कोरोना भाइरस विश्वः एकै दिन सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परे

विश्व स्वास्थ्य सङ्गठनका अनुसार आइतवार विश्वभरि २,३०,००० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो अहिलेसम्म २४ घण्टामा पुष्टि भएको सर्वाधिक सङ्ख्या हो।

अधिकांश सङ्क्रमितहरू अमेरिकी महादेशका राष्ट्रहरूमा फेला परेका हुन्। त्यसपछि दक्षिण तथा दक्षिणपूर्वी एशियामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या बढी छ।

  • अमेरिकी महादेशहरूः १,४२,९९२
  • दक्षिणपूर्वी एशियाः ३३,१७३
  • युरोपः १८,८०४
  • अफ्रिकाः १७,८८४
  • पूर्वी भूमध्यसागरीय क्षेत्रः १५,३६१
  • पश्चिमी प्रशान्त क्षेत्रः २,१५६

यो अवधिमा विश्वभरि ५,२८५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको तथ्याङ्क प्राप्त भएको छ। तीमध्ये अधिकांश अमेरिकी महादेशमा बसोबास गर्ने मानिस हुन्।

दक्षिण एशियाको भारतमा मात्र केही दिनयता प्रत्येक दिन २०,००० भन्दा धेरै सङ्क्रमित पाइन थालेको छ।

आइतवार त्यहाँ २८,००० जनाभन्दा धेरैमा कोभिड-१९ पुष्टि भएको र ५५१ जनाको ज्यान गएको सरकारले जनाएको छ।

अहिलेसम्म विश्वभरि एक करोड २९ लाखभन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भएको छ।

तीमध्ये ५,६८,००० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ।

दक्षिण एशियाको स्थिति के छ?

दक्षिण एशियाका दुई देश भारत र पाकिस्तान शीर्ष १५ स्थानमा छन्।

अमेरिका र ब्रजिलपछि सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेको भारत विश्वभरि तेस्रो स्थानमा छ। तर मृतकको सङ्ख्याको आधारमा भारत आठौँ स्थानमा छ।

सङ्क्रमितको सङ्ख्या बढिरहेको पाकिस्तान दक्षिण एशियामा दोस्रो र विश्वभरिमा बाह्रौँ स्थानमा छ।

एक लाख त्रियासी हजारभन्दा बढी सङ्क्रमित भेटिएको बाङ्ग्लादेश दक्षिण एशियामा चौथौ स्थानमा र विश्वमा पाकिस्तानभन्दा चार स्थानमुनि छ। बाङ्ग्लादेशमा २,३५२ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा ३४,००० भन्दा बढी व्यक्ति सङ्क्रमित छन् भने त्यहाँ मृतकको सङ्ख्या १,००० नाघेको छ।

माल्दिभ्समा २,७३१ सङ्क्रमितमध्ये १३ जनाको र श्रीलङ्कामा २,६१७ मध्ये ११ जनाको मृत्यु भएको छ।

अहिलेसम्म भुटानमा सङ्क्रमितको सङ्ख्या १०० मुनि नै छ। त्यहाँ कसैको मृत्यु भएको छैन।