कोरोना भाइरस: कोभिड-१९ परीक्षणको ‘नक्कली’ प्रमाणपत्र किनेर हवाईयात्रा

विमानस्थलमा स्वास्थ्य कर्मचारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्वका धेरै देशमा हवाईयात्रा गर्न मानिसहरूले कोभिड परीक्षणको नक्कली प्रमाणपत्र किन्ने गरेको पाइएको छ

विदेश जान व्यग्र मानिसहरूले आफ्नो हवाईयात्रा सुनिश्चित गर्न कोभिड परीक्षणको नक्कली प्रमाणपत्र देखाइरहेको बीबीसीको एउटा अनुसन्धानले पत्ता लगाएको छ।

अफगानिस्तानमा यो बेथिति बढ्दै गएको पाइएको छ तथा धनाढ्य र सरकारी अधिकारीहरूले झुट्टा प्रमाणपत्रका लागि पैसा तिर्ने गरेको दाबी गरिएको छ।

तर यो समस्या अफगानिस्तानमा मात्र सीमित नभई संसारभरि देखा परेको छ।

“सुरुमा यो एकदमै गम्भीर थियो। प्रत्येक उडानमा १० देखि २० जनाले कोभिड जाँचको नक्कली प्रमाणपत्र बोकिरहेका हुन्थे। पछि अवस्था अझै बिग्रियो जब कोभिड भएका झन्डै ५० जना आफ्नो गन्तव्यमा पुगे,” अफगानिस्तानको नागरिक उड्डयन प्राधिकरणका निर्देशक काशिम वाफायिजादा भन्छन्।

उनका अनुसार अक्टोबर महिनाको अन्त्यतिर यो समस्या देखा पर्न थालेको थियो।

कसरी सुरु भयो नक्कली प्रमाणपत्र किन्ने लहर?

संयुक्त अरब एमिरेट्स (यूएई)ले आगन्तुकहरूलाई विमानस्थलमा ओर्लिनेबित्तिक्कै पीसीआर परीक्षणको नतिजा देखाउनुपर्ने व्यवस्था गरेको छ। उसले ५३ देशका नागरिकहरूलाई आइसकेपछि दोस्रो पटक परीक्षण गर्नैपर्ने नियम बनाएको छ।

ती देशमध्ये अफगानिस्तान पनि पर्छ।

उक्त नियम बनेलगत्तै यूएईमा नक्कली प्रतिवेदन ल्याउने यात्रुको लहर नै देखापर्‍यो।

कतिपयलाई जानीजानी त्यस्ता नक्कली प्रमाणपत्र ल्याएको आरोप लागेको छ भने अरूले आफूले थाहा नपाई त्यसो गरिएको बताएका छन्।

काबुल विमानस्थल

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, काबुल विमानस्थलबाट दैनिक १२ वटा अन्तर्राष्ट्रिय उडानहरू हुन्छन्

काबुलका एक व्यापारी यासिनले दुबई जान राजधानीमा रहेको आफूलाई विश्वसनीय लागेको क्लिनिकमा महँगो शुल्क तिरेर कोभिडको परीक्षण गराए।

उनले भने, “परीक्षण नतिजामा सङ्क्रमण नदेखिएपछि म एकदमै खुसी भएको थिएँ र म आत्मविश्वासका साथ विमानस्थल पुगेको थिएँ। उनीहरूले विमानस्थलमा परीक्षणको नतिजा स्वीकार गरे। तर दुबईमा अर्को जाँच गराउँदा कोभिड देखियो।”

सुरक्षाका लागि वास्तविक नाम नखुलाइएका यासिनलाई क्वारन्टीनमा राख्नुपर्‍यो र उनको व्यावसायिक यात्रा नै नक्कली कोभिड प्रमाणपत्रका कारण बिथोलिन पुग्यो। उनले उक्त क्लिनिकले वास्तविक परीक्षण नगरेको आफूलाई थाहा नभएको दाबी गरे।

उक्त विषय यति गम्भीर बन्यो कि नोभेम्बरमा काबुलबाट हुने उडानहरू स्थगित भए। त्यहाँको विमानस्थलबाट दैनिक १२ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन्।

डा. कासिम वाफायिजादाले नक्कली जाँच गर्ने शङ्का गरिएका राजधानीका पाँचवटा क्लिनिकको नाम बताए। तर तीमध्ये सबैले आरोपहरू अस्वीकार गरेका छन्।

तर सरकारी अधिकारीहरूले क्लिनिक र यात्रुहरूले परीक्षणका लागि भिड हुने भएकाले जानीजानी घुस तिरेर नक्कली प्रमाणपत्र लिइरहेको आरोप लगाएका छन्।

कसले किन्छन् नक्कली प्रमाणपत्र?

अफगानिस्तानका प्रथम उपराष्ट्रपति अम्रूल्लाह सालेहले आफ्नो फेसबुक पेजमा काबुलका निजी प्रयोगशालाहरू कैयौँ नक्कली जाँचहरू गरेको उल्लेख गर्दै त्यसले अफगानिस्तानको स्वास्थ्य मापदण्डलाई क्षति पुर्‍याएको टिप्पणी गरेका छन्।

“यो ठगीबाट अफगानिस्तानको अर्थतन्त्रलाई गम्भीर आघात पुगेको दिएको छ। दुर्भाग्यवश त्यसरी प्रयोगशालाबाट नक्कली जाँच प्रमाणपत्र लिने दुई जना यो देशका चर्चित तथा लखपति व्यक्ति हुन्।”

काबुलबाट दुबई जान लागेको विमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गत जुलाईमा लकडाउन भएपछि अफतानिस्तानबाट प्रत्येक महिना सरदर ८,००० मानिस विमान चढेर विदेश गएको सरकारी तथ्याङ्कले देखाउँछ

सरकारले कैयौँ निजी परीक्षण केन्द्रका अनुमतिपत्र रद्द गरेको छ र तिनलाई कोभिड-१९ जाँच प्रमाणित गर्न रोक लगाइएको छ। त्यसबारेको आधिकारिक तथ्याङ्का उपलब्ध गराइएको छैन तर अधिकारीहरूले प्रमाणपत्र मान्य हुने २५ वटा प्रयोगशालाको नाम वितरण गरेका छन्।

तर यसले समस्या समाधान गरेको छैन। ठगी भएको देख्ने एक प्राविधिकका अनुसार आफू उपस्थित नै नभईकन अफगानिस्तानका अधिकारीहरू र सांसदहरूले कोभिड परीक्षण गराएका छन्। उनीहरूले आफ्नो राहदानी नम्बर मात्रै पठाउने गरेका छन् र त्यसलाई उल्लेख गर्दै प्रयोगशालामा प्रमाणपत्र बन्छ।

“प्रयोगशालाहरूले मुख्यतया पैसाकै लागि यस्तो गरिरहेका छन्,” उनले भने।

नाम उल्लेख गर्न नचहाने ती प्राविधिकले कतिपय प्रमुख क्लिनिकका शाखाहरूले स्वाब सङ्कलन गर्ने साधनको टुप्पोलाई पानीमा डुबाउने र त्यसलाई भाँडामा राखेर मूल क्लिनिकमा जाँचका लागि पठाउने गरेको बताए। त्यसपछि परीक्षणको नतिजामा कोरोनाभाइरस नदेखिने उनको भनाइ छ।

नक्कली प्रमाणपत्रको मूल्यमा कति?

बीबीसीले प्रयोगशाला, औषधि पसल र फोटोकपी पसलबाट नक्कली पीसीआर रिपोर्ट प्राप्त गरेका कैयौँ व्यक्तिहरूसँग पनि कुरा गरेको थियो। त्यसमा औसतमा उनीहरूले तीन डलरभन्दा कम मूल्य तिरेको पाइएको थियो। निजी स्तरमा कोरोनाभाइरसको जाँच गराउँदाको औसत मूल्य ६५ डलरजति पर्छ।

बीबीसीले ज्यानुअरी २३ मा एक अफगान सरकारी अधिकारीसँग कुरा गर्दा उनले २०० डलरमा कोभिड-१९ नदेखिने प्रतिवेदन उपलब्ध गराउने बताएका थिए।

कसरी भनेर सोध्दा उनले भनेका थिए, “त्यसको जिम्मा मलाई छोडिदिनुहोस्।”

कोभिड परीक्षणको नक्कली प्रमाणपत्र बनाउने प्रयोगशाला

तस्बिर स्रोत, Handout

तस्बिरको क्याप्शन, एक अफगान नागरिकका अनुसार जलालाबादस्थित यो प्रयोगशालामा परीक्षण गराउन उनले २०० स्थानीय मुद्रा तिरेका थिए
1px transparent line

नक्कली प्रमाणपत्रको समस्या कहाँकहाँ छ?

यो समस्या अफगानिस्तानको मात्रै होइन।

हवाईयात्रासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टरन्याश्नल एअर ट्रान्सपोर्टेशन असोसीएशन (आईएटीए) ले कोभिड परीक्षणको नक्कली प्रतिवेदन ब्रजिल, बाङ्ग्लादेश र फ्रान्ससहित विश्वका अन्य देशमा पनि देखिएको उल्लेख गरेको छ।

संयुक्त अधिराज्यमा समाचारपत्रहरूले एक व्यक्तिले विदेश जानका लागि कोभिड परीक्षण प्रमाणपत्रमा आफ्नो नाम फोटोशप गरेर राखेको विवरण छापेका थिए।

कोभिड परीक्षणको विश्वसनीयतालाई आधार बनाउँदै डेनमार्कले दुबईबाट आउने उडानहरू ज्यानुअरी २२ बाट पाँच दिन रोकेको थियो।

हालै फ्रान्सका अधिकारीहरूले डिजिटल साधनमा २०० वटा नक्कली परीक्षणका विवरण बोकेका सात जनालाई विमानस्थलबाटै गिरफ्तार गरेका थिए।

दुबई विमानस्थल

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, यूएईमा आगन्तुकहरूले कोभिड परीक्षणको प्रमाणपत्र देखाउनैपर्ने नियम छ

इरानको सरकारले केही परीक्षण केन्द्रलाई नक्कली प्रमाणपत्र दिएको आरोपमा बन्द गराएको छ।

पाकिस्तानमा बीबीसी संवाददाताहरूले थाहा पाएअनुसार केही यात्रुहरूले नक्कली प्रमाणपत्र प्रस्तुत गरेपछि केही वायुसेवाहरूले निश्चित प्रयोगशाला तोकेर सीधै वायुसेवालाई जाँचको नतिजा पठाउन भनेका छन्।

आईएटीएले कागजमा आधारित जाँच प्रमाणपत्र सजिलै तोडमोड गर्न सकिने भन्दै विश्व स्वास्थ्य सङ्गठनसँग यससँग जुझ्ने उपायका बारेमा काम गरिरहेको जनाएको छ।

डब्ल्यूएचओले ब्लक चेन विधिबाट डिजिटल खोप प्रमाणपत्र लागु गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ।

विमानस्थलमा स्वास्थ्य कर्मचारी

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, एक व्यक्तिका अनुसार काबुल विमानस्थलमा उनले देखाएको प्रमाणपत्र स्वीकार गरियो तर दुबईमा परीक्षण गर्दा उनमा कोरोनाभाइरस देखियो