केपी शर्मा ओली: प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, खगराज अधिकारी गृहमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्‌मा सात मन्त्री र एक राज्यमन्त्री थपेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधान अनुसार बिहीवार मन्त्रिरिषद् विस्तार भएको हो।

गत साता ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा संलग्न गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

विस्तारित मन्त्रिपरिषद्‌मा निकै चासोपूर्वक हेरिएको गृह मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता खगराज अधिकारीले पाएका छन्।

यसअघि ओली नेतृत्वमा रहेको एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेता रामबहादुर थापा गृहमन्त्री थिए।

गैरसांसदलाई मन्त्री नियुक्त गर्नु संविधानविपरीत भएको सर्वोच्चको आदेशपछि जेठ पहिलो साता थापा गृहमन्त्रीबाट मुक्त हुन पुगेका थिए।

अरू को-को बने मन्त्री?

बिहीवार मन्त्रिपरिषद् विस्तार गर्दा थापाकी पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै पूर्वमाओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, पहिले एमालेको माधव नेपाल समूहमा रहेका र पछिल्ला दिनमा मौन देखिएका गणेश पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासन, एमालेकै मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनेगरी, नारदमुनि राना वन तथा वातावरण र जनता समाजवादी पार्टीका राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन्।

एमालेकै आशा विकले वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

गत साता पुनर्गठित मन्त्रिपरिषद्‌मा ओलीले यी मन्त्रालयहरू आफैँसँग राखेका थिए।

जसपाको महन्त ठाकुर-राजेन्द्र महतो समूहले सरकारमा सामेल भएपछि ओलीले गत साता तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्‌मा हेरफेर गरेका थिए।