कोरोनाभाइरस: फ्रान्सबाट कतार हुँदै फर्किएकी नेपाली विद्यार्थीलाई सङ्क्रमण भएको पुष्टि

तस्बिर स्रोत, RSS
- Author, केशव कोइराला र सुरेन्द्र फुयाल
- Role, बीबीसी न्यूज नेपाली
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ।
उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थी भएको जानकारी मन्त्रालयले सोमवार मध्याह्न आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो।
मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।
केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई कोभिड-१९ भएको पुष्टि भएको थियो। अहिले उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।
को हुन् सङ्क्रमित व्यक्ति?
नाम र ठेगाना गोप्य राखिएकी उनको शुक्रराज सरुवारोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै चैत्र पहिलो साता त्रिभुवन विमानस्थल आएको बताइएको छ।

तस्बिर स्रोत, CIVIL AVIATION AUTHORITY OF NEPAL
डा. देवकोटाले भने, "चैत ४ गते नेपाल आएपछि उहाँ घरमा क्वारन्टीनमा लक्षणविहीन अवस्थामा हुनुहुन्थ्यो। हिजो परीक्षण गर्दा उहाँमा कोभिड-१९ पोजिटिभ देखियो। उहाँसँग सम्पर्कमा आएका सबैलाई क्वारन्टीनमा राखिएको छ।"
स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार ती महिलाको अवस्था ठिक छ।
उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको र उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्


के भन्छ सरकार?
आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री र अन्य अधिकारीहरूले अहिलेको सङ्कटको घडीमा मानिसहरूलाई नआत्तिन र धैर्य राख्न अनुरोध गरेका छन्।
उनीहरूले विदेशबाट नेपाल भित्रिएका सबै नेपालीलाई १४ दिनसम्म अलग्गै बस्न र कुनै शङ्का लागेमा स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
मन्त्री ढकालले भने, "विदेशबाट आएका सबै व्यक्ति घरमै अलग्गै क्वारन्टीनमा बस्नुहोला। हामीले धैर्य गुमाउनु हुँदैन। सबैको उपचारमा सरकारले ध्यान केन्द्रित गरिरहेकै छ।"
के छ नेपाल सरकारको योजना?
मन्त्री ढकालका अनुसार कोभिड-१९ परीक्षण गर्न देशका सातैवटा प्रदेशमा प्रयोगशाला स्थापना गर्ने तयारीमा सङ्घीय सरकार जुटिसकेको छ।
उनले भने, "अब सबै प्रदेशमा अनिवार्य यस्तो सुविधाको व्यवस्था गर्ने तयारी हामीले थालिसकेका छौँ। आवश्यक औषधि र उपकरण खरिद गर्न आवश्यक खर्च जुटाउन कोष स्थापना भइसकेको छ।

तस्बिर स्रोत, EPA
अहिले नेपालमा कोभिड-१९ परीक्षणको लागि आवश्यक कति किट उपलब्ध छ त्यो प्रष्ट भइसकेको छैन।
तर सबै प्रदेशमा त्यस्तो परीक्षण सुविधा विस्तार गर्न धेरै उपकरण र किट आवश्यक पर्ने देखिन्छ।
मन्त्री ढकालका अनुसार पर्याप्त औषधि तथा उपकरण नेपाल भित्र्याउनका लागि मित्रराष्ट्रहरूसँग कूटनीतिक वार्ता जारी छ।
उनले भने, "आपूर्ति गर्नको लागि सडक मार्गको अतिरिक्त हाम्रा विमानहरू पनि तम्तयार अवस्थामै छन्।"
के छ विश्वभरिको स्थिति?
विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको कोभिड-१९ अहिले १८७ वटा देश र क्षेत्रमा फैलिसकेको छ।

नेपाली समयानुसार दिउँसो १ बजेसम्म २,९४,११० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।
तीमध्ये १२,९४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ।
चीनको वुहानबाट फैलिन थालेको कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक मृत्यु इटली र चीनमा भएको छ। त्यसपछि स्पेन, इरान र अमेरिका धेरै मानिसको ज्यान गएको छ।
अहिले महामारीको केन्द्रबिन्दु युरोप बनेको छ भने बिस्तारै एशियामा पनि फैलिरहेको देखिएको छ।
दक्षिण एशियामा के छ अवस्था ?
दक्षिण एशियामा कोभिड-१९ नियन्त्रण गर्ने प्रयासस्वरूप देशहरूले विभिन्न उपाय अवलम्बन गरेका छन्।
अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमण पाकिस्तान र भारतमा देखिएको छ।

तस्बिर स्रोत, RSS
भारत, पाकिस्तान र बाङ्ग्लादेशमा केही बिरामीहरूको मृत्यु पनि भइसकेको छ।
- पाकिस्तान: ६४६ (३ जनाको मृत्यु)
- भारत: ३४१ (५ जनाको मृत्यु)
- श्रीलङ्का: ७२
- अफगानिस्तान: ३४
- बाङ्ग्लादेश: २४ (२ जनाको मृत्यु)
- मालदिभ्स: १३
- भुटान: २
- नेपाल: २

यो पनि हेर्नुहोस्










