कोरोना भाइरसः कोभिड-१९ खोपबारे हामीलाई अझै थाहा नभएका चार कुरा

खोप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोरोनाभाइरसको खोपबारे धेरै प्रश्नहरू अनुत्तरित छन्

विश्वभरि कोरोनाभाइरसविरुद्ध खोप दिएर मानिसहरूलाई सुरक्षित बनाई यथाशीघ्र अवस्था समान्य बनाउन प्रयासहरू भइरहेका छन्।

ज्यानुअरी २३ सम्म छ करोड भन्दा बढी मानिसले खोपको केही मात्रा लिइसकेका छन्।

तर अन्य देशहरूले आफ्नो अभियानलाई तीव्र बनाउने प्रयास गर्दा पहिला थाहा नभएका कैयौँ विषयबारे कुराहरू आइरहेका छन्।

अहिलेसम्म पनि खोपबाट प्राप्त हुने प्रतिरोध क्षमता कति समय रहन्छ वा विश्वभरि देखा परेको नयाँ खालको भाइरसविरुद्ध खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने प्रश्नहरू उठेका छन्।

वैश्विक इतिहासकै सबैभन्दा ठूलो खोप अभियान आरम्भ भएको झन्डै दुई महिना पुग्न लाग्दा यहाँ अझै कायम चार प्रश्नको चर्चा गर्दैछौँ।

१. खोपबाट कति समय प्रतिरोधी क्षमता प्राप्त हुन्छ?

कोरोनाभाइरस सङ्क्रमण भएपछि वा खोप लगाएपछि हामीमा कस्तो प्रतिरोध क्षमता विकास हुन्छ भन्ने प्रश्न हालैका महिनाहरूमा हामीले सुन्दै आएका छौँ।

महामारी सुरु भएको एक वर्षपछि मध्यम-दीर्घकालमा हुने प्रतिरोध क्षमताबारे पहिलो अध्ययन प्रकाशित भएको छ।

पोलन्ड खोप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खोपले कोभिड-१९ विरुद्ध कति लामो समयसम्म प्रतिरक्षा गर्छ भन्ने स्पष्ट छैन

खोप विकास गर्न लागेको समयका कारण पनि लामो समयावधिको अध्ययन हुन सकेको छैन।

तर क्यालिफोर्नियास्थित ल होया इन्स्टिट्यूट अफ इम्यूनोलजीका अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट निको भएको कम्तीमा छ महिनासम्म पनि कैयौँ प्रतिरोधात्मक प्रतिक्रियाहरू देखा परेको पाइएको छ।

पब्लिक हेल्थ अफ इङ्ग्ल्यान्डले कोभिड-१९ भएका व्यक्तिहरू कम्तीमा पाँच महिनासम्म सुरक्षित रहने बताएको थियो।

कतिपय वैज्ञानिकहरू विकसित प्रतिरोध क्षमता अझ धेरै समय वा वर्षसम्म कायम रहन सक्ने ठान्छन्। तर सबै बिरामीको हकमा अवस्था एउटै नहुन सक्छ।

प्रत्येक मानिसले थोरै वा धेरै सुरक्षा प्राप्त गर्न सक्छन् जसको आधारमा पुन: सङ्क्रमणको सम्भावना निर्भर रहन्छ।

यूनिभर्सिटी अफ लेस्टरका भाइरसविज्ञ डा. जुलियन टाङ भन्छन्, “हामीले भर्खरै खोप दिन थालेकाले कति समय प्रतिरोध क्षमता कायम रहन्छ भन्न सकिँदैन। यो बिरामी र खोपको प्रकारअनुसार फरक पर्न सक्छ तर सम्भवतः छदेखि १२ महिनासम्म रहन्छ।”

तर संयुक्त राज्य अमेरिकाको मायो क्लिनिकका मलेक्यूलर मेडिसिनका प्राध्यापक एन्ड्रू ब्याड्ली आशावादी छन्।

“मलाई खोपको प्रभाव र प्रतिरोध क्षमता कैयौँ वर्षसम्म देखा पर्छ भन्ने लाग्छ। नयाँ प्रकारको सङ्क्रमणका घटना देखा परेका व्यक्तिबारे विस्तृत विश्लेषण गर्नुपर्छ र बिरामीहरूले खोपपछि कस्तो प्रतिक्रिया जनाउँछन् त्यो हेर्नुपर्छ।”

यूकेमा खोप लिँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खोपको प्रकार र व्यक्तिअनुसार प्रतिरोध क्षमता फरक पर्न सक्छ

२. के खोप लगाएपछि कोरोनाभाइरस सङ्क्रमण हुनसक्छ?

हुन सक्छ र त्यसका कैयौँ कारण छन्।

पहिलो खोपहरूले दिने सुरक्षा उनीहरूको प्रकार हेरीकन पहिलो वा एकमात्र खोपको मात्रा लिएको दुई वा तीन हप्ताअघिबाट सुरु हुँदैन।

“यदि खोप लगाएको एक दिन वा एक हप्तामा तपाईँ भाइरसको संसर्गमा पुग्नुभयो भने तपाईँलाई सङ्क्रमणको जोखिम रहन्छ र तपाईँले अरू मानिसहरूलाई पनि भाइरस सार्न सक्नुहुन्छ,” टाङले बीबीसीसँग भने।

तर आवश्यक खोपको मात्रा लिएको कैयौँ हप्तापछि पनि सङ्क्रमण देखा पर्न सक्छ।

डा. ब्याड्ली भन्छन्, “उपलब्ध तथ्याङ्कले व्यक्तिहरूलाई कोभिड हुन सक्ने देखिन्छ तर उनीहरूमा कम प्रभाव देखा पर्छ र कम बिरामी पर्छन्।”

उनी खोप लगाएका व्यक्तिबाट अरूलाई भाइरस सर्ने सम्भावना पनि कम हुने विश्वास गर्छन्।

खोपले प्रभावकारी रूपमा उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सुरक्षा दिनेमा केही सहमति छ तर कुन हदसम्म तिनले सङक्रमण र विस्तार नियन्त्रण गर्छन् भन्ने थाहा हुनसकेको छैन।

दक्षिण अफ्रिकाको अस्पतालको शवगृह

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकामा भेटिएको कोरोनाभाइरसको प्रकार धेरै चोटि उत्परिवर्तित भइसकेको हुनाले त्यसबाट सङ्क्रमण हुँदा खोपले काम नगर्न सक्छ

३. के खोपले नयाँ परिवर्तनशील कोरोनाभाइरसबाट जोगाउँछ?

यो चिन्ताको विषय हो।

भाइरसहरूमा निरन्तर उत्परिवर्तन भइरहन्छ। कुनै बेला खोपले भाइरसविरुद्ध काम नगर्न सक्छ। त्यसो यो भने खोप नै फेर्नुपर्छ।

ब्रिटेन र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाभाइरसका नयाँ भेरीअन्ट अर्थात् प्रकारहरू अन्य देशमा पनि फैलिसकेका छन्।

त्यस्ता प्रकारका कोरोनाभाइरस बढी सङ्क्रामक भएको मानिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?

गत साता मोडेर्नाले आफ्नो खोप संयुक्त अधिराज्य र दक्षिण अफ्रिकामा देखिएका नयाँ प्रकारका कोरोनाभाइरसविरुद्ध पनि प्रभावकारी रहेको घोषणा गरेको छ। पछिल्लो प्रकारका लागि उसले सुरक्षा बढी दिने नयाँ प्रकारको थप खोप उत्पादन गर्ने पनि भनेको छ।

फाइजर/बायोएन्टेकले पनि उनीहरूको खोप नयाँ प्रकारको कोरोनाभाइरसमा काम गर्ने दाबी गरेका छन्।

डा. ब्याड्ली भन्छन्, “अहिले स्वीकृति पाएका खोपहरू एकदमै प्रभावकारी छन्, तर ती सुरुसुरमा देखा परेको वा नयाँ प्रकारको भाइरसविरुद्ध शत प्रतिशत प्रभावकारी छैनन्।”

डा. टाङला भनाइमा खोपको सुरक्षा नयाँ प्रकारको भाइरस कसरी पुरानोभन्दा फरक छ भन्नेमा निर्भर रहन्छ।

सङ्क्षेपमा भन्नुपर्दा सरकार र स्वास्थ्य विभागहरूले नयाँ प्रकारका भाइरसको अनुगमन र पहिचान गरी तीविरुद्ध कुन विधि उपयुक्त हुन्छ भन्ने निर्णय गर्नुपर्छ।

लन्डन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डा. एन्ड्रू ब्याड्लीका अनुसार केही मानिसमा कोरोनाभाइरसको सङ्क्रमण हुन नसक्ने तथ्याङ्कले सङ्केत गरेको बताउँछन्

४. कति मात्रा खोप र कहिलेसम्म दिनुपर्छ?

फाइजर, मोडेर्ना र यूनिभर्सिटी अफ अक्सफर्ड/एस्ट्राजेनेकाले खोपको दुईवटा मात्रा दिइनुपर्ने बताएका छन्।

सुरुमा गरिएको परीक्षणका आधारमा उनीहरूलाई पहिलो खोप लगाएको तीनदेखि चार हप्तापछि दोस्रो खोपको मात्रा लिन मानिसहरूलाई भनिएको थियो।

तर सन् २०२० को अन्त्यमा संयुक्त अधिराज्यले आफूले सकेसम्म बढी मानिसलाई पहिलो खोपको मात्रा दिने विषयलाई प्राथमिकतामा राख्ने भन्दै दोस्रो खोपको मात्र तीन महिनापछि दिइने बतायो।

तर फाइजर र अधिकांश वैज्ञानिक जगत् प्रारम्भिक परीक्षणमा प्रमाणित पहिलो मात्राको खोप दिएको २१ दिनपछि दोस्रो खोप दिने निर्णयमा कायम रहने निष्कर्षमा छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसबारे निर्णय सुनाउँदै प्रत्येक २१ वा २८ दिनमा खोप लगाउन सुझाव दिएको छ।

विशेष अवस्थामा छ हप्ताको अन्तरालमा खोप लगाउन सकिने डब्ल्यूएचओले जनाएको छ।

नेदरल्यान्ड्सको विमानस्थल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोरोनाभाइरसको रूप फेरिएर नयाँ प्रकारहरू देखा पर्न थालेपछि धेरै देशमा फेरि प्रतिबन्धहरू लगाइएो छ