कोरोनाभाइरस: दिल्लीको धार्मिकसभामा सहभागी नेपालीको नमुना सङ्कलन, नतिजा आउन बाँकी

तस्बिर स्रोत, GETTY IMAGES
भारतको राजधानी दिल्लीमा आयोजित एउटा मुस्लिम धार्मिकसभामा सहभागी हुन पुगेका २० जना नेपालीको कोरोनाभाइरस परीक्षणका लागि नमुना लिइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दिल्लीस्थित विभिन्न क्वारन्टीनस्थलमा राखिएका उनीहरूको थुकको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको जानकारी भारतीय अधिकारीलाई उदृत गर्दै नेपाली दूतावासका अधिकारीले दिएका हुन्।
"उक्त धार्मिकसभामा नेपालीहरू पनि रहेको र उनीहरूलाई पनि क्वारन्टीनमा राखिएको भन्ने थाहा पाएपछि हामी भारतीय पक्षसँग निरन्तर सम्पर्कमा छौँ," दूतावासका प्रवक्ता हरि ओडारीले बीबीसीलाई बताए।
उनका अनुसार भारतीय अधिकारीहरूले दिएको पछिल्लो जानकारी अनुसार सबै नेपालीहरूको नमुना "परीक्षणका लागि पठाइसकिएको तर नतिजा आउन बाँकी रहेको" छ।
दिल्लीमै क्वारन्टीनमा
ओडारीका अनुसार दूतावासले परराष्ट्र मन्त्रालयलाई उक्त धार्मिकसभामा सहभागी नेपालीबारे प्राप्त सबै जानकारी पठाइसकेको छ।
त्यसका आधारमा उनीहरूसँगै गएका कोही व्यक्ति नेपाल फर्किसकेको भए उनीहरूको खोजी गर्न मद्दत पुग्ने दूतावासले जनाएको छ।
ओडारीका अनुसार उक्त धार्मिकसभामा सहभागी हुन नेपालका विभिन्न जिल्लाबाट मानिसहरू गएको देखिएको छ।
उनले भने, "यहाँ रहेका २० जना विभिन्न जिल्लाका हुनुहुन्छ। अहिले उहाँहरूलाई दिल्लीकै विभिन्न क्वारन्टीनस्थलमा राखिएको छ।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

बन्दाबन्दीमा भेला
कोरोनाभाइरस सङ्क्रमण रोक्न भारतले बन्दाबन्दी गरेका बेला दिल्लीस्थित निजामुद्दीन क्षेत्रमा उक्त धार्मिकसभाका लागि मानिसहरू भेला भएको बीबीसी हिन्दीले जनाएको छ।
मार्च महिनामा त्यस क्षेत्रस्थित एउटा केन्द्रमा प्रचारात्मक धार्मिकसभा भएको थियो।
त्यसमा सहभागी हुन भारत र अन्य मुलुकबाट हजारौँको सङ्ख्यामा मानिसहरू पुगेका थिए।

तस्बिर स्रोत, Getty Images
बीबीसी हिन्दीका अनुसार तबलीग जमात भनिने आयोजक समूहले भने भारतमा जनता कर्फ्यु लगाइएपछि उक्त धार्मिकसभा रोकिएको जनाएको थियो।
तर सबै सेवाहरू बन्द भएकाले ठूलो सङ्ख्यामा मानिसहरू आफ्नो स्थानमा फर्कन पाएनन्।
त्यसले गर्दा ठूलो सङ्ख्यामा मानिसहरू त्यही रोकिएका थिए।
ठूलो सङ्ख्यामा मानिसहरू रहेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट बाहिर निकालेर क्वारन्टीनमा राखेको हो।
सङ्क्रमणको जोखिम
उक्त धार्मिकसभामा सहभागी कतिपय मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ।
परीक्षणका क्रममा त्यहाँ सहभागी २४ जनामा कोरोनाभाइरस भेटिएको थियो।
उक्त धार्मिक कार्यक्रमकै कारण भारतका २० भन्दा बढी राज्यहरूमा कोरोनाभाइर फैलिएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
केही राज्यहरूले कोरोनाभाइरसका कारण आफ्नो राज्यमा मृत्यु हुनेमा उक्त कार्यक्रममा सहभागी भइ फर्केका मानिसहरू रहेको बताइएको छ।








