कोरोना भाइरस महामारीः कोभिड-१९ का कारण विश्वभरि १० लाख मानिसको मृत्यु, कहाँ फैलिरहेको छ सङ्क्रमण

कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या १० लाख नाघेको विज्ञहरूले बताएका छन्।

धेरै स्थानमा कोरोनाभाइरस सङ्क्रमण अझ तीव्र गतिमा फैलिरहेको छ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कमा अमेरिका, ब्रजिल र भारतमा मात्र ज्यान गुमाउनेहरूको सङ्ख्या कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको कूल सङ्ख्याको झन्डै आधा छ।

विज्ञहरूले मृतकको सङ्ख्या अझै बढी भएको हुनसक्ने बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले स्तब्धता व्यक्त गर्दै उक्त सङ्ख्यालाई "पीडादायक कोसेढुङ्गा" को सङ्ज्ञा दिएका छन्।

"प्रत्येक व्यक्तिको जीवनबाट हामीले दृष्टि हटाउनु हुँदैन," उनले एउटा भिडिओ सन्देशमा भने।

"उनीहरू आमा र बुवा, पति र पत्नी, दिदीबहिनी र दाजुभाइ, साथी र सहकर्मी थिए। यो रोगको बर्बरताका कारण पीडा बढेको छ।"

चीनको वुहानमा पहिलो पटक देखिएको झन्डै १० महिनामा कोरोनाभाइरसका कारण विश्वभरि ज्यान गुमाउने मानिसको सङ्ख्या त्यति पुगेको हो।

अहिलेसम्म १८८ वटा देशमा कोरोनाभाइरस पुगिसकेको तथा तीन करोड २० लाख मानिसमा सङ्क्रमण पुष्टि भइसकेको छ।

रोग नियन्त्रणका लागि अवलम्बन गरिएका 'लकडाउन' तथा अन्य उपायहरूले विभिन्न देशमा आर्थिक मन्दी देखा परेको छ।

अहिले कोभिड-१९ विरुद्ध खोप बनाउने प्रयास भइरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनने सर्वसुलभ तरिकाले खोप उपलब्ध हुनुअघि २० लाख मानिसको मृत्य हुने चेतावनी दिएको छ।

अमेरिकामा अहिलेसम्म दुई लाख ५,००० मानिसको कोभिड-१९ का कारण मृत्यु भएको छ। त्यसपछि ब्रजिलमा १,४१,७०० र भारतमा ९५,५००० सङ्क्रमितले पनि ज्यान गुमाइसकेका छन्।

कोरोनाभाइरस कहाँ तीव्र गतिमा फैलिँदैछ?

अमेरिकामा ७० लाख मानसिमा कोभिड-१९ पुष्टि भएको छ। यो विश्वभरि फेला परेका सङ्क्रमितमध्ये पाँच भागको एक भाग हो।

जुलाई महिनामा दोस्रो लहर सुरु भएपछि सङ्क्रमितको सङ्ख्या अगस्टमा घटेको थियो। तर फेरि बढ्न थालेको देखिन्छ।

भारतमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ।

त्यहाँ केही सातादेखि प्रत्येक दिन ९०,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

त्यहाँ अहिलेसम्म ६० लाख जनामा अर्थात् अमेरिकापछि उच्च सङ्ख्यामा कोभिड-१९ पुष्टी भएको छ।

तर भारतमा जनसङ्ख्याको तुलनामा मृत्युदर थोरै छ।

ल्याटिन अमेरिकामा ब्रजिलमा सर्वाधिक सङ्क्रमित भेटिएका छन्। अहिलेसम्म ४७ लाख जना सङ्क्रमित भेटिएको उक्त देश शीर्षस्थ तेस्रो स्थानमा छ।

यो पनि हेर्नुहोस्