विश्वकै सबैभन्दा जेठी जङ्गली चरीले ७० वर्षको उमेरमा बचेरो पाइन्

विज्डम

तस्बिर स्रोत, Jon Brack/Friends of Midway Atoll NWR

विश्वकै सबैभन्दा जेठी जङ्गली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन्।

लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो।

सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन्।

तर विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलो पटक पहिचान गरेका थिए।

समागम

वाइल्डलाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट बचेरो पाएकी हुन्।

सन् २०१२ देखि तिनी एकीआकामाईसँग बस्दै आएकी छन्।

सामान्यतया एल्बाट्रसहरू एक पटक मात्रै जीवनसाथी बनाउँछन्।

तर लामो समयसम्म बाँचिरहेकी विज्डमका पहिलाका जीवनसाथीहरू मरिसकेका ठानिएको छ।

फुल

तस्बिर स्रोत, Jon Brack/Friends of Midway Atoll NWR

विज्डमले फेब्रुअरीमै बचेरो कोरले पनि त्यसबारे यो साता मात्र थाहा भएको हो।

"विज्डमले नोभेम्बर महिनाको अन्तिमतिर अन्डा पारेको हुनुपर्छ,"अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले नयाँ बचेरोबारे जानकारी गराएको विज्ञप्तिमा भनेको छ।

"त्यसलगत्तै जब उनी आहाराका लागि समुद्रतिर फर्किइन्। तिनको जीवनसाथीले अण्डा स्याहार्ने जिम्मेवारी सम्हाल्यो। एल्बाट्रसको जोडीले अन्डा स्याहार्ने र बचेरो कोरलिएपछि आहारा खुवाउने जिम्मेवारी मिलीजुली सम्हाल्छन्।"

बचेरो

तस्बिर स्रोत, Jon Brack/Friends of Midway Atoll NWR

विज्डमले आफ्नो जीवनकालमा ३० देखि ३६ वटा बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसको विश्वास छ।

अमेरिकामा मिडवे एटल वाइल्डलाइफ रिफ्युज सबैभन्दा धेरै एल्बाट्रसहरूको बासस्थान हो।