तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: सार्वजनिक स्थानमा मास्क लगाउन विश्व स्वास्थ्य सङ्गठनको सुझाव
विश्व स्वास्थ्य सङ्गठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।
डब्ल्यूएचओका अनुसार मास्क लगाउँदा 'सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध' हुन्छ।
विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो।
अहिले नै कैयौँ देशमा मास्क लगाउन सुझाव दिइएका वा अनिवार्य गराइएका छन्।
कस्तो मास्क?
डब्ल्यूएचओकी प्राविधिक विज्ञ डा. मारिया भान कर्खोभले समाचारसंस्था रोएटर्स सँग कुरा गर्दै आफूहरूले सर्वसाधारणलाई 'मेडिकल मास्क नभई कपडाको न मास्क' लगाउन सुझाएको बताइन्।
सो संस्थाले मेडिकल मास्क भने बिरामीले वा बिरामीको हेरचाह गर्नेहरूले मात्र लगाउनुपर्ने भन्दै आएको छ।
उसका अनुसार पछिल्लो सुझाव हालैका साताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित छन्।
"हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ," कर्खोभले भनिन्।
यसबीच डब्ल्यूएचओले मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्ये एक उपाय मात्र भएको भन्दै यसले मानिसहरूलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ।
"मास्क मात्रैको प्रयोगले कोभिड-१९ बाट जोगाउँदैन," डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रस एडहानोम गेहब्रेयससले भने।
विश्वभरिमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या बढेर ६७ लाख पुगेको छ भने झन्डै चार लाख मानिसको ज्यान गएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
नयाँ सुझावको अर्थ
बीबीसीका विज्ञान सम्पादक डेभिड शुकम्यान भन्छन्: डब्ल्यूएचको पछिल्लो सुझावले उक्त संस्थामा आएको ठूलै परिवर्तनको सङ्केत गर्छ। महिनौँसम्म उसका विज्ञहरूले मास्कको प्रयोगले सर्वसाधारणले गलत ढङ्गबाट ढुक्क हुन सक्ने अनि त्यसले स्वास्थ्यकर्मीहरूका निम्ति आवश्यक मास्कको अभाव हुन सक्ने भन्दै आएका थिए।
ती तर्क अझैपनि विद्यमान नै छन् तर डब्ल्यूएचओले सङ्क्रमणको जोखिमबारे नयाँ प्रमाण पनि हेरिरहेको देखिन्छ।
"यसले हालैको अनुसन्धानतर्फ इङ्गित गर्छ जसमा के उल्लेख थियो भने मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएको प्रारम्भिक दिनहरूमा अत्यन्त सङ्क्रामक हुन्छन् (अरूलाई सार्ने सन्दर्भमा) जबकि उनीहरूमा लक्षण देखिन थालेको हुँदैन," शुकम्यान भन्छन्।
सार्वजनिक सवारीसाधन वा पसल वा शरणार्थी शिविर जहाँ सामाजिक दूरी सम्भव हुँदैन त्यहाँ घरेलु मास्ककै भए पनि प्रयोग गर्न सुझाव दिइएको छ।
साठी वर्षभन्दा माथि उमेरका मानिसहरू जसलाई अन्य रोग पनि छ तिनले मेडिकल स्तरकै मास्क प्रयोग गर्न उचित हुने पनि डब्ल्यूएचओले बताएको छ।
यो पनि हेर्नुहोस्