कोरोना भाइरस नेपाल: थप २७८ जनामा सङ्क्रमण, सुर्खेतका एक जनामा मरणोपरान्त कोभिड-१९ पुष्टि

नेपालमा थप २७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २,९१२ पुगेको छ।

तीमध्ये ३३३ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको तथ्याङ्क मन्त्रालयसँग छ।

अहिले पुष्टि भएका सङ्क्रमित विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

फेरि मरणोपरान्त सङ्क्रमण पुष्टि

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जेठ २२ गते बिहीवार सुर्खेतमा मृत्यु भएका व्यक्तिबाट मरणोपरान्त सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस देखिएको छ।

यससँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या ११ पुगेको हो।

जेठ ८ गते भारतबाट फर्किई स्थानीय क्वारन्टीनमा बसेका ती व्यक्तिको बिहीवार घर फर्किएपछि आकस्मिक रूपमा मृत्यु भएको बताइएको छ।

आरडीटी परीक्षणमा सङ्क्रमण भएको कुनै लक्षण नदेखिएकाले उनी १४ दिनपछि क्वारन्टीनबाट घर गएको डा. देवकोटाले बताए।

अरू तथ्याङ्क

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,२३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ।

केही सातादेखि सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति क्वारन्टीनमा थिए।

शुक्रवार पुष्टि भएकामध्ये दैलेख जिल्लाका ९० जना छन्।

गोरखा, कास्की र हुम्लामा पनि सङ्क्रमित भेटिएपछि कोभिड-१९बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ६८ पुगेको छ।

बिहीवार पनि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १०५ जना र सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै अन्य आठ जनामा कोभिड-१९ पुष्टि भएको थियो।

बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो।

अहिले सुदूरपश्चिम प्रदेशमा ६०,२२६ जना क्वारन्टीनमा छन् भने प्रदेश नं ५ मा ४०,१४६ जना, कर्णाली प्रदेशमा ३१,९५२ जना र प्रदेश नं २ मा २१,३६३ जना छन्।

तीमध्ये अधिकांश व्यक्ति भारतबाट फर्किएको बताइएको छ।