कोरोना भाइरस नेपालः थप ५५४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या १२,००० नाघ्यो

नेपालमा विगत २४ घण्टामा थप ५५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२,३०९ पुगेको छ।

तीमध्ये २,८३४ जना निको भएका छन् भने २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयले थप १३६ जना निको भएको तथा एक जनाको मृत्यु भएको पुष्टि गरेको हो।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

शुक्रवार ५९३ जना, बिहीवार ४३४ जना र बुधवार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

को हुन् मृतक?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार फोक्सोको क्यान्सरबाट पीडित कैलालीका एक ५० वर्षीय पुरुषको चितवनमा मृत्यु भएको हो।

भारतमा उपचार गराउँदै आएका ती व्यक्तिलाई भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगिँदा असार ११ गते कोभिड-१९ पुष्टि भएको थियो।

"भरतपुर अस्पतालको आइसोलेशनमा राखी उपचारका क्रममा आज मिति २०७७ असार १३ गते बिहान बजे (उनको) मृत्यु भएको हो," डा. गौतमले भने।

के छ अरू तथ्याङ्क?

अहिलेसम्म रसुवासहित सबै जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्।

हिमाली जिल्ला रसुवामा आठ महिला र एक पुरुषमा कोभिड-१९ पुष्टि भएपछि सातै प्रदेश र ७७ वटै जिल्लामा कोरोनाभाइरस पुगेको प्रमाणित भएको हो।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ४,६०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,१०,८७६ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।अ

हिले देशभरि ६५,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सङ्क्रमितको कुल सङ्ख्या जेठ ३१ गते ४,६१४ थियो भने जेठ २१ गते २,३०० थियो। जेठ १५ गते सङ्क्रमितको सङ्ख्या १,००० नाघेको थियो

जेठ ९ गते सङ्क्रमितको सङ्ख्या ५०० नाघेको थियो।

को हुन् सङ्क्रमित?

शनिवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका छन्। तर तिनमा युवा र पुरुषको बाहुल्य छ।

डोटीमा ४० महिला र ३१ पुरुषसहित कुल ७१ सङ्क्रमित भएका छन्।

बाजुरामा ६६, प्युठानमा ४९, रौतहटमा ३४, दाङमा ३१, महोत्तरीमा ३०, पाल्पामा २६, बैतडीमा २४ र स्याङ्जामा २१ जनामा पनि सङ्क्रमण देखिएको छ।

काठमाण्डू उपत्यकाका दुई जिल्ला काठमाण्डू र भक्तपुरमा पनि क्रमशः चार र एक सङ्क्रमित थपिएका छन्।