कोरोनाभाइरसः सात दिनका लागि देशभरि अत्यावश्यकबाहेक अन्य सेवा बन्द, हिँडडुलमा प्रतिबन्ध

कोभिड १९

तस्बिर स्रोत, RSS

नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै मङ्गलवार बिहानबाट लागु हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी 'लकडाउन' गर्ने आदेश जारी गरेको छ।

उक्त निर्णय मङ्गलवार बिहान ६ बजेबाट लागु भई चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बीबीसी नेपालीलाई बताए।

उनले भने, "कोभिड-१९ को रोकथाम गर्नका निम्ति मानिसहरू बीचको दूरी कायम गर्नका लागि अझ प्रभावकारी बनाउन हामीले अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवालाई यथास्थितिमा राख्ने र व्यक्तिहरू घरबाहिर ननिस्किने खालको एउटा वातावरण बनाउन अपील गर्ने निर्णय गरेका छौँ।"

सरकारले उक्त अवधिमा औषधोपचार र खाद्यवस्तुको खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य कोही पनि घरबाट निस्किन नपाउने उल्लेख गरेको छ।

निर्णय

अनुमतिप्राप्त बाहेक सबै प्रकारका सार्वजनिक र निजी सवारीसाधनमा रोक लगाइएको छ।

सुरक्षा निकायका विमान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द गर्ने निर्णय भएको छ।

अन्य कर्मचारीहरूलाई आवश्यक पर्दा उपस्थित हुनेगरी कार्यालय प्रमुखले बिदा दिने भनिएको छ।

औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै निजी उद्योग पनि बन्द गरिने जनाइएको छ। कलकारखानामा काम गर्ने श्रमिकहरूलाई बिदा दिन भनिएको छ।

'लकडाउन'को समयमा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाइएको छ।

सरकारले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने जनाएको छ।

आफ्नो आदेशको कार्यान्वयनका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।

यो आदेशको कार्यान्वयनमा बाधा पुर्‍याउनेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार सजाय हुने सोमवार साँझ सरकारले जारी गरेको सूचनामा उल्लेख छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर