तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: थप १४४ जनामा सङ्क्रमण, १७ सय जना निको भएर घर फिर्ता
नेपालमा विगत २४ घण्टामा थप १४४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,९४५ पुगेको छ।
तीमध्ये ६०.७ प्रतिशत अर्थात् १०,२९४ जना भाइरसमुक्त भएका र ३८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।
विगत २४ घण्टामा १,७०५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयले आयोजना गरेको दैनिक प्रेस ब्रीफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले दिए।
अहिले देशभरि ६,६१३ सक्रिय सङ्क्रमित भएको उनले बताए।
गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ।
आइतवार ८२ जना सङ्क्रमित थपिएका थिए।
को हुन् सङ्क्रमित?
अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।
प्रदेश नं १ मा ६, प्रदेश नं २ मा ४१, वाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ सङ्क्रमित फेला परेका हुन्।
तीमध्ये सुर्खेत जिल्लामा सर्वाधिक ४१ जना, धनुषामा २७ जना र कैलालीमा १० जना छन्।
काठमाण्डू उपत्यकामा नौ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये ललितपुरमा पाँच, काठमाण्डूमा तीन र भक्तपुरका एक जना छन्।
योसहित उपत्यकामा फेला परेका सङ्क्रमितको कुल सङ्ख्या ३५६ पुगेको छ।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ५,८५६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कुनै बेला १,७०,००० मानिस क्वारन्टीनमा भएको भए पनि अहिले केवल २३,४७० जना छन्। तीमध्ये सुदूरपश्चिममा सर्वाधिक ५,५१७ छन्।
अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ। त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या २,५१२ छ।
अहिले महोत्तरी, रौतहट, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्लामा सङ्क्रमितको सङ्ख्या शून्य छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा