कोरोनाभाइरस: सप्तरीबाट काठमाण्डू आएका इन्डोनेशियाली नागरिकलाई सुरक्षा दिन 'गोप्य' ठाउँमा सारियो

इन्डोनेशियाली नागरिकलाई सार्दै प्रहरी

तस्बिर स्रोत, Reuters

कोरोनाभाइरस सङ्क्रमण फैलिने त्रासका बीच १३ जना इन्डोनेशियाली नागरिकलाई गोप्य ठाउँमा राख्न नेपाल सरकार बाध्य भएको छ।

यसअघि ती मुस्लिम धर्मावलम्बीहरू राखिएका तीन ठाउँमा स्थानीय नागरिक र जनप्रतिनिधिबाट विरोध भएपछि त्यसो गर्न बाध्य भएको गृह मन्त्रालयको भनाइ छ।

सप्तरीको धार्मिक कार्यक्रममा सहभागी भएर उनीहरू चैत १९ गते काठमाण्डू आइपुगेका थिए।

सुरुमा काठमाण्डूको माछापोखरीस्थित एउटा मस्जिदमा उनीहरूलाई राखियो। त्यहाँ विरोध भएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित मस्जिदमा सारियो।

पछि गोदाबरीको रिसोर्टमा सार्दा पनि विरोध हुन नछोडेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट अन्यत्र सारेको हो।

अहिले कहाँ राखिएको छ?

सम्भवत: स्थान खुलाउँदा फेरि पुरानै अवस्था दोहोरिने आशङ्काले कुनै पनि अधिकारी अहिले उनीहरूलाई कहाँ राखिएको छ भन्न सक्ने अवस्थामा छैनन्।

ललितपुर प्रहरीका प्रमुख वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले भने, "प्रहरीले उहाँहरूलाई राम्रो प्रबन्धका साथ राखेको छ।"

Map

गृह मन्त्रालयका एक अधिकारीका अनुसार उनीहरू भारतको कार्यक्रममा सहभागी भएर फर्किएको र कोरोनाभाइरसबाट सङ्क्रमित भएको प्रचारले स्थानीय बसिन्दा र जनप्रतिनिधिको साथ नपाइएको ठानेका छन्।

ती अधिकारीका अनुसार उनीहरूमा ३६ देखि ६९ वर्षका पुरुष छन्।

सप्तरीको कार्यक्रमबाट फर्किएका उनीहरूमा भाइरस सङ्क्रमणको कुनै सङ्केत छैन। प्रहरीले स्वास्थ्य परीक्षण गरेर नै उनीहरूलाई आफ्नै गाडीमा ठाउँठाउँमा लगेको हो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के भन्छन् अधिकारीहरू?

प्रहरीका अनुसार उनीहरूमध्ये छ जनाको मे ४ तारिख र अन्य सात जनाको एप्रिल १० तारिखको फर्किने हवाई टिकट छ। उनीहरूको यात्रा विवरणले भारत गएको देखिँदैन।

लडकडाउन र अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्धका कारण एक सातापछि फर्किने यात्रुको पनि उडान पछि सर्ने स्थिति रहेको अधिकारीहरूले बताएका छन्।

सरकारी अधिकारीहरू भने स्थानीय जनप्रतिनिधिप्रति रुष्ट देखिन्छन्।

लाजिम्पाट

तस्बिर स्रोत, Roshan Sapkota

तस्बिरको क्याप्शन, लाजिम्पाटमा कीटनाशक औषधि छर्किँदै एक कर्मचारी

थुप्रै नेपालीहरू पनि विदेशमा रहेको सन्दर्भ उल्लेख गर्दै गृह मन्त्रालयका एक अधिकारीले 'विश्वव्यापी महामारीको संवेदनशील अवस्थामा पनि जनप्रतिनिधिको सहयोग नपाएको' गुनासो गरे।

उनले भने, "जनप्रतिनिधि र नेताहरूका कारण अन्तर्राष्ट्रिय रूपमा नेपालबारे कति नराम्रो सन्देश गयो।"

उनले ती विदशीलाई राख्न बल प्रयोग गर्ने अवस्था पनि आएको तर संवेदनशील बेलामा किन त्यस्तो गर्ने भनेर संयम अपनाइएको बताए।

दोस्रो पटक उनीहरूलाई इमाडोल लगिएपछि महालक्ष्मी नगरपालिकाले फिर्ता मात्र पठाएन नगरप्रमुख रामेश्वर श्रेष्ठले चैत २० गते विज्ञप्ति नै जारी गरेर ती नागरिकलाई आफ्नो क्षेत्रमा 'ल्याउने व्यक्ति वा निकायहरूको छानबिन गरी कारवाही र सत्यतथ्य सार्वजनिक गर्न' माग गरेका थिए।

के भन्छन् नगरप्रमुख?

तर नगरप्रमुख श्रेष्ठले बीबीसीसँग कुरा गर्दै इन्डोनेशियाली नागरिकहरू आफ्नो पाहुना भएको र उनीहरूप्रति सभ्य व्यवहार गरिनुपर्ने पक्षमै रहेको टिप्पणी गरे।

लकडाउनका बेला आफूलाई जानकारी नदिएरै विभिन्न ठाउँ हुँदै इमाडोल ल्याइएकोबारे जानकारी मागेको बताउँदै उनले भने, "अन्तर्राष्ट्रिय सम्बन्धमा नराम्रो सन्देश नजाओस्। धार्मिक सद्‍भाव र समाजिक सद्भाव पनि कायम रहनुपर्छ र विदेशी पाहुनाको लागि पनि राम्रो व्यवस्था हुनुपर्छ तर यहाँको मस्जिदमा राम्रो व्यवस्था पनि थिएन।"

त्यसैले कोरोनाभाइरसको त्रासको बेलामा नगरप्रमुखको नाताले गृहसचिव, मुस्लिम आयोगका अध्यक्ष, सांसदहरू र जिल्लाका अन्य अधिकारीहरूसँग छलफल गरेर उनीहरूको उचित व्यवस्थापन गराउन पहल आफूले गरेको उनको तर्क थियो।

तर त्यहाँबाट गोदाबरी भिलेज रिसोर्टमा राख्दा पनि विरोध भएपछि उनीहरूलाई फर्काउन प्रहरी बाध्य भयो।

उनीहरू लकडाउनका बेला सप्तरी प्रशासनले दिएको अनुमति अनुसार काठमाण्डू आएको बताइएको छ।

त्यसबारे सप्तरीका प्रमुख जिल्ला अधिकारीसँग बुझ्न खोज्दा बैठकमा रहेको भन्दै सूचना अधिकारीसँग कुरा गर्न आग्रह गरे। तर उनले दिएको सूचना अधिकारीको मोबाइल नम्बर बन्द थियो।