कोरोना भाइरस नेपाल: 'यतिखेर यात्रा गर्दा कोरोनाभाइरसको सङ्क्रमण तेस्रो चरणमा प्रवेश गर्ने जोखिम रहन्छ'

भक्तपुरमा यात्रीहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भक्तपुरमा यात्रीहरू
    • Author, संजीव गिरी
    • Role, बीबीसी न्यूज नेपाली

राष्ट्रव्यापी रूपमा मानिसहरूको हिंडडुल र जमघटमा बन्देज लगाएर 'लकडाउन' गरिएका बेला सङ्घीय राजधानी काठमाण्डू लगायत देशका विभिन्न भेगमा भित्रिने र बाहिरिने मानिसहरूको चाप बढ्नु चिन्ताजनक भएको चिकित्सकहरूले बताएका छन्।

वैज्ञानिक विश्लेषण अनुसार कोरोनाभाइरसको सङ्क्रमणको अवस्था नेपालमा दोस्रो चरणमा रहेको भनिएपनि सावधान नहुने हो भने यो सङ्क्रमणले व्यापकता पाउन सक्ने चिन्ता चिकित्सकहरूले व्यक्त गरेका छन्।

गत चैत ११ गते देखि लागु गरिएको लकडाउन सुरुवाती केही समय निकै व्यवस्थित देखिए पनि पछिल्ला केही हप्ताहरूमा भने क्रमिक रूपमा फितलो बन्दै गएको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले लकडाउन कडाइका साथ कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई सोमवार निर्देशन दिनु परेको थियो।

सरकारले त्यस्तो निर्देशन दिएको भए पनि राजधानी उपत्यकाका नाका आसपास आइपुगेका सर्वसाधारणहरू विभिन्न बाटो हुँदै काठमाण्डू प्रवेश गरिरहेको विवरणहरू सार्वजनिक भइरहेका छन्।

कोरोनाभाइरसको सङ्क्रमण दोस्रो चरणबाट तेस्रोमा प्रवेश गर्न धेरै समय नलाग्ने हुँदा पनि थप सचेत रहन आवश्यक रहेको चिकित्सकहरूको भनाई छ।

सामान्यतया विदेशबाट आएका व्यक्तिमा मात्र देखिने सङ्क्रमणको चरणलाई पहिलो, तिनले आफन्त वा छरछिमेकमा सार्नेलाई दोस्रो र समुदायमा सङ्क्रमण फैलिने अवस्थालाई तेस्रो चरण भन्ने गरिन्छ।

काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले बीबीसीसँग भने, "नेपालमा अझै पनि समुदायमै कोरोनाभाइरसको सङ्क्रमण फैलिसकेको छ जस्तो मलाई लाग्दैन।

"तर त्यस्तो भनेर हामीले लकडाउनको अवज्ञा गर्न भने हुँदैन।"

"तेस्रो चरणमा नपुगे पनि भिडभाड गरेर एक ठाउँबाट अर्कोमा जाँदा एकजनामा सङ्क्रमण भए समुदायमा फैलन सक्ने सम्भावना उच्च रहन्छ," डा. शेरबहादुर पुनले भनेका छन्।

सावधानी

यात्रीहरू

डाक्टर पुनका अनुसार काठमाण्डू प्रवेश गर्ने र काठमाण्डूबाट बाहिर जाने दुवै थरी व्यवहार नै सङ्क्रमण फैलन सक्ने हिसाबले जोखिमपूर्ण हुन्। उनी भन्छन् एक महिनासम्म लकडाउनमा रहेको स्थानमा बाहिरबाट नयाँ मानिसहरू प्रवेश गर्दा थप सावधानी अपनाउन जरुरी छ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लामो समय देखि बन्द रहेको अवस्थामा काठमाण्डूमा नयाँ सङ्क्रमण फेला पर्ने सङ्ख्या कम हुँदै गएको छ।

उता नेपाल र भारतबीच करिब १८०० किलोमिटर लामो खुला सीमा छ।

"काठमाण्डूको अवस्था बिस्तारै अनुकूल हुँदै गएको जस्तो देखिन्छ भने काठमाण्डू बाहिर विभिन्न स्थानमा नयाँ सङ्क्रमणका घटना पुष्टि भइरहेको छ," पुनले भने।

"कतिपय अवस्थामा गाडीमा लुकेर यात्रा गरेको भन्ने सुन्नमा आएका छन्। बसमा यात्रा गर्दा हुलमुल गरेरै आउनु पर्ने हुन्छ नै। यसले समूहमा सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई बल दिन्छ।"

नेपालमा हालसम्म ५२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कडाइ

काठमाण्डू भित्रिने र बाहिरिने क्रम बढ्दै गएसँगै प्रहरीले सोमबारबाटै कडाइ गरेको बताएको छ।

यस अघि थुप्रै स्थानीय तहहरूले विभिन्न निकायहरूसँग सहकार्य गर्दै सर्वसाधारणहरूलाई एक ठाउँबाट अर्को ठाउँ लगेकाले समस्या देखिएको प्रहरीको भनाई छ।

"अहिले त्यसरी आवागमन गर्ने कार्य बन्द गरिएको छ। अत्यावश्यक पर्नेहरूलाई गृह प्रशासनबाट अनुमति पत्र दिइन्छ। सर्वसाधारणहरूको हिँडडुल भने नियन्त्रण गर्न जरुरी छ भन्ने हिसाबले कडाइ गरिएको हो," नेपाल प्रहरीका प्रवक्ता नीरज बहादुर शाहीले भने।

देशभर नेपाल प्रहरीका मात्रै ४६ हजार अधिकारी खटिएको उनी बताउँछन्।

त्यसबाहेक गृह मन्त्रालयको निर्देशन अनुसार देशभरका प्रहरी कार्यालयहरूमा पनि परिपत्र जारी गरिएको अधिकारीहरूको भनाई छ।

चुनौती

यात्रीहरू

सरकारले पछिल्लो समय लकडाउनमा थप कडाइ गर्ने नीति अघि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने चुनौती देखिएको जानकारहरूको भनाई छ।

सुरुवाती केही हप्ताहरूमा सर्वसाधारण आफै आत्तिएका कारण पनि घरबाट ननिस्किएको तर पछिल्लो समयमा भने त्यो अवस्थामा बिस्तारै परिवर्तन देखिन थालेको प्रहरीको निष्कर्ष छ।

"यो एक्कासि आएको कुरा भएर होला सुरुवाती समयमा भन्दा अलि फरक अवस्था देखिएको छ। खाद्यान्नको जोहो गर्ने देखि काठमाण्डूमा कामका लागि आएकाहरू फर्कन खोजे जस्तो देखिन्छ," शाहीले भने। "केही साँच्चै मर्कामा परेको जस्तो पनि देखिन्छ।"

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा भने चैत ११ देखि लकडाउन लागु गरिएको हुँदा त्यसलाई थप कडाइ गर्ने कार्यले अत्यावश्यक कामका लागि हिँड्नुपर्नेहरूका हकमा भने समस्या नपरेको बताउँछन्।

"चैत २० गते सम्म त मन्त्रालयले नै सहजीकरण गरेको हो। कोही साँच्चिकै समस्यामा परेको छ भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिएर हिँड्नमा रोक लगाइएको छैन।"

कति सुरक्षित?

जाँच

तस्बिर स्रोत, RSS

कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्क्तिमा खटिएका अधिकारीहरू आवागमन निरुत्साहित गर्न विभिन्न स्थानमा खटिएको अवस्थामा उनीहरू आफै कति सुरक्षित छन् भन्ने विषय पनि पेचिलो बन्दै गएको जानकारहरू बताउँछन् ।

सोमबार बिहानै विराटनगरबाट काठमाण्डूको नागढुङ्गा आइपुगेकाहरूको समूहसँग सम्पर्क गर्दै गर्दा प्रहरी अधिकारीहरूले सामान्य सतर्कता मात्र अपनाएको देख्न सकिन्थ्यो।

दिनहुँ सर्वसाधारणहरूसँग सम्पर्कमा रहेका त्यस्ता अधिकारीहरू आफू सङ्क्रमित हुने वा उनीहरूबाट सङ्क्रमण फैलिन सक्ने अवस्था नकार्न नसकिने उनीहरूको तर्क छ।

तर प्रहरी प्रवक्ता शाही भने प्रहरीलाई सुरु देखिनै सचेत गराउनुका साथै मास्क र पन्जाको व्यवस्था तथा कार्यालय भित्र बाहिर गर्दा हात धुने व्यवस्था मिलाइएको बताउँछन्।

"अग्रपङ्क्तिमा काम गर्नेहरूका हकमा खतरा त सधैँ रहन्छ। तर हामीले सकेसम्म सावधानी अपनाएका छौँ," उनले भने।