कोरोनाभाइरस: कोलम्बियाको जेलबाट कैदी 'भाग्न खोजे' पछि हिंसा, २३ जनाको मृत्यु

सुरक्षाकर्मी

तस्बिर स्रोत, EPA

कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा कम्तीमा २३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।

कोरोनाभाइरसको त्रासबीच देशभरि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवाको विरोध गर्दै आइतवार विरोधप्रदर्शन गरेका थिए।

सरकारले त्यसबारे अनुसन्धान गरिरहेको छ।

न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ।

दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

सुनियोजित भएको आरोप

उनका अनुसार कोलम्बियाका १३ वटा कारागामा तनाव भएको थियो र त्यति बेला लामोन्डेलो कारागारका सुनियोजित रूपमा हिंसा भड्काइएको थियो।

कोरोनाभाइरसको त्रासबीच कारागारभित्र पर्याप्त सरसफाइ नभएको र तिनको अवस्था दयनीय रहेको भन्ने गुनासाबारे मन्त्री काबेलोले भनिन्: "सरसफाइको समस्याको कारण कारागारमा हिंसा भएको होइन।"

कारागार

तस्बिर स्रोत, Reuters

Presentational white space

"अहिलेसम्म कारागारमा रहेका कुनै पनि बन्दी वा कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छैन।"

कैदीबन्दीहरू त्यसै उद्दण्ड बनेको बताउँदै उनले हिंसामा संलग्न केही बन्दीविरुद्ध हत्या र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियोगमा मुद्दा चलाइने बताइन्।

हिंसापछि लामोन्डेलो कारागारबाहिर कैदीका आफन्तको भिड लागेको थियो। उनीहरूका अनुसार त्यहाँ सुरक्षाकर्मीहरू आइपुगेपछि गोली चलेको आवाज सुनिएको थियो।

सामाजिक सञ्जालमा आएका भिडिओमा बन्दीहरूले बिछ्यौनामा आगो लगाइरहेको दृश्य देखिन्छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

क्षमताभन्दा बढी बन्दी

कोलम्बियाका १३२ वटा कारागारमा कुल ८१,००० बन्दी राख्ने क्षमता छ।

तर तिनमा १,२१,००० बन्दी भएको सरकारी तथ्याङ्क छ।

कोलम्बियामा अहिलेसम्म २३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ।

त्यहाँ मङ्गलवारदेखि १९ दिनसम्म देशव्यापी क्वारन्टीनको नियम लगाउन लागिएको छ।

सत्तरी वर्ष उमेर काटेका सबैलाई मे महिनाको अन्त्यसम्म घरभित्रै बस्ने सल्लाह दिइएको छ।