तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस महामारी: खोप आए पनि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी
कोरोनाभाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड-१९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ।
डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएका छन्।
गत वर्षको अन्त्यमा चीनमा कोभिड-१९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १० लाख पुग्न लागेको छ।
सङ्क्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभरि तीन करोड २० लाखभन्दा बढी मानिसमा यो भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ।
हिउँद आउन लाग्दा उत्तरी गोलार्धका थुप्रै देशमा सङ्क्रमणको दोस्रो लहर सुरु हुन लागेको देखिन्छ।
किन चेतावनी
माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ।
उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताए।
तर उनले भने, "सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन्।"
रायनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न आग्रह गरेका छन्।
"जबसम्म हामी सबथोक गर्दैनौँ तपाईँले भनिराखेको सङ्ख्या काल्पनिक मात्र हुनेछैन। बरु दुर्भाग्यवश त्यो निकै सम्भावित हुनेछ।"
युरोपमा फेरि चिन्ता
केही दिनयता युरोपमा फेरि ठूलो सङ्ख्यामा देखिने क्रम सुरु भएको छ।
त्यसले गर्दा पहिलो लहर उत्कर्षमा रहेका बेला लगाइए झैँ देशव्यापी लकडाउन हुनसक्ने चेतावनी दिइएको छ।
युरोपको अवस्थाबारे डा. रायनले भने, "समग्रमा उक्त विशाल क्षेत्रमा हामीले यस रोगको चिन्ताजनक वृद्धि देखिरहेका छौँ।"
उनले युरोपेलीहरूले लकडाउन लगाउने अवस्था छल्नका लागि के पर्याप्त कामहरू गरिएको छ त भनेर आफैँलाई प्रश्न गर्न आग्रह गरे।
परीक्षण र सङ्क्रमितको संसर्गमा आएका व्यक्तिको पहिचान, क्वारन्टीन र सामाजिक दूरीको कायम गर्ने जस्ता विकल्पहरू लागु भए नभएको समेत मूल्याङ्कन गर्न आग्रह गरे।
डब्ल्यूएचओ मुख्यालय जिनिभामा बोल्दै उनले भने, "लकडाउन भनेका अन्तिम विकल्प हुन्।"
विश्वको अवस्था
अहिलेसम्म अमेरिका, भारत र ब्रजिलमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।
यी तीन देशको कुल सङ्क्रमितको सङ्ख्या मात्र डेढ करोडभन्दा माथि छ।
अमेरिकाका अग्रणी सङ्क्रामक रोग विज्ञ एन्थनी फाउचीले आफ्नो देशमा अहिलेसम्म सङ्क्रमणको पहिलो लहर नै अन्त्य नभएको बताए।
उनले सीएनएनसँग भने, "दोस्रो लहरको कुरा गर्नुभन्दा किन हामीले हिउँद वा शरद्का लागि तयार हुने कुरा नगर्ने?"
अमेरिकामा अहिलेसम्म यो भाइरसबाट ७० लाखभन्दा बढी सङ्क्रमित भएका छन्। कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित कारणले दुई लाख जनाभन्दा बढीको मृत्यु भएको छ।
त्यसपछि रहेको भारतमा ५८ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। त्यहाँ ९२,००० जनाभन्दा बढीले त्यहाँ ज्यान गुमाइसकेका छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा