कोरोना भाइरस नेपाल: थप १५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, ६०९ जना निको

विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप १५० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,९९४ पुगेको छ।

तीमध्ये १२,४७७ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा ६०९ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,४७७ मानिस देशभरि आइसोलेशनमा छन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

गत २४ घण्टामा ३,९६३ जनाको पीसीआर परीक्षण गरिएपछि कुल परीक्षण सङ्ख्या ३,२३,८३५ पुगेको छ।

सङ्क्रमण नभएका सात जिल्ला

नेपालमा सबै ७७ जिल्लामा कोरोनाभाइरस सङ्क्रमण भए पनि अहिले सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य भएको छ।

ती जिल्लाहरू भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन्।

सक्रिय सङ्क्रमित ५०० भन्दा बढी भएका जिल्लाहरूमा रौतहट, कैलाली र बाजुरा रहेका छन्।

प्रदेश अनुसार सबैभन्दा बढी सक्रिय सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा रहेको छ। त्यहाँ १,९९२ जना सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश नं २ मा १,९१३ जना रहेका छन्।

त्यस्तै प्रदेश नं १ मा १०८, वागमतीमा ४२१, गण्डकीमा ३८०, प्रदेश नं ५ मा ३७० र कर्णाली प्रदेशमा २९३ जना सक्रिय सङ्क्रमित रहेका छन्।

के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?