अमेरिकामा भेटिएको अनौठो चरा 'आधा भाले, आधा पोथी'

नर्दन कार्डिनल चरा

तस्बिर स्रोत, Jamie Hill

अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्।

उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए।

द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्।

भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन्।

यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ।

नर्दन कार्डिनल चरा

तस्बिर स्रोत, Jamie Hill

अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले बीबीसीलाई भने, "यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।"

हिलका साथीले उनलाई उनले एउटा "अस्वाभाविक" चरा देखेको बताएकी थिइन्।

सुरुमा हिलले उक्त चरा 'लूसिस्टिक' होला भन्ठानेका थिए।

चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई 'लूसिसिजम्' अर्थात् 'पाण्डु' भनिन्छ।

उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन।

तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई 'बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम' भएको हुन सक्ने आशङ्का गरेका थिए।

नर्दन कार्डिनल चरा

तस्बिर स्रोत, Jamie Hill

बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्।

उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए।

"घर पुगेर मसँग वास्तवमै केका तस्बिरहरू थिए भनेर नहेरुन्जेल फोटो खिचेको पाँच घण्टासम्म मेरो मुटु ढुकढुक गरिरह्यो," उनले भने।

"मैले करिब दुई दशकदेखि लोपोन्मुख हात्तीदन्ते काठफोरा (एकखाले लाहाँचे चरा) खोजिरहेको थिएँ। तर हाम्रो घरपछाडि पाइने एउटा सामान्य चराको दुर्लभ अवस्थाको तस्बिर लिइरहँदा म काठफोरा भेटे बराबर नै उत्साहित छु।"

जेमी हिलले ४८ वर्षदेखि चराहरूको अवलोकन गर्दै आएका छन्

तस्बिर स्रोत, Jamie Hill

तस्बिरको क्याप्शन, जेमी हिलले ४८ वर्षदेखि चराहरूको अवलोकन गर्दै आएका छन्

आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन्।

उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरूमा 'बाइल्याटरल गाइन्यानन्ड्रोमर्फिजम'को सर्वेक्षण गरेका छन्।

शुक्रकीटले डिम्बलाई निषेचन गरेपछि भ्रूण बन्न कोषहरू विभाजन हुने क्रममा त्रुटि हुँदा यस्तो अवस्था आउने उनी बताउँछन्।

नर्दन कार्डिनल चरा

तस्बिर स्रोत, Jamie Hill

तर उक्त क्षेत्रमा सम्भावित यस्तो किसिमको चरा देखिएको पहिलो पटक होइन।

न्याश्नल जियोग्राफिकका अनुसार सन् २०१९ मा एक दम्पतीले नजिकैबाट त्यसै क्षेत्रमा यस्तै चरा देखेका थिए।

हिल अहिले देखिएको चरा पनि त्यही हुन सक्ने अनुमान गर्छन्।

प्राध्यापक पीरका अनुसार नोर्दन कार्डिनल उत्तरी अमेरिकामा जताजतै पाइने चरा हो।

यसको भाले र पोथीलाई सहजै चिन्न सकिने भएकाले उभयलिङ्गी चरा चिन्न पनि सजिलै सकिने उनको भनाइ छ।

line
भिडिओ क्याप्शन सुरु हुँदैछ, विमानस्थलका चरा सिकारी