कोरोना भाइरस नेपाल: थप २७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

नेपालमा विगत २४ घण्टामा थप २७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,३६४ पुगेको छ।

तीमध्ये ६७४ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये प्रदेश नं २ का जिल्लामा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ पुष्टि भएको हो।

विगत २४ घण्टामा कोभिड-१९ बाट निको भएका ९० जना अस्पतालबाट बिदा भएको मन्त्रालयले जनाएको छ।

मङ्गलवार ३२३ जनामा सङ्क्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो।

गत जेठ २२ मा सर्वाधिक ३३४ सङ्क्रमित फेला परेका थिए।

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,४१४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,१०,७४४ पुगेको डा. गौतमले बताए।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि १,७२,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्।

तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्।

को हुन् सङ्क्रमित?

सङ्क्रमितहरू विभिन्न उमेर समूहका छन्। तर तिनमा पुरुष र युवाको बाहुल्य छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टा गरिएको परीक्षणमा रौतहटका ५३, कपिलवस्तुका ४८, दैलेखका २५, सर्लाहीका २६, धादिङका १६, पाल्पा र कैलालीका १२-१२ र धनुषाका ११ जनामा कोरोनाभाइरस देखियो।

त्यसैगरी सुर्खेतका नौ, मोरङका आठ, रूपन्देहीका सात, प्युठान र सप्तरीका छ-छ, नवपलपरासी पश्चिमका पाँच तथा झापा र गोरखाका चार-चार जनामा पनि सङ्क्रमण पुष्टि भयो।

चितवन, नवलपुर, बाँके, दार्चुला, कञ्चनपुर, डडेलधुरा, नुवाकोट, सिन्धुली र सिराहामा पनि केही व्यक्तिमा सङ्क्रमण देखियो।

तर यो अवधिमा नयाँ जिल्लामा सङ्क्रमण पुष्टि भएन।

अहिलेसम्म नेपालका ७७ मध्ये ७२ जिल्लामा कोभिड-१९ पुगिसकेको छ।