कोरोना भाइरस: सीमाको क्वारन्टीनमा एक महिना, देश फर्किने निश्चित छैन

पूर्वमा
तस्बिरको क्याप्शन, नेपालको पूर्वी सीमा काँकरभिट्टासँग जोडिएको भारतको पानीटेंकी नाकामा ८७ जना नेपाली क्वारन्टीनमा छन्
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमाको भारतीय क्वारन्टीनमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन सम्भव नभएको गृह मन्त्रालयले जनाएको छ।

पूर्वदेखि पश्चिमसम्म दुई हजारभन्दा बढी नेपालीहरू भारतका क्वारन्टीनस्थलमा एक महिनादेखि रहँदै आएका छन्।

क्वारन्टीनमा रहनुपर्ने म्याद सकिए पनि दुई देशबीचको समझदारीमा मात्र उनीहरुलाई नेपाल ल्याउन सकिने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

सीमाका क्वारन्टीनमा रहेका नेपालीहरूले भने आफूसँग भएका पैसा सकिँदै गएको बताएका छन्।

कति छन् सीमामा नेपाली?

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार दार्चुला तथा बैतडी क्षेत्रमा मात्र करिब १,३०० नेपाली छन्।

उनीहरू एक महिनादेखि त्यहाँ बस्दै आएका छन्।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरका अनुसार भारतीय सीमामा रहेका नेपालीलाई ल्याउन पहल गर्दा भारतीय पक्षले एक साता समय मागेको बताए।

भारतीय क्वारन्टीन स्थलमा नेपालीहरू बसेको करिब एक महिना भएको छ

तस्बिर स्रोत, Photo Courtesy: Santosh Bam Thakuri

कुँवरले भने, "हामीले छलफल गर्दा एक सातापछि मात्र नेपालीलाई ल्याउने र भारतीयलाई पठाउने कुरा भएको छ।"

गृह मन्त्रालय स्रोतलाई उल्लेख गरेर कान्तिपुर दैनिकले पूर्वदेखि पश्चिमसम्म सीमावर्ती क्षेत्रका भारतीय क्वारन्टीनमा २,३१८ नेपाली रहेका बताएको छ।

'ल्याएर कहाँ राख्नु?'

भारतीय सीमामा रहेका नेपालीहरूलाई नेपाल ल्याउनुअघि उनीहरूलाई राख्ने स्थान बनाइनुपर्ने गृह मन्त्रालयको तर्क छ।

उनीहरूलाई नेपाल ल्याइए क्वारन्टीनमै राख्ने व्यवस्था मिलाउनुपर्ने प्रवक्ता शर्माले बताए।

उनले भने, "सीमामा कति छन् भन्ने तथ्याङ्क जिल्ला प्रशासन कार्यालयहरूसँग छ। तर उनीहरूलाई ल्याएर राख्ने ठाउँ पनि चाहियो।"

"त्यसैले तत्काल उनीहरूलाई ल्याउन सम्भव छैन।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

तर पश्चिमका सीमावर्ती क्षेत्रबाट महाकाली नदी पौडेर साढे दुई सयभन्दा बढी नेपालीहरू नेपाल आएका विवरणहरू आएका छन्।

त्यसरी आएकाहरूलाई सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

'बेखर्ची भयौँ'

पूर्वी सीमा काँकरभिट्टासँग जोडिएको भारतको पानीटेंकी नाकामा ८७ जना नेपाली रहेको क्वारन्टीनमा बसिरहेका कालीकोटका सन्तोष बम ठकुरीले बीबीसी नेपालीलाई बताए।

त्यहाँ कालीकोट, दैलेख, सुर्खेत र बाजुरा जिल्लाका नेपालीहरू रहेको ठकुरीले बताए।

उनले भने, "हामी यहाँ बसेको एक महिना भइसक्यो। पैसा पनि सकियो। हामीसँग भारतीय पक्षले जाँदा हुन्छ भन्छ, तर नेपालले लगेको छैन।"

रक्सौल नाकामा १९ जना नेपाली रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयबाट कुनै आदेश नआएकाले सीमामा रहेका नेपालीहरू ल्याउन पहल शुरू नभएको बताए।