कोरोना भाइरस: कोभिडका कारण बढिरहेको अनिद्रा: कसरी झेल्ने?

अनिद्रा

तस्बिर स्रोत, Getty Images

    • Author, ब्रायन लुफ्किन
    • Role, बीबीसी वर्कलाइफ

धेरैले प्रत्येक नयाँ वर्षमा राम्ररी निद्रा पुर्‍याउने वाचा गर्छन्।

तर यो वर्ष यो वाचा गर्न समस्या छ। किनभने कोरोनाभाइरस सङ्कटले राम्ररी निदाउन झन् कठिन पारिदिएको छ।

केही विज्ञहरूले यसलाई 'कोरोनासोम्निया' वा 'कोभिड-सोम्निया' अर्थात् कोरोनाभाइरसका कारण उत्पन्न भएको अनिद्रा भन्न थालेका छन्।

कोभिड-१९ का बेला तनावपूर्ण जीवनसँग जोडिएर अनिद्राको समस्या विश्वभर मानिसहरूले सामना गरिरहेका छन्।

यूकेमा सन् २०२० को अगस्टमा यूनिभर्सिटी अफ साउथह्याम्टमको एउटा अध्ययनले अनिद्रा अनुभव गर्ने मानिसहरू बढेको देखायो।

पहिले प्रत्येक छ जनामध्ये एकमा अनिद्राको समस्या हुने गरेकोमा यतिखेर त्यो प्रत्येक चार जनामध्ये एकमा पाइएको उक्त अध्ययनले जनाएको थियो।

यस्तो समस्या आमा, अत्यावश्यक सेवामा काम गर्ने मानिस र अश्वेत, एसियाली एवम् अल्पसङ्ख्यक आदिवासी समुदायमा बढेको देखिएको छ।

चीनमा अनिद्राको दर लकडाउनको उत्कर्षमा १४.६ प्रतिशतबाट बढेर २० प्रतिशतसम्म पुगेको थियो।

अनिद्रा

तस्बिर स्रोत, Getty Images

इटली र ग्रीसमा त औषधोपचारको आवश्यकता नै पर्ने गरी 'चिन्ताजनक अवस्था'मा अनिद्राको समस्या देखिएको थियो।

त्यहाँ मे महिनामा अध्ययनमा सहभागी झन्डै ४० प्रतिशतमा अनिद्राको समस्या देखिएको थियो।

अनिद्रा शब्द गुगलमा सन् २०२० मा जति धेरैपटक यसअघि कहिल्यै खोजिएको थिएन।

महामारी दोस्रो वर्षमा लाग्दा महिनौँदेखिको सामाजिक दूरीले हाम्रो दैनिकी उथलपुथल पारिदिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वास्तवमा कोरोनाभाइरस के हो?

काम र बाँकी जीवनमा हामीले गर्ने सन्तुलनको रेखा मेटिएको छ। भविष्य अझै अनिश्चित हुँदा हाम्रो निद्रामा त्यसको असर देखिन थालेको छ।

हाम्रो स्वास्थ्य र कार्यक्षमतामा यसको गम्भीर असर पर्नसक्छ।

अवरोधबीच जीवन

महामारीको नभएकै बेला पनि अनिद्राले जीवनलाई सहज बनाउँदैनथ्यो।

लगातार निदाउन नसक्नु वा निदाइहाले पनि चैन नहुने समस्याले दीर्घकालीन रूपमा मोटोपन, तनाव, खिन्नता, मुटुसम्बन्धी रोग र मधुमेहका समस्या निम्तिन सक्छन्।

रातमा सात घण्टाभन्दा कमको अपुग निद्राले काममा असर पार्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

आफ्नो निद्रा नबिथल्न समाचार कति खपत गर्ने भन्ने सीमा बनाउन जरुरी छ

तस्बिर स्रोत, Getty

कयौँ अध्ययनहरूले जसकै कारण काममा गल्ती हुने सम्भावना उच्च हुने, एकाग्रता नहुने, झोक्किने र मनस्थिति फेरिइरहने समस्या हुने देखाएका छन्।

अमेरिकाको एउटा ठूलो मेडिकल अध्ययन संस्था मेयो क्लिनिकका डा. स्टिभन अल्टकुलर अनिद्राको निदानमा विशेषज्ञता हासिल गरेका मनोविद् एवम् नशारोग विशेषज्ञ हुन्।

उनी भन्छन्: "कार्यालयमा काम गर्दा हुने हाम्रा बानीहरू बिर्सिसकेका छौँ। जस्तो कि हाम्रो खाजा खाने एउटा समय थियो। घरमै बसेर काम गर्दा हाम्रो शरीर अभ्यस्त भएको चक्र बिथोलिएको छ।"

क्यालिफोर्निया विश्वविद्यालयकी स्वास्थ्य प्राध्यापक एङ्गेला ड्राकी भन्छिन्: "तपाईँ कार्यालयमा काम मात्र गर्नुहुन्थ्यो र घर आएर आराम गर्नुहुन्थ्यो। त्यसमा फरकपन थियो। तर यतिखेर तपाईँ घरमा मात्रै हुनुहुन्छ।"

कोरोनासोम्नियाबारे लेखेकी र अनिद्राको समस्या झेलेका थुप्रै बिरामीको उपचार गरेकी ड्राकीले घरबाट काम गर्दा शरीरलाई कम व्यायाम हुने र प्राकृतिक रूपमा प्राप्त हुने प्रकाश शरीरले नपाउने बताउँछिन्।

ती दुवै कुराले राम्रो निद्राको लागि वातावरण तयार पार्छन्।

गत वर्ष इन्सोम्नियाको समस्या धेरै झेल्नेमा स्वास्थ्यकर्मीहरू पाइएका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत वर्ष इन्सोम्नियाको समस्या धेरै झेल्नेमा स्वास्थ्यकर्मीहरू पाइएका थिए

यतिखेर संसारमा कहिल्यै नभएको बेरोजगारी दर बढेको छ।

जसको जागिर बचेको छ उनीहरूले त्यसलाई जोगाइराख्ने काममा निकै जोडबल गर्ने गरेका छन्।

डा. स्टिभन अल्टकुलर भन्छन्: "यतिखेर हामीसँग काम र घरबिचको सीमा निकै अस्पष्ट हुन थालेको छ। मानिसहरू ढिलोसम्म काम गर्न थालेका छन्।"

यही बेला हाम्रा सोखहरू ओझेलमा परेका छन्। साथीहरू भेट्ने, जमघट गरेर तनाव कम गर्ने काममा समेत कमी आएको छ।

धेरैले त्यससँगै सामना गरिरहेका अन्य मानसिक समस्या समेत निद्रासँग जोडिन थालेको छ।

स्वास्थ्यकर्मीहरूमै पछिल्लो एक वर्षमा अनिद्राको समस्या निकै बढेको छ।

डिसेम्बरमा अटवा विश्वविद्यालयले विश्वका एक लाख ९० हजारभन्दा धेरै मानिसहरू समेटिएका ५५ वटा अध्ययनहरूको समीक्षा गरेको थियो।

उसले त्यसबाट महामारी सुरु भएयता अनिद्रा, तनाव, डिप्रेसन र कुनै घटनाविशेष पछिका असहज अवस्थाहरूको मापन गर्न खोजेको थियो।

ती सबैखाले असहजता स्वास्थकर्मीमा १५ प्रतिशतले बढेको पाइयो भने अनिद्रामा त त्यो २४ प्रतिशतसम्मले वृद्धि भएको थियो।

अनिद्रा

तस्बिर स्रोत, Getty Images

कसरी जुझ्ने?

यूकेको स्लीब च्यारिटीकी प्रमुख कार्यकारी लीजा आर्टिसका अनुसार महामारी लम्बिरहँदा अनिद्राको समस्या झट्टै गइहाल्ने सम्भावना देखिँदैन।

उनी भन्छिन्: "सुरुवाती अवस्थामा मानिसहरूले सल्लाह नलिँदा निद्राको समस्या अनिद्रामा परिणत हुन्छ। र त्यसलाई सुल्झाउने अचुक उपाय पनि छैन। फेरिएका बानी तोड्ने काम सहज पनि छैन।"

तर यस्ता समस्यामा चिकित्सककहाँ झट्ट नगइहाल्नेका लागि यो एक वर्षमा अनलाइन माध्यमबाट निदानको उपाय खोज्न सकिने सहज बाटो समेत बनेको छ।

निद्रा समस्याको निदानको लागि त्यसको केही स्वास्थ्य व्यवहारलाई समेत पालना गर्नुपर्छ। सुत्नुअघि धूम्रपान वा मद्यपान नगर्ने र खाटमा बसेर काम नगर्ने बानीले सहयोग गर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?

निद्राको लागि समाचारमा कति घोत्लिने भन्ने सीमा समेत बनाउनु पर्छ। फोनका घण्टी तपाईँका निद्रा खुलाउने साधन बन्नु हुँदैन।

यसअघि पनि विश्वमा ठूला नकारात्मक घटनापछि धेरैमा अनिद्राको समस्या बढ्ने गरेको पाइन्छ।

हामीले के भुल्नु हुँदैन भने यो असाधारण समय हो।

"यस्तो अवस्था मानवजातिले १०० वर्षअघि झेलेको थियो," ड्राकी भन्छिन्। "यो हामीमध्ये कसैले यसअघि भोगेका थिएनौँ।"