तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल राजनीतिः पुनर्गठित मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री, जसपाका ८ मन्त्री
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद्मा हेरफेर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। पुनर्गठित मन्त्रिपरिषद्का मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, बाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; गृह; रक्षा; वन तथा वातावरण; सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयहरू आफैसँग राखेका छन्।
आठ मन्त्रालय सहित जनता समाजवादी पार्टी (जसपा) नेपालको एक समूह सरकारमा सहभागी भएको छ।
नेकपा एमाले र जसपा, नेपाल सहभागी सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन्।
एमाले नेता विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, रघुबीर महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्री र जसपाका नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकासमन्त्री नियुक्त भएका छन्।
यसअघिको सरकारमा एमाले महासचिव ईश्वर पोखरेल एक जना मात्रै उपप्रधानमन्त्री थिए।
अर्थमन्त्री पौडेलका साथै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलाई दोहोरिएका छन्।
कोरोनाभाइरस महामारीकाबीच निकै चासोका साथ हेरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व एमाले नेता शेरबहादुर तामाङले पाएका छन्।
जसपाबाट को को मन्त्री भए?
जसपा, नेपालबाट नेता शरतसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिँचाई, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उमाशङ्कर अरगरियाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका छन्।
चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्रीको जिम्म्वारी प्राप्त गरेका छन् भने रेणुका गुरुङ महिला राज्यमन्त्री बनेकी छन्।
असन्तुष्टि
ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा केहीले असन्तुष्टि पनि व्यक्त गरेका बुझिएको छ।
निवर्तमान स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बीबीसीसँग कुरा गर्दै भने, "एउटा नैतिक प्रश्न के आयो भने- क्याबिनेट सिस्टम भनेको त्यसका केही मूलभूत सिद्धान्त हुन्छन्। त्यो सिद्धान्तमा सिनियारिटी/जुनियारिटी पनि पर्छ। त्यसले गर्दा मलाई नैतिक सङ्कट आएकै हो। त्यसैले म चाहिँ नबसेको हो।"
जन्मसिद्ध नागरिकका सन्तान करिब ७ लाख बालबालिकाले नागरिकता पाउने, करिब डेढ सय कार्यकर्ताहरूमाथि लागेका मुद्दा खारेज हुने र संविधान संशोधनका निम्ति उच्चस्तरिय समिति बन्ने जस्ता आफ्ना केही मागहरू ओली सरकारले "पुरा गरिसकेको र अन्य केही पुरा हुने क्रममा रहेका" कारण सरकारमा जाने वातावरण बनेको एक जना अध्यक्ष महन्थ ठाकुर पक्षधर नेताहरूले बताउँदै आएका थिए।
अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरू भने ओली सरकार ढाल्न विभिन्न दलहरूसँगै प्रयासरत छन्।
ओलीको समर्थनमा रहने वा नरहने विषयमा विभाजित देखिएको जसपा, नेपालमा दुवै पक्षले एक अर्कालाई निष्कासन गरेको थियो।
यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिदिएको बताएको छ भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरिदिएको जनाएका छन्।
दलभित्रको यो विवाद हाल निर्वाचन आयोगमा पुगेको छ।