कोरोना भाइरस नेपाल: थप १६ जनामा सङ्क्रमण पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या ७५

नेपालमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको सरकारले आइतवार पुष्टि गरेको छ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।

प्रदेश नं ५ को बाँके जिल्लाको नेपालगन्जमा १५ र प्रदेश नं २ को पर्सा जिल्लाको वीरगन्जमा एक गरी कुल १६ जनामा कोभिड-१९ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

दिउँसो १० जनामा सङ्क्रमण भएको पुष्टि भएकोमा साँझ मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै थप छ जना सङ्क्रमित फेला परेको जनाएको हो। उनीहरू सबै नेपालगन्जका हुन्।

अहिलेसम्म देशका सातमध्ये छवटा प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्।

को हुन् सङ्क्रमित व्यक्ति?

नेपालगन्जमा फेला परेका नयाँ सङ्क्रमितहरू शुक्रवार सङ्क्रमण पुष्टि भएका ६० वर्षीय व्यक्तिको सम्पर्कमा आएका व्यक्ति भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

उक्त कार्यालयका नरेश श्रेष्ठका अनुसार उनीहरू नेपालगन्ज-८ जोल्हनपुर्वास्थित मदरसावरिपरिका स्थानीय बासिन्दा हुन्।

श्रेष्ठका अनुसार सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका १०५ जनाबाट नमुना सङ्कलन गरिएको छ। तीमध्ये आइतवार ६० जनाको नमुना परीक्षण गरिएको थियो।

वीरगन्जमा ३६ वर्षीय पुरुषमा र नेपालगन्जमा आठ पुरुष र सात महिलासहित १५ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उनीहरू सातदेखि ६० वर्ष उमेरका रहेको जानकारी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वीरगन्जमा यसअघि फेला परेका सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा रहेका मानिसहरूको पहिचान गर्ने क्रममा केहीबाट गत शुक्रवार नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

बीबीसी संवाददाता माधुरी महतोका अनुसार तीमध्ये एक जनामा कोरोनाभाइरस देखिएको हो। उनलाई आइतवार नै घरबाट नारायणी अस्पताल लगिएको छ।

यसअघि वैशाख १४ मा सङ्क्रमण पुष्टि भएका वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीसँगै उनी पनि राहत वितरणमा खटिएको बताइएको छ।

सङ्क्रमित व्यक्तिको सङ्ख्या बढेपछि छपकैयाको वडा नम्बर ३ तथा अन्य क्षेत्र सील गरिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताएका छन्।

के छ नेपालगन्जका सङ्क्रमितको स्थिति?

उनीहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लैजाने तयारी गरिएको छ।

सङ्क्रमण भएको पुष्टि भएकाहरूको घरघरमा गएर उनीहरूलाई अस्पताल लैजाने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठले जानकारी दिए।

"सङ्क्रमितहरूलाई अहिलेसम्म आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहै छैन। हामी उनीहरूको परीक्षणको प्रतिवेदन लिएर घरघरमै गएर पहिचान गर्ने काम गरिरहेका छौँ," श्रेष्ठले बीबीसी संवाददाता विमला चौधरीलाई भने।

उनीहरू कसैमा पनि सङ्क्रमणको गम्भीर लक्षण भने नदेखिएको बताइएको छ।

कति परीक्षण भयो?

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४२० वटा परीक्षण गरिएको छ भने द्रुत परीक्षण विधिमा आरडीटी किट प्रयोग गरेर ४९,६८८ वटा परीक्षण सम्पन्न भएको छ।

गत २४ घण्टामा १,४७९ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताए।

अहिले देशभरि २१,९५८ क्वारन्टीनमा रहेको र ७७ जना आईसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै रहेको जानकारी पनि उनले दिए।

क्वारन्टीनमा प्रदेश नं ५ मा सर्वाधिक र वाग्मती प्रदेशमा सबैभन्दा कम मानिस छन्।

अहिले आईसोलेशनमा भएका ७७ जनामध्ये काठमाण्डू उपत्यकामा चार जना भएको मन्त्रालयले जनाएको छ।

प्रदेश नं १ मा अहिले सबैभन्दा धेरै अर्थात् ३१ जना सङ्क्रमित छन्। कर्णाली प्रदेशमा भने सङ्क्रमणको सङ्ख्या शून्य छ।

देशभरि भएका सबै सङ्क्रमितको स्वास्थ्यस्थिति सामान्य भएको मन्त्रालयले जनाएको छ।