कोरोना भाइरसः लकडाउन खुकुलो पारिएको हो कि अवज्ञा हुन थालेको हो

सिन्धुलीको तीनपाटन गाउँपालिकाले काठमाण्डू उपत्यकामा अलपत्र परेका आफ्ना ६५८ नागरिकलाई फर्काउन व्यवस्था गरेको गाडीबाट यात्रुले झार्लङटारमा ओर्लदै आराम गरेका थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सिन्धुलीको तीनपाटन गाउँपालिकाले काठमाण्डू उपत्यकामा अलपत्र परेका आफ्ना ६५८ नागरिकलाई फर्काउन व्यवस्था गरेको गाडीबाट यात्रुले झार्लङटारमा ओर्लदै आराम गरेका थिए
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले देशभरि लकडाउन गरे पनि केही दिनयता सङ्घीय राजधानी काठमाण्डूबाट लामो दूरीका बसहरू विभिन्न गन्तव्यका लागि छुटिरहेको देखिन्छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शुक्रवार र शनिवार गरी १७ वटा बसमार्फत्‌ काठमाण्डूबाट आफ्ना बासिन्दालाई उनीहरूको थातथलो फर्काएको जनाएको छ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाले काठमाण्डूमा बस्दै आएका आफ्ना थुप्रै बासिन्दालाई शनिवार "उनीहरूकै आग्रह"मा करिब आधा दर्जन बसमार्फत्‌ घर पुर्‍याइदियो।

सिन्धुलीको तीनपाटन गाँउपालिकाले पनि साढे छ सय जनाभन्दा बढीलाई काठमाण्डूबाट घर फर्काएको जनाएको छ।

'औपचारिक निर्णय छैन'

त्यसका लागि उनीहरूले आफ्ना प्रतिनिधि नै काठमाण्डू पठाएको पाइयो। तर यी प्रतिनिधि घटना मात्रै हुन्।

खासगरी दिउँसोको समयमा काठमाण्डूका चावहिल र कोटेश्वर लगायतका स्थानबाट बाहिर जान लागेका बसहरूको ताँती देखेर कतिपय व्यक्तिले आश्चर्य प्रकट गर्ने गरेका छन्।

त्यसको कारण होः यसबीचमा सङ्घीय सरकारले न त लकडाउन खुकुलो पारिएको नै भनेको छ न त बाहिर जान चाहने व्यक्तिहरूलाई जान पाउने छुट दिइएको भनेको छ।

यसबारे बीबीसी न्यूज नेपालीले जिज्ञासा राख्दा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले आइतवार बिहान भने, "त्यसबारे सरकारले कुनै निर्णय गरेको छैन।"

"जनप्रतिनिधिहरूले मान्छे लैजाने काम आफैँ गरिरहनुभएको छ। लकडाउनबारे सरकारले आज केही निर्णय गर्ला।"

भक्तपुरको गठ्ठाघरमा बस चढ्दै यात्रुहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भक्तपुरको गठ्ठाघरमा बस चढ्दै यात्रुहरू

सरकारले लम्ब्याएको पछिल्लो लकडाउनको समय आज १२ बजे राति सकिँदैछ।

लकडाउनको स्वरूपमा के कस्ता परिवर्तन ल्याउने भन्ने विषयमा मन्त्रिपरिषद्‌को आज दिउँसो बस्ने बैठक निर्णय गर्ने अधिकारीहरूले बताएका छन्।

लकडाउनलाई अहिलेकै स्वरूपमा निरन्तरता दिनुपर्छ वा पर्दैन भन्नेबारे विश्वभरि नै मत विभाजित देखिन्छ र नेपाल पनि त्यसबाट अछुतो छैन।

एकथरीले कमजोर स्वास्थ्य प्रणाली भएको नेपालले ठूलो स्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिए नियन्त्रण गर्न गाह्रो हुने भएकोले लकडाउन हटाउन हतार गर्न नहुने तर्क गरिरहेका छन्।

अर्कोथरीले लकडाउन अहिलेकै स्वरूपमा जारी रहे गरीब तथा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूलाई कठिन हुने भन्दै खुकुलो बनाउनुपर्नेमा जोड दिइरहेका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के भन्छन् स्थानीय जनप्रतिनिधि?

मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईका अनुसार काठमाण्डू-पथरी समाजको समन्वयमा काठमाण्डूबाट साढे दुई सय जनाभन्दा बढी व्यक्तिलाई घर फर्काइएको हो।

"काठमाण्डूलाई हामीले अहिलेसम्म सुरक्षित नै देखेका छौँ, बुझेका छौँ। अहिलेसम्म खराब परिणाम देखिएको छैन। त्यो भएर पनि सर्वसाधारणको आग्रहमा ल्याएका हौँ", उनले थपे।

सर्वसाधारणको आग्रहलाई थेग्न नसकेपछि "बिचल्लीमा परेका जनता"लाई उनीहरूको घर फर्काएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालचेन शेर्पा बताउँछन्।

काठमाण्डूमा अलपत्र नागरिकहरूको उद्धारका लागि काभ्रेको धुलिखेलमा तयार राखिएका बसहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काठमाण्डूमा अलपत्र नागरिकहरूको उद्धारका लागि काभ्रेको धुलिखेलमा तयार राखिएका बसहरू

"चुनावका बेला तपाईँहरूले गाडी पठाउनहुन्छ, तर यस्तो आपत्‌का बेला लिन नआउने भन्दै दबाव दिएपछि हामीले ल्याएका हौँ।"

"हामीले नल्याएको भए काठमाण्डूनजिकै भएकोले हिँडेर पनि उहाँहरू आइहाल्नुहुन्थ्यो।"

"अर्को कुरा हेलम्बु गाउँपालिकाले घरघरमै दीर्घरोगीहरूको परीक्षण गराई निःशुल्क औषधि वितरण गरिरहेको छ। त्यो भएर आफ्नै ठाउँमा सुरक्षित भइन्छ भन्ने लागेर पनि उहाँहरू आउन चाहेको हुन सक्छ", शेर्पाले भने।

काठमाण्डूबाट आफ्ना बासिन्दालाई थातथलो फर्काइरहेका स्थानीय जनप्रतिनिधिहरूले स्वास्थ्य परीक्षण गरी घरभित्रै स्व-क्वारन्टीनमा सर्वसाधारणलाई बस्न लगाएको बताएका छन्।

फर्किनेहरू 'खुशी'

फर्केका सबै व्यक्तिहरूको सम्पर्क नम्बरसहितका विवरण पनि राखिएको उनीहरू बताउँछन्।

"हामीले तपाईँहरूलाई घर पुर्‍याएर सघायौँ अब तपाईँहरू घरभित्र बसेर हामीलाई सघाउनुहोस् भनेर आग्रह गरेका छौँ," पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले भने।

"र उहाँहरूले पालना पनि गरिरहनुभएको छ।"

सिन्धुलीको तीनपाटन गाँउपालिकाले पनि १० वटा बसमार्फत्‌ दुई दिनमा ६५८ जनालाई काठमाण्डूबाट घर फर्काएको छ।

दोलखाबाट फर्केका २४ जनालाई ट्रकमा उद्धार गरी कैलालीको चुरे गाउँपालिकाकाको क्वारन्टीनमा लगिएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दोलखाबाट फर्केका २४ जनालाई ट्रकमा उद्धार गरी कैलालीको चुरे गाउँपालिकाकाको क्वारन्टीनमा लगिएको छ

गाउँपालिका सूचना तथा सञ्चार प्रविधि अधिकृत सन्जय थापाका अनुसार घर फर्किन पाएकोमा सर्वसाधारणले खुशी व्यक्त गरिरहेका छन्।

उक्त गाउँपालिकाले काठमाण्डूपछि अब पोखराबाट आफ्ना बासिन्दाहरूलाई घर फर्काउँदैछ।

बीबीसी न्यूज नेपालीसँग थापाले भने, "सर्वसाधारणहरू दुःखका साथ बस्नुपरेको थियो, आफ्नै गाउँठाउँमा आउन पाइयो भन्दै खुशी व्यक्त गरिरहेका छन्।"