कोरोना भाइरस सङ्क्रमण: विभिन्न जिल्लामा थप ४४८ जनामा सङ्क्रमण, अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि

तस्बिर स्रोत, Getty Images
नेपालमा विगत २४ घण्टामा थप ४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यो वृद्धिसँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५,०६२ पुगेको छ।
तीमध्ये ८७७ जना निको भएका र थप एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
योसहित मृतकको कुल सङ्ख्या १६ पुगेको छ।

डा. गौतमका अनुसार अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्।
अहिले मरणोपरान्त सङ्क्रमण पुष्टि भएका व्यक्ति अर्घाखाँची जिल्लाका भएको उनले बताए।
ती व्यक्ति १२ दिनअघि भारतको महाराष्ट्रबाट फर्किएर स्थानीय क्वारन्टीनमा बसेको र श्वासप्रश्वासमा समस्या आएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराई फर्किने क्रममा उनको बुधवार मृत्यु भएको जानकारी उनले दिए।
बिहीवार २५० जनामा, बुधवार २७९ जनामा र मङ्गलवार ३२३ जनामा सङ्क्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो।
के छ अरू तथ्याङ्क?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,९२५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,२१,८६२ पुगेको छ।
अहिलेसम्म ७२ जिल्लामा सङ्क्रमण भेटिएको छ।
जेठ ३० गते शुक्रवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
५,०६२कुल सङ्क्रमण
७२प्रभावित जिल्ला
विगत २४ घण्टामा पीसीआर परीक्षण ५,९२५
चिकित्सकीय निगरानीमा अलग्गै४,१६९
देशभरि क्वारन्टीनमा१,५८,०००+
अहिलेसम्म निको८७७
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएको छ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि १,५८,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्।
तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
को हुन् सङ्क्रमित?
विगत २४ घण्टामा ३३ जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये अधिकांश पुरुष छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले रौतहट, सर्लाही, सुर्खेत, दैलेख, धादिङ र स्याङ्जामा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ पुष्टि भएको हो।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ












