कोरोनाभाइरस: नेपालमा थप तीन जनामा सङ्क्रमण, पहिलो पटक स्थानीय रूपमा सरेको पुष्टि

तस्बिर स्रोत, Getty Images
स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत् नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ।
तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन्।
"कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको परिवारकी एक सदस्यलाई कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको छ," स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बीबीसी न्यूज नेपालीलाई बताए।
ती महिला ३४ वर्षकी भएको बताइएको छ।
डा. कार्कीका अनुसार स्थानीय स्तरमा भाइरस सरेको पाइएपछि विश्वव्यापी महामारी बनेर फैलिएको कोभिड-१९ नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ।
यससँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या नौ पुगेको छ।
तीमध्ये पहिलो पटक पुष्टि भएका व्यक्ति भाइरसमुक्त भइसकेको अधिकारीहरू बताउँछन्।
को हुन् सङ्क्रमित व्यक्ति?
मन्त्रालयका अनुसार अन्य दुई सङ्क्रमितमध्ये एक व्यक्ति मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् भने अर्का व्यक्ति उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन्।
सामग्री उपलब्ध छैन
थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।Facebook पोस्ट समाप्त
तीनै जना अहिले आइसोलेशनमा छन्।
उनीहरूबाट सङ्कलित नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको जानकारी डा. कार्कीले दिए। पीसीआर विधिबाट गरिएको परीक्षणको परिणाम शनिवार सबेरै आएको हो।
"रोचक कुरा के छ भने नेपालमा पुष्टि भएका सबै सङ्क्रमितमा मध्यम खालका लक्षणहरू मात्र देखिएका छन्," डा. कार्कीले भने।



- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ









