कोरोना भाइरस नेपाल: के कोभिड-१९ नियन्त्रणका लागि बनाइएका नियम र मापदण्ड हटेका हुन्?

तस्बिर स्रोत, Reuters
कोरोनाभाइरस महामारी फैलिन थालेपछि सरकारले विभिन्न किसिमका गतिविधिमा प्रतिबन्धहरू लगाएको थियो। त्यस्ता प्रतिबन्धात्मक आदेशहरू औपचारिक रूपमा अद्यापि कायम छन् तर तिनको पालना भएको देखिँदैन।
यसरी सबै गतिविधि खुल्नुलाई नेपाल प्रहरीका प्रवक्ताले स्थिति "अब आफूहरू एक्लैको नियन्त्रणमा नरहेको" बताएका छन्।
एसएसपी वसन्तबहादुर कुँवरले बीबीसीलाई भने, "भौतिक दूरीसहित नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डका कुरा कडा रूपमा पालना गराउन सकिने अवस्था छैन। किनकि यसबारे आमभावना अर्कै भइसकेको छ।"
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू नै आफूहरूले तोकेको मापदण्डको पालना नभएको देख्दा निराश छन् भने प्रहरी अधिकारीहरू सरकारबाट कडाइ गर्ने विषयमा "स्पष्ट भाषामा" निर्देशन नदिइएको बताउँछन्।
स्वास्थ्य मन्त्रालय के भन्छ?
मन्त्रालयले यसअघि तोकेका कम्तीमा दुई मिटरको दूरी कायम राख्ने र २५ जना भन्दा धेरै मानिसहरू एक ठाउँमा जमघट नहुने भन्ने नियम आजपर्यन्त कायम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
तर पछिल्ला केही सातामा खासगरी सरकारका पक्ष र विरोधमा भएका आन्दोलन एवं सभा, क्रिसमस र अङ्ग्रेजी नववर्ष २०२१ का अवसरमा सडक, रेस्टुराँ र क्लबहरूमा स्वास्थ्य मापदण्डको हेक्का नराखीकन भेला भएका मानिसको भिड चिन्ताको विषय भएको विज्ञहरू बताउँछन्।

तस्बिर स्रोत, RSS
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बीबीसीलाई भने, "हाम्रो काम मापदण्ड बनाउने हो तर यदि त्यसलाई कसैले उल्लङ्घन गर्छ भने त्यहाँनेर अर्कैले काम गर्नुपर्छ।"
अझै देशभरि ५,००० भन्दा धेरैको सङ्ख्यामा कोरोनाभाइरस सक्रिय रहेका व्यक्तिहरू रहेको र दैनिक ५०० जनाजतिमा सङ्क्रमण पुष्टि हुने क्रम रहेको भन्दै त्यसलाई सामान्य सोच्न नहुने उनको भनाइ छ।
"स्कूल नै खोले पनि कसरी खोल्ने भन्ने मापदण्ड छ। हामीले तिनको कार्यान्वयन हुनुपर्छ भन्नेमा अझै दृढ छौँ," प्रवक्ता गौतमले थपे।
सीसीएमसीको रणनीति के?
आइतवार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मा अब खुल्न बाँकी सेवालाई बिस्तारै खुला गर्दै लगिनुपर्नेगरी कुरा उठेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँले बताएका छन्।
उनी भन्छन्, "वस्तुस्थिति फेरिएकाले केही परिमार्जन गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय भएको हो। जसमा स्कूल वा सिनेमा हल जे खुला गरिए पनि स्वास्थ्यका सर्त र मापदण्ड कायम राखिनेछ।"

तस्बिर स्रोत, EPA
परिमार्जन गर्ने भनिएका मापदण्ड कस्तो हुने भन्ने टुङ्गो अझै नभइसकेको उनले बताए। तर जमघटका लागि तोकिएको २५ जनाको सीमालाई भने यस पटक मन्त्रिपरिषद्मा पठाइएको प्रस्तावमा उल्लेख नगरिएको सचिव गुरागाईँले बीबीसीलाई बताए।
"बार, क्लब र सिनेमाहलहरू समेत नेपाल सरकारका निर्णयका हिसाबले अझै खुलेका छैनन्। तर कतैकतै खुल्न थालिसकेको हामीले थाहा पाएका छौँ," सचिव गुरागाईँ भन्छन्।
"प्रमुख जिल्ला अधिकारीहरूले जोखिम कम भएको ठानेर केही खुकुलो गर्न थालेका छन्, जसले भिडभाड बढाएको छ। तर हामी पनि अब सेवालाई नियन्त्रण गर्ने नभई नियन्त्रित हिसाबले सञ्चालन गर्नुपर्छ भन्ने सोचमा छौँ।"
के भन्छन् विज्ञ?
पछिल्ला केही सातामा कोरोनाभाइरस पुष्टि हुने मानिसहरूको सङ्ख्या एक हजारभन्दा कम सङ्ख्यामा देखिन थाल्नुलाई अधिकारीहरूले 'सुधारोन्मुख' भनिरहँदा विज्ञहरूले भने त्यसलाई जोखिम नै घटेको रूपमा बुझ्न नहुने ठान्छन्।

तिनैमध्येका एक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सङ्क्रामक रोगविज्ञ डा. शेरबहादुर पुन भन्छन्, "ठूला जमघट भनेकै कोरोनाभाइरस फैलिने राम्रो मञ्च हो। हुलमुलमा जाँदा जतिसुकै मास्क र अन्य कुराको सावधानी अपनाउन खोजे पनि त्यहाँनिर मानिसहरू चुक्ने ठाउँ धेरै हुन्छ।"
"अहिले नेपालमा देखिएको अवस्था भनेको लगभग पहिलो लहर मत्थर भए जस्तो देखिएको न हो। अन्य विकसित देशकै उदहारण हेर्दा समेत त्यसमा जतिखेर पनि उतारचढाव आउन सक्ने देखिएको छ।"
कुनै बेला नेपालमा परीक्षण गराउन गएकामध्ये दैनिक एक चौथाइभन्दा धेरैमा सङ्क्रमण देखिने क्रम देखिएकामा त्यो यतिखेर १० प्रतिशतभन्दा कममा झरेको पाइएको छ।
तर पर्याप्त सङ्ख्यामा परीक्षण हुन छाडेपछि सङ्क्रमितको सङ्ख्या निर्क्योल गर्न नसकिएको विज्ञहरूको भनाइ छ।










