कोभिड नेपालः थप ९३ सय जनामा कोरोना भाइरस र १६८ जनाको मृत्यु, एक लाखभन्दा बढी सक्रिय सङ्क्रमित

नेपालमा थप ९,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १६८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी रहेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरि गत सोमवारयता ५८,५८१ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २७,६८२ वटामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सो अवधिमा १३,६७६ जना सङ्क्रमणमुक्त भएको डा. गौतमले बताए। चौबीस घण्टाको अवधिमा ४,४४४ जना कोभिड-१९ मुक्त भएको सरकारी तथ्याङ्क छ।

एक लाखभन्दा बढीमा सक्रिय सङ्क्रमण

बुधवारको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको मन्त्रालयले जनाएको छ।

अहिले काठमाण्डू उपत्यकामा ४१,९०० भन्दा धेरै पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

उपत्यकामा अहिलेसम्म झन्डै दुई लाख जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक लाख ५६ हजार जनाभन्दा बढीलाई निको भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

हालसम्मको नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट निको हुने दर ७४.९ प्रतिशत भएको डा. गौतमले बताए।

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा ३,९२४ सङ्क्रमित फेला परेका हुन्।

तीमध्ये काठमाण्डू जिल्लामा सर्वाधिक ३,२५० जनामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार रूपन्देहीमा ७७१, ललितपुरमा ४४८, मोरङमा ३६०, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५, भक्तपुरमा २२६, चितवनमा २०४ र झापामा २०० जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

कहाँ छन् सङ्क्रमित?

बुधवार अपराह्णसम्मको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितमध्ये ७,२९१ जना संस्थागत आइसोलेशनमा र बाँकी ९४,३४३ जना घरमै बसिरहेको डा. गौतमले बताए।

तीमध्ये जटिल समस्या भएका बिरामी अस्पतालमा उपचाररत छन्। डा. गौतमका अनुसार २८५ जना भेन्टिलेटरमा भएकासहित १,२४१ जना आईसीयूमा छन्।

अहिले सबै ७७ जिल्लामा सक्रिय सङ्क्रमित छन्। तीमध्ये १८ जिल्लामा १,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी छ।

  • काठमाण्डूः ३०,५८८
  • भक्तपुरः ४,६१४
  • ललितपुरः ६७१४

जिल्लागत रूपमा हेर्दा काठमाण्डूपछि रूपन्देहीमा सर्वाधिक ८,१७३ जना र बाँकेमा ५,२५४ जनामा सक्रिय सङ्क्रमण छ।

अहिलेसम्म काठमाण्डूमा ९६०, भक्तपुरमा १९३ र ललितपुरमा २६० गरी काठमाण्डू उपत्यकामा १,४१३ जनाको मृत्यु भइसकेको छ।

यो साता आइतवारदेखि प्रकाशित दैनिक विवरणमा विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या समाविष्ट छ।

मन्त्रालयका अनुसार नेपाली सेनाले शव व्यवस्थापन गरेका मृतक समेत त्यसमा समाविष्ट छन्।

गत वर्ष नेपालमा महामारी सुरु भएयता कोभिड-१९ सँग सम्बन्धित कारणले ४,२५२ जनाको मृत्यु भएको तथ्याङ्क सरकारले दिएको छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।