तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल कोरोना भाइरसः थप १६ सय जनामा सङ्क्रमण, मृतकको सङ्ख्या १४ सय नाघ्यो
विगत २४ घण्टामा नेपालभरि १,६०० भन्दा केही बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
मन्त्रालयका अनुसार ९,४९१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सो अवधिमा २३ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २७ हजार नाघेको छ।
तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।
मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १६,७९३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये आधाभन्दा बढी अर्थात् १०,५७५ जना घरमै छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,४१२ सङ्क्रमितको मृत्यु भएको छ। नेपालमा सङ्क्रमितको मृत्युदर ०.६ प्रतिशत जति छ।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।
नेपाल विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशमध्ये शीर्ष ४० स्थानभित्र पर्छ।
दक्षिण एशियामा भने भारत, बाङ्ग्लादेश र पाकिस्तानपछि नेपाल चौथो स्थानमा छ।
कति जना निको भए?
मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप १,४३७ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।
अहिलेसम्म कुल दुई लाख ९,४३५ सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।
अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९२ प्रतिशत छ।
मङ्गलवार १,७९० जनामा सङ्क्रमण र २४ जनाको मृत्यु तथा बुधवार थप १९ सय ४८ जनामा सङ्क्रम र २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।
गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।
को हुन् सङ्क्रमित?
अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ६४० महिला र ९७४ पुरुष छन्।
अहिले काठमाण्डूमा ६२० जनासहित उपत्यकामा ७८५ सङ्क्रमित भेटिएका हुन्।
मन्त्रालयका अनुसार २४ घण्टामा झापामा ७६, मोरङमा १५३, चितवनमा २२, भक्तपुरमा ५१, ललितपुरमा ११४, नवलपरासी पूर्वमा ५१, र दाङमा ५२ जनामा कोभिड-१९ पुष्टि भएको हो।
काठमाण्डूमा ७,६४४ अनि भक्तपुरमा ५८९ र ललितपुरमा १,४९४ गरी उपत्यकामा ९,७२७ जना निको हुन बाँकी सङ्क्रमित छन्।
अरू तथ्याङ्क के छ?
पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.४ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।
पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ।
देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३३३ जना सघन उपचार कक्षमा र ५६ जना भेन्टिलेटरमा छन्।
अहिले हिमाली जिल्ला मनाङ, डोल्पा र मुगुमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ।
काठमाण्डू उपत्यकाका तीन जिल्लाबाहेक कास्कीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा