कोरोना भाइरस नेपाल: सङ्क्रमितको सङ्ख्या '२५ हजार नाघ्न सक्ने' सरकारी आकलन

कोरोनाभाइरस

तस्बिर स्रोत, RSS

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा एक साताअघि सरकारी स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसबाट ५,००० मानिस सङ्क्रमित हुन सक्ने आकलन गरेका थिए। सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि उनीहरूले पुन: समीक्षा गरेर उक्त सङ्ख्या पाँचगुना बढी हुन सक्ने बताएका छन्।

सङ्क्रमण वृद्धि हुने गति यसरी नै चलिरह्यो २५,००० भन्दा बढी मानिसलाई कोभिड-१९ हुन सक्ने देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बीबीसीलाई बताए।

"पाँच हजार सङ्क्रमित हुने अनुमानमा स्वास्थ्य सामग्री खरिद गर्न खोजिएकोमा अब त्यो परिवर्तन भइसकेको छ," उनले भने, "एक महिनाभित्रै ५,००० नाघ्ने देखेर मन्त्रालयमा नयाँ रणनीति बनिरहेको छ।"

सरकारले कोभिड-१९ सँग सङ्घर्ष गर्न यसअघि ल्याएको एउटा विपद् व्यवस्थापन योजनामा सङ्क्रमितको सङ्ख्या २,००० नाघ्दा सङ्क्रमणको अवस्था 'दोस्रो तह'मा पुग्ने र 'जनस्वास्थ्य सङ्कटकाल' घोषणा गर्न सकिने उल्लेख छ।

त्यस्तो अवस्थामा पाँच प्रतिशत सङ्क्रमितलाई अस्पतालमा सघन स्वास्थ्य सेवा चाहिने र १५ प्रतिशतजतिलाई बाहिरबाट अक्सिजन दिएर कृत्रिम रूपमा श्वासप्रश्वास गराउनुपर्ने हुनसक्ने उक्त योजनामा उल्लेख छ।

कस्तो वृद्धि?

नेपालमा पहिलो सङ्क्रमित फेला परेको दुई महिनापछि दोस्रो व्यक्तिमा कोभिड-१९ पुष्टि भएको थियो।

तर जेठ १५ देखि जेठ २० सम्ममा १,००० सङ्क्रमित फेला परेपछि पाँच दिनमा कुल सङ्ख्या दोबर भयो।

अहिले प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हजारौँ मानिसहरू क्वारन्टीनमा छन्

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अहिले देशभरि डेढ लाख जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्

सरकारले अहिले सम्भावित वृद्धिको गणितीय आकलन गरिरहेको जनाउँदै विभागका महानिर्देशक श्रेष्ठले त्यसपछि अधिकतम सङ्ख्या स्पष्ट रूपमा प्रक्षेपण गर्न सकिने बताए।

सरुवा रोग तथा जनस्वास्थ्यविज्ञहरू सक्रिय अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्याका आधारमा सङ्क्रमितको अधिकतम सङ्ख्या प्रक्षेपण गर्न सकिने बताउँछन्।

विभिन्न देशमा गरिएका अध्ययनहरूले एउटा सङ्क्रमित व्यक्तिले अन्य पाँच जनासम्मलाई कोरोनाभाइरस सार्न सक्ने सङ्केत गरेका छन्।

विगत केही सातादेखि पुष्टि भएका अधिकांश सङ्क्रमितहरू क्वारन्टीनमा भएका व्यक्ति भएको सरकारको भनाइ छ।

"अहिलेसम्म क्वारन्टीनमा रहेका मानिसहरूलाई नमुना जाँचमा प्राथमिकता दिएकाले बाहिरको चित्र हामीलाई थाहा छैन। पाँच हजारजति सङ्क्रमण त अहिलेकै सक्रिय घटनाले सारेको हुनसक्छ," त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागका प्रमुख डा. मेघराज बन्जाराले बीबीसीलाई भने।

"क्वारन्टीनको गुणस्तर कमजोर भएको अवस्थामा त्यहीँभित्र नै भाइरस नराम्ररी फैलिएको पनि हुनसक्छ। तर त्यहाँ समयमै कदम चालेको अवस्थामा मात्र समुदायमा धेरै सङ्क्रमण फैलिने अवस्था रोक्न सकिने हो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: लकडाउन राख्ने कि घटाउने निर्णय गर्ने 'आर' के हो

अहिले नेपालमा डेढ लाखभन्दा बढी मानिस क्वारन्टीनमा छन्।

तर धेरै स्थानका क्वारन्टीनमा पर्याप्त सरसफाइ हुन नसकेको र रोग फैलिन सक्नेगरी धेरैलाई एकै ठाउँमा राखिएको गुनासाहरू आएका छन्।

क्वारन्टीनमा भएका धेरै मानिसको जाँच हुन बाँकी रहेकाले गणितीय आकलनभन्दा वास्तविक स्थिति झन् खराब हुनसक्ने विज्ञहरूको आशङ्का छ।

बुधवार साँझसम्मको तथ्याङ्कअनुसार नेपालमा भाइरस सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या २,००० भन्दा बढी छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

प्रधानमन्त्रीको चासो

बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरसको प्रभावबारे विज्ञहरूसँग छलफल गरेका थिए।

उक्त बैठकमा धेरैजसो सरकारी अधिकारीहरूको जोड 'जनतामा त्रास बढओ फैलिएकोले एकखाले सन्देश मात्र बाहिर जानुपर्ने'मा जोड दिएको एक सहभागीले बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

प्रधानमन्त्रीले पनि 'सत्य बोल्नुपर्ने वा सत्य बोल्न सक्ने अवस्था नभए नबोल्नुपर्ने' बताएको ती सहभागीले बीबीसीलाई बताए।

प्रधानमन्त्रीले आफ्नो एउटा मन्तव्यका क्रममा कुल जनसङ्ख्याको दुई प्रतिशतको जाँच हुने बताएकामा बुधवार कतिपय सहभागीले त्यो सङ्ख्या भारत, खाडी राष्ट्र र मलेशियाबाट आउने मानिसहरूलाई नै पर्याप्त नहुने भन्दै ध्यानाकर्षण गराएका थिए।

समस्या

नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर विधिबाट गरिने परीक्षणको परिणाम दिन एक सातासम्म लगाएको बताइन्छ।

देशका सबै प्रयोगशालामा एक दिनमा कुल ५,००० वटा नमुना जाँच्ने लक्ष्य राखिएको भए पनि ३,००० वटाको हाराहारीमा मात्र परीक्षण हुन सकेको सरकारी तथ्याङ्कले देखाउँछ।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, "सात दिनसम्म ढिलो हुनु भएको भनेको क्वारन्टीन र लकडाउनजस्ता प्रयासको अर्थ नहुनु हो। त्यस्तो सुस्त गतिले यो महामारी नियन्त्रण गर्न सकिँदैन।"

त्यस्तो सुस्तताले सङ्क्रमित व्यक्तिको संसर्गमा आएका व्यक्ति पहिचान गर्ने प्रक्रिया प्रभावकारी नहुने विज्ञहरूको भनाइ छ।

ठूलो सङ्ख्यामा प्रयोग गरिएका आरडीटी अर्थात् द्रुत परीक्षण किटले विश्वसनीय परिणाम दिन नसक्ने त्रिभुवन विश्वविद्यालयका डा. बन्जारा बताउँछन्।

नेपालमा कोरोनाभाइरसको विशेषताबारे अध्ययन गर्न प्रस्ताव गरिएको बताउँदै उनले त्यसबाट 'मानिसमा देखाउने व्यवहार र मृत्युदरबारे' स्पष्ट चित्र थाहा पाउन सकिने बताए।

"यहाँ पाइएका गम्भीर र साधारण लक्षण देखाएका सङ्क्रमणको अध्ययनले र तिनको अन्य देशसँग तुलना गरेर त्यसलाई प्रतिरक्षा प्रणालीको कसीमा समेत विश्लेषण गर्न सकिनेछ।"

नेपालमा केही व्यक्तिको कोभिड-१९ वा त्यससँग सम्बन्धित कारण मृत्यु भएको भए पनि अधिकांश सङ्क्रमितको स्वास्थ्यस्थिति सामान्य भएको र गम्भीर लक्षणहरू नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ।

यो छुट्टै अनुसन्धानको विषय भएको विज्ञहरू बताउँछन्।