कोरोनाभाइरस: नेपालमा कोभिड-१९ दोस्रो चरणमा पुगेको भन्नुको अर्थ के हो?

सरकारले कोभिड–१९ को रोकथामका लागि लगाएको लकडाउनको आठौँ दिन वीर अस्पताल परिसरमा एक व्यक्तिको ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कोभिड–१९ को रोकथामका लागि लगाइएको लकडाउनको आठौँ दिन वीर अस्पताल परिसरमा एक व्यक्तिको ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी

नेपालमा कोरोनाभाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको अधिकारीहरूले बताएपछि त्यसको अर्थबारे धेरैमा जिज्ञासा बढेको छ।

पहिलो पटक विदेशबाट आएका एक सङ्क्रमित व्यक्तिबाट उनकै परिवारमा अर्को व्यक्तिमा सरेपछि नेपालमा कोरोनाभाइरस सङ्क्रमणलाई दोस्रो चरण भनिएको हो।

सामान्यतया विदेशबाट आएका व्यक्तिमा मात्र देखिने चरणलाई पहिलो, तिनले आफन्त वा छरछिमेकमा सार्नेलाई दोस्रो र समुदायमा फैलिनेलाई तेस्रो चरण भन्ने गरिन्छ।

अहिलेसम्म पुष्टि भएका नौ सङ्क्रमितमध्ये एक जना पूर्ण रूपमा स्वस्थ भइसकेका छन् भने बाँकी आठ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखिएको छ।

तर यसका वास्तविक अर्थ र यी चरणमा अपनाउनुपर्ने बाटोबारे विज्ञहरू के भन्छन्? प्रस्तुत छ यसबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँगको कुराकानी।

Dr Pun
BBC
हामीले यदि मेहनत गर्‍यौँ भने दोस्रो चरणसम्म यसलाई रोक्न सकिन्छ...
डा. शेरबहादुर पुन
चिकित्सक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

पहिलो चरणबाट दोस्रो चरणमा पुगेपछिको स्थितिमा के फरक हुन्छ?

विदेशबाट सङ्क्रमित भएर आएको तर त्यसबाट वरपर अरूलाई नसरेको अवस्थालाई हामी पहिलो चरण भन्छौँ।

दोस्रो चरण वा स्थानीय प्रसारण भएको भनेको चाहिँ सङ्क्रमितले आफ्नो नजिकको नातेदार वा छरछिमेकमा सारेको भन्ने हो।

यो चरणसम्म पनि धेरै मानिस सङ्क्रमित भइसकेका हुँदैनन्।

यो चरणमा को-को सङ्क्रमित भनेर पहिचान गर्न पनि सकिन्छ। त्यसैले हामीले यदि मेहनत गर्‍यौँ भने दोस्रो चरणसम्म यसलाई रोक्न सकिन्छ।

भारतबाट नेपाल आएका तीन जनाको महोत्तरीको औरही नगरपालिकास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा स्थापित क्वारन्टीनमा गत बुधवार परीक्षण गर्दै एक चिकित्सक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भारतबाट नेपाल आएका तीन जनाको महोत्तरीको औरही नगरपालिकास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा स्थापित क्वारन्टीनमा गत बुधवार परीक्षण गर्दै एक चिकित्सक

पहिलो चरणको तुलनामा दोस्रो चरणमा अपनाउनुपर्ने सावधानीमा के फरक हुन्छ?

पहिलो चरणको उद्देश्य भनेको विदेशबाट आएका सङ्क्रमितहरूको पहिचान अनि उनीहरूलाई आवश्यक आइसोलेशनमा राख्ने कार्य गर्ने हुन्छ।

दोस्रो चरणको उद्देश्य चाहिँ अब समुदायमा व्यापक नफैलियोस् वा तेस्रो चरणमा प्रवेश नगरोस् भन्ने नै हुन्छ।

यो चरणमा सङ्क्रमितका नातेदार र छरछिमेकले विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

त्यो क्षेत्रमा जो कोहीलाई पनि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिने र आवश्यक परे प्रयोगशाला परीक्षण गर्नुपर्छ।

अर्थात् सर्वसाधारणहरू आफैँ सचेत हुनुका साथै प्रयोगशाला परीक्षण पनि उपलब्ध हुनुपर्छ। कुनै पनि सङ्क्रमित तुरुन्तै पत्ता लाग्न सकोस् र समुदायमा फैलनबाट रोक्न सकियोस् भनेर।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

व्यक्ति आफैँले तथा समुदाय र परिवारले अपनाउनुपर्ने सावधानी चाहिँ के हुन्?

सङ्क्रमित भइसकेको अवस्थामा अस्पताल पुर्‍याउनुपर्छ।

तत्पश्चात् थाहा नहुँदै घुलमिल भइसकेको अवस्थामा परिवारका सदस्य पनि १४ दिनसम्म अलग्गिएर बस्नुपर्छ। जथाभावी आवतजावत गर्नु हुँदैन। लक्षण देखिन्छ कि भनेर सचेत भएर बस्नुपर्छ।

हामीकहाँ सुरुमा विदेशबाट आयो अनि परिवारसँग बस्यो, त्यसपछि मात्र सङ्क्रमण पुष्टि भएको देखिएको छ।

सङ्क्रमित त अस्पताल जान्छ तर उसले थाहा नपाउँदाको अवधिमा सम्पर्कमा आएकाहरू सबै आफैँ क्वारन्टीन जस्तै गरेर बस्नुपर्छ। अरूलाई नसरोस् भन्नेबारे चनाखो हुनुपर्छ।

घरमै त्यसरी कोही छुट्टै बस्दा खाने भाँडाका प्रयोग अनि लुगाका प्रयोगबारे कस्ता सावधानी अपनाउनुपर्छ?

क्वारन्टीन भन्ने वित्तिकै निश्चित समयका लागि निश्चित स्थानमा अलग्गै बस्नु हो।

त्यसरी बस्ने मानिसले प्रयोग गर्ने सामान अरूले सकेसम्म प्रयोग नगर्ने र कम्तीमा एक मिटरको दूरी कायम गर्ने गर्नुपर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ बारे थाहा हुन बाँकी कुरा

अब समुदायका मानिसहरूको कर्तव्य के हो त?

समुदायका मानिसहरू अब सचेत र चनाखो हुनुपर्छ। जुन ठाउँमा सङ्क्रमण पाइएको छ त्यहाँ आवतजावत बन्द गरौँ। हुन त यसै पनि 'लकडाउन'को अवस्था छ र एउटा स्थानीय तहबाट अर्कोमा नजान पनि भनिएको छ।

तेस्रो चरणमा नजाओस् भन्नका लागि यो आवश्यक छ।