कोरोना भाइरस अमेरिका: १० लाख जनाभन्दा बढी सङ्क्रमित

तस्बिर स्रोत, Reuters
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ।
कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो।
त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ। त्यो भनेको भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको सङ्ख्याभन्दा पनि बढी हो।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर कुल ३० लाख ९८ हजारभन्दा बढी सङ्क्रमण पाइएको छ।
कोरोनाभाइरसका कारण हालसम्म २ लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो सङ्ख्या देखिएको बताएका छन्।

तस्बिर स्रोत, Getty Images
उनले विस्तारै सङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने बताए। ट्रम्पले गत फेब्रुअरीमा पनि अमेरिकामा कोभिड-१९ को सङ्क्रमण शून्य हुने बताएका थिए।
त्यसबेला अमेरिकामा कोरोनाभाइरसका १५ वटा मात्र सङ्क्रमण भेटिएका थिए।
अन्यत्र के हुँदैछ?
ब्रिटेनमा बुधवारबाट केयर होमहरूमा भर्ती भएका सबै मानिसहरू र त्यहाँका कर्मचारीहरूको कोरोनाभाइरस सङ्क्रमण परीक्षण हुँदैछ।
सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाहरूमा पनि यो परीक्षण हुनेछ।

तस्बिर स्रोत, EPA
यसले लाखौँ मानिसहरूलाई परीक्षणको दायरमा ल्याउने ठानिएको छ।
फ्रान्समा मे ११ बाट लकडाउन खुकुलो पारिनेछ। तर त्यहाँ सार्वजनिक यातायात र विद्यालयहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ पनि चिकित्सकहरूले प्रयोग गर्ने सुरक्षा सामाग्री तथा उपकरणहरूको अभाव रहेको स्वीकारेका छन्।
रुसमा हालसम्म ९३ हजारभन्दा बढी मानिसहरूमा सङ्क्रमण देखिएको छ भने हालसम्म ८ सय ६७ जनाको मृत्यु भइसकेको छ।
करिब पाँच साताको लकडाउनपछि न्युजिल्यान्डमा मानिसहरू घरबाट बाहिर निस्किएका छन्।
त्यहाँ लकडाउन लगभग अन्त्य गरिएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










