कोरोना भाइरस: सङ्क्रमणबाट जोगिन कस्तो मास्क कसरी लगाउने

तस्बिर स्रोत, GETTY IMAGES
- Author, नारायण कार्की
- Role, संवाददाता, बीबीसी नेपाली
कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनमा बस्नु सबैभन्दा प्रभावकारी ठानिएका बेला मास्कको प्रयोगमा पनि विज्ञहरूले जोड दिएका छन्।
तर त्यसको सही प्रयोग र सही छनोट महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ।
घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्याउने जनस्वास्थ्यविद्हरूको मत छ।
तर मास्कको प्रयोगदेखि त्यो निकाल्दासम्म उचित तरिका अपनाउनु पर्ने उनीहरूले औँल्याएका छन्।
थुकको छिटाको जोखिम
मास्कको प्रयोग नयाँ अभ्यास होइन।
तर कोभिड-१९ को महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा लगभग सबैले मास्कको प्रयोग गर्ने गरेका छन्।
जनस्वास्थ्यविद् डा. विनोदबिन्दु शर्मा मास्क व्यक्तिगत सुरक्षाको भरपर्दो साधन बनेको बताउँछन्।
उनी भन्छन्, "अहिलेको सङ्क्रमणको अवस्थालाई हेर्ने हो भने सुरुका दिनमा मास्क लगाउन त्यति प्रोत्साहित गरेका थिएनौँ, तर अहिले मास्क अत्यावश्यकीय साधन बनेको देखिएको छ। त्यसले थुकका छिटाहरूबाट हुन सक्ने सङ्क्रमणको जोखिमलाइ कम गराउँछ।"
बजारमा सामान्य कपडाबाट तयार गरिकादेखि गुणस्तरीय गरी सामान्य तया तीनथरी मास्क पाइन्छन्।
कस्तो मास्क लगाउने?
कस्तो मास्क प्रयोग गर्ने भन्नेमा सर्वसाधारणमा अन्योल पाइन्छ। डा. शर्मा सर्वसाधारणलाई सर्जिकल मास्क प्रयोग गर्न सल्लाह दिन्छन्।
उनी बजारका पाइने कपडाबाट बनाइएका मास्क प्रयोग गर्न प्रोत्साहित गर्दैनन्।
उनले भने, "किनभने त्यसले सास फेर्दा असिलो भएर अरू कीटाणु त्यहीँ टाँसिने सम्भावना हुन्छ। सास फेर्दा सुक्खा रहने सर्जिकल मास्क उपयुक्त हुन्छ।"
सर्जिकल मास्क एकदिन मात्र लगाउन व्यावहारिक हुने र एन-९५ लगायतका गुणस्तरीय मास्क सम्भावित सङ्क्रमित र सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आउँदा स्वास्थ्यकर्मीहरूद्वारा लगाइने सुरक्षा पोसाक (पीपीई) कै एउटा हिस्सा भएको बताइन्छ।
कसरी लगाउने, कसरी फुकाल्ने?
मास्क लगाएर मात्र हुँदैन त्यो लगाउँदा र फुकाल्दा पनि सावधानी अपनाउनुपर्ने सुझाव स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माको छ।
उनी भन्छन्, "प्याकेटबाट मास्क निकालेपछि मास्कको भित्रपट्टि नछोएरै दुईवटा डोरीको सहायताले लगाउनुपर्छ। लगाइएका बेला बारम्बार घाँटीमा झुन्ड्याउने र पटकपटक फुकाल्ने गर्नुहुँदैन। पसिना आएको वा मोबाइल खेलाएको हातले मास्क छुनुहुँदैन।"

तस्बिर स्रोत, GETTY IMAGES
अहिलेको अवस्थामा विशेषगरी स्तनपान गराउने आमाहरूले बाहिरबाट फर्किनेबित्तिकै बच्चालाई स्तनपान गराउनुको साटो सरसफाइ गरेर मास्क लगाएर मात्र स्तनपान गरायो भने राम्रो हुने प्रशिक्षक शर्माले औँल्याए।
मास्क सामाजिक दूरीको विकल्प कदापि होइन। त्यसैले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन एकआएसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन्।
तर देशका विभिन्न सहरहरूमा समेत सर्जिकल मास्कको अभाव देखिने गरेकाले नेपालमा कपडाले बनाइएका मास्क लगाउने प्रचलन बढेको पाइन्छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










