तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मनसुन नेपाल: राजधानीसँग बाँकी देश जोड्ने सडकमा किन पहिरो खसिरहन्छ
- Author, ईश्वर जोशी
- Role, बीबीसी न्यूज नेपाली, चितवन
अविरल वर्षाले देशका विभिन्न भागलाई राजधानीसँग जोड्ने नारायणगढ-मुग्लिङ सडक र पृथ्वी राजमार्गमा उच्च सङ्ख्यामा पहिरो निम्त्याएको अधिकारीहरूले बताएका छन्।
रणनीतिक मानिने ती दुवै सडक खण्डमा गएका पहिरो हटाएर यातायात पुन: चल्ने अवस्था बनाउन सडक विभागका अधिकारीहरू साताभर व्यस्त रहे।
सोमवारबाट बन्द नारायगढ-मुग्लिङ सडक बुधबार रातिबाट खुलेको थियो।
मोवा खोलाको पुल नजिकैको सडकको बगाउँदा मुग्लिङलाई राजधानीसँग जोड्ने पृथ्वीराजमार्ग खण्ड अवरूद्ध भएकोमा अहिले साना गाडीका लागि एकतर्फी चल्ने बनाइएको छ।
सडकमा पहिरो र लेदो
आइतवारबाट परेको पानीले नारायणगढ-मुग्लिङ सडकको चार स्थानमा ठुला पहिरो खसेको थियो भने मुग्लिङबाट मोवा खोलासम्म सानो र ठूलो गरी २३ स्थानमा पहिरो गएको डिभिजन सडक कार्यलय भरतपुरका इन्जिनियर शिव खनालले बताए।
गत वर्षको तुलनामा यस पटक पृथ्वी राजमार्गमा गएको पहिरो अप्रत्यासित भएको उनी बताउँछन्।
मोवा खोलाबाट गल्छीसम्म करिब ३० किलोमिटर क्षेत्रमा झण्डै ६५ स्थानमा पहिरो खसेको र त्यसको लेदो सडकमा बगेको डिभिजन सडक कार्यलय चितवनका प्रमुख इन्जिनियर कृष्ण अधिकारीले बताए।
यी दुई राजमार्गहरु यो स्तरमा २०५० सालपछि पहिरो गएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटा बताउँछन्।
त्यसबेला पनि पहिरोपछि पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिङ सडक हप्तौँ अवरुद्ध भएको थियो।
पहिरोको उच्च जोखिममा
नारायणगढ-मुग्लिङ सडक खण्डका पहिरोबारे अध्ययन गरेका विपद् व्यवस्थापन विज्ञ कृष्णचन्द्र देवकोटाका अनुसार चितवनमा पर्ने उक्त ३६ किलोमिटर लामो सडक खण्डमा सन् २००३ मा पनि ठूलो विपद् आएको थियो।
उनका अनुसार त्यसबेला कालीगण्डकी र त्रिशुली नदीको सङ्गमस्थल देवघाटमा २४ घण्टामा ४४६ मिलिमिटर वर्षा भएको थियो जसका कारण सम्वेदशनशील भूबनोट रहेको उक्त क्षेत्रमा पहिरो, ढुङ्गा र लेदो सडकमा खसेका थिए।
देवकोटा भन्छन्, “नेपालको हिमालयको चूरे पर्वत श्रृङ्खला र महाभारत पर्वत श्रृङ्खला छुट्याउने मुख्य दरार दासढुङ्गा आसपासबाट अघि बढ्छ। मुख्य दरार रहेको भूगोल सामान्य रूपमा कमजोर हुन्छ।"
"नारायणगढ-मुग्लिङ सडकमा अन्य साना-साना दरारहरू पनि छन्। त्यहाँको जमिन कमजोर छ।”
“केही समयअघि मात्रै त्यस ठाउँमा सडक विस्तारको काम गरिएको छ। त्यसक्रममा सम्वेदनशील क्षेत्र भनेर पहिचान गरिएको ठाउँमा पहिरो रोकथामको उपयुक्त प्रविधि र प्रयास अघि बढाइएन।"
"ढुङ्गा राखेर जाली लगाउने प्रविधि मात्रै प्रयोग गर्दा त्यहाँ त्यसले काम गर्दैन।”
उनले पृथ्वी राजमार्गमा पहिरो न्यूनीकरणको प्रयास अपर्याप्त भएको बताए।
“उक्त सडक साँघुरो छ र पहाडहरू कमजोर छन्। प्रकोप नियन्त्रणका लागि पहिला गरिएका प्रयास पुराना भइसकेका छन् र कति राम्रोसँग मर्मतसम्भार गरिएका छैनन्। यो वर्ष मनसुनअघि र मनसुनका बेला पहिलाभन्दा बढी वर्षा भयो त्यसले जमिनलाई गलाएकाले बढी पहिरो गएको हो।”
नियन्त्रणको प्रयास यस्तो
इन्जिनियर अधिकारी ढुङ्गा र जाली लगाउने बाहेक बायोइन्जिनियरिङ विधिबाट पनि नारायणगढ-मुग्लिङ सडकको पहिरो नियन्त्रणको प्रयास गरिएको बताउँछन्।
उनका अनुसार उक्त खण्डमा २९ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएकोमा यसपटक चार किलो र सोह्र किलोसहित तीन स्थानमा बढी समस्या देखिएका छन्।
पृथ्वी राजमार्गमा एक सयभन्दा बढी ठाउँमा पहिरोको जोखिम रहेको आकलन गरिए पनि रोकथामको पर्याप्त प्रयास हुननसकेको बताउने गरिन्छ।
तर उपमहानिर्देशक सापकोटाले आफूहरूले वर्षैभरि पहिरो नियन्त्रणको प्रयास गरिरहेको भन्दै भौगर्भिक कारणले वर्खायाममा पहिरो खसिरहेको बताए।
उनका अनुसार अनुमति नलिई स्थानीय निकायहरूले मुख्य राजमार्ग छुने गरी शाखा सडकहरू खोल्ने क्रमले पहिरोजस्ता विपद् निम्त्याइरहेको छ।
समन्वयमा विकास निर्माण
तर इच्छाकामना गाउँपालिकाको अध्यक्ष गीता गुरुङ स्थानीय निकायले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर विकास निर्माणका गतिविधि अघि बढाउने गरेको बताउँछिन्।
ग्रामीण सडक निर्माणका क्रममा सडक विभागसँग सहकार्य नगरिएको भन्नु गलत भन्दै उनले पहिरो बढ्नुमा स्थानीय तह जिम्मेवार नरहेको उल्लेख गरिन्।
राजधानी जोड्ने क्रममा नारायणघाट-मुग्लिङ सडक र पृथ्वी राजमार्गको ठूलो हिस्सा त्रिशुली नदीको किनारै-किनार अघि बढ्ने गर्छ र त्यहाँ पहाडबाट खस्ने पहिरो एवम् नदीले कटान गर्ने जोखिम पनि रहेको विज्ञहरूले बताउने गरेका छन्।
उनीहरूले वर्षाको अवधिमा धनजनको क्षति हुन नदिन उक्त सडक खण्डमा रहेका सम्भावित पहिरोको जोखिम भएका ठाउँहरूको पहिचान गर्नुपर्ने र क्षति न्यूनीकरणका लागि योजना बनाएर कार्यन्वयन गरिनुपर्ने धारणा राख्छन्।
भारी वर्षा भएको समयमा ती राजमार्गहरू प्रयोग गरी यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै सरकारी निकायहरूले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रूहरूलाई सुझाव दिने गरेका छन्।
सवारीसाधनको चाप हुने भएकाले पहिरो वा अन्य कारणले ती राजमार्गमा आवतजावत रोकिएको वा सुस्त भएको अवस्थामा यात्रुहरूले सास्ती बेहोर्नुपर्छ।