तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिन्धुपाल्चोक पहिरोः ११ जनाको शव भेटियो, २० जना बेपत्ता
शनिवार राति सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ का विभिन्न ठाउँमा पहिरो जाँदा धनजनको ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार आइतवार दिउँसोसम्म ११ वटा शव भेटिएको छ भने २० जना हराइरहेका छन्।
नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार पहिरोले सबैभन्दा धेरै नागपुजे, डाँडागाउँ भीरखर्क र ताङ्सारमा असर पारेको छ।
नागपुजे पुगेकी पाख्रिनले बीबीसीलाई फोनबाट भनिन्ः “यहाँ ११ वटा घरको पहिरोले नामनिसान सबै मेटेको छ। केही मानिस हराइरहेका छन्।”
प्रमुख जिल्ला अधिकारी ढकालले सबै स्थानमा गरेर २२२ परिवार उच्च जोखिममा परेका र तिनलाई तत्कालै स्थानान्तरण गर्नुपर्ने देखिएको बताए।
उनका अनुसार सरकारी निकायले त्यसका लागि उपाय खोजिरहेको छ।
यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी र पहिरोले दुःख दिएको थियो।
पाँच वर्षअघि गएको भूकम्पबाट प्रभावित पहाडी भेगमा बारम्बार पहिरोको समस्या देखिएको अधिकारीहरू बताउँछन्।
कसरी भयो घटना?
मध्यरातपछि १ बजेतिर पहिरो आएको पाख्रिनले बीबीसीलाई बताइन्। त्यहाँ अविरल वर्षा भएको थियो।
तीनवटै बस्तीहरू पहिरोबाट प्रभावित पहाडको तल र माथि भएको बताइएको छ।
जिल्लाका प्रहरी प्रमुख राजन अधिकारीका अनुसार पहिरोका कारण त्यहाँ धाँजा फाटेको छ।
प्रहरी उपरीक्षक अधिकारीले भने, “छिट्टै (जोखिममा परेका) परिवारलाई सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था छ।"
गृह मन्त्रालयअन्तर्गत रहेको जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष वैशाख १ गतेदेखि अहिलेसम्म बाढी, पहिरो र बाढीबाट देशका विभिन्न स्थानमा ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।