतवार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको जनाएका थिए।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई 'खतरा' रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ।

अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ।

ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ।

गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो।

हमलाको जिम्मेदारी इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट- केले लिएको थियो।

काबुल विमानस्थलमा भएको हमलाको जबाफमा अमेरिकाले शुक्रवार अबेर पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो र उक्त आक्रमणमा आईएसकेका दुई जना सदस्य मारिएको बताएको थियो।

मारिएकाहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार बताइएको छ।