तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस अमेरिका: मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो, तर 'मृत्युदर कम' भएको दाबी
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघेको छ।
अमेरिकामा विगत २४ घण्टामा मात्रै ३,००० भन्दा बढी मानिसको ज्यान गएको छ। अहिले अमेरिकामा ८,७०,००० भन्दा बढी सङ्क्रमित भएको पुष्टि भएको छ।
तर सङ्क्रमणको तथ्याङ्क विश्लेषण गर्दा युरोपेली राष्ट्रको दाँजोमा अमेरिकामा अझै पनि मृत्युदर कम रहेकोमा ह्वाइट हाउसको कार्यदलले जोड दिएको छ।
हप्तौँपछि अमेरिकाका केही भाग पुन: खुलेपछि यो भयावह समाचार आएको हो।
जोर्जा, अलास्का र ओक्लहोमामा केश काट्ने सलूनसहित केही व्यवसाय खुल्न थालेका छन्।
अहिलेसम्मको सङ्ख्या हेर्दा अमेरिकामा कोरोनाभाइरसका कारण सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या विश्वमै बढी छ।
अमेरिकाको जनसङ्ख्या ३३ करोड छ जुन कोरोनाभाइरसबाट अतिप्रभावित स्पेन र इटलीको भन्दा धेरै हो।
ह्वाइट हाउसको कोभिड-१९ कार्यदलका विज्ञ डेबोरा बिर्क्सले अमेरिकामा “पूरै विश्वमा भएकामध्ये कम मृत्युदर” रहेको बताइन्।
प्रतिव्यक्तिको आधारमा हेर्दा अहिले अमेरिकामा कोभिड-१९ का कारण मृत्युदर स्पेन, इटली, फ्रान्स, बेल्जम र यूकेको भन्दा कम छ।
विश्लेषण: भयावह सङ्ख्या तर यो पूर्ण चित्रण हैन
रोबर्ट कफ, तथ्याङ्क प्रमुख
कोरोनाभाइरसका कारण मृत्यु भएको सङ्ख्या हेर्दा अमेरिका भयावह अवस्थामा छ। तर यसले वास्तविक रूप पूरै चित्रण गर्दैन।
त्यसको एउटा कारण भनेको जनसङ्ख्या हो। जनसङ्ख्याको आधारमा अमेरिकाभन्दा युरोपका थुप्रै देशमा धेरै मानिसको मृत्यु भएको छ। समग्रमा युरोपमा जनसङ्ख्या हेर्दा प्रतिव्यक्ति बढी मृत्यु भएको देखिन्छ।
तर ठूला देशहरूलाई यसरी तुलना गर्दा सावधान हुनुपर्छ।
न्यूयोर्कको अवस्था हेर्ने हो भने अमेरिकाको अन्य भागको भन्दा एकदमै फरक छ। अनि अन्य देशमा पनि उस्तै अवस्था छ।
इटलीमा साँच्चै भन्ने हो भने दुईवटा महामारी छन् - एउटा स्वास्थ्यसेवा राम्रो भएको देशको उत्तरी भागमा र र अर्को स्वास्थ्यसेवा त्यति विकसित नभएको दक्षिणी भागमा।
मृत्युदर कसरी गणना गरिन्छ भन्नेमा पनि निर्भर हुन्छ। फ्रान्सले स्याहारकेन्द्रको पनि तथ्याङ्क समेट्छ भने बेल्जमले कोभिड-१९ का शङ्का लागेका घटना पनि समेट्छ जसले गर्दा त्यहाँको तथ्याङ्क निकै नराम्रो देखिन्छ।
अमेरिकामा दैनिक मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्नुको आंशिक कारण सम्भवत: कोरोनाभाइरसका कारण मृत्यु भएका व्यक्तिलाई पनि समावेश गर्नु हो।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोलले एप्रिल १४ तारिखमा सङ्क्रमण र सम्भावित सङ्क्रमणकै कारण मृत्यु भएको दुवै सङ्ख्या जोडिने जनाएको थियो।
कोभिड-१९ को सम्भावित मृत्युमा क्लिनिकल र एपिडीमीओलजिकल अर्थात् शारीरिक लक्षण र सङ्क्रामक रोगसम्बन्धी दुवै आधार हुन्छन् तर परीक्षणबाट पुष्टि भएको हुँदैन।
त्यसैले साधारण लक्षण भएका कोभिड-१९ का बिरामीहरू तथ्याङ्कमा देखा पर्दैनन्। पुष्टि भएका बिरामीको मृत्युदर र रोगका कारण हुने समग्र मृत्युदर उस्तै हुँदैन।
सङ्क्रमणबाट कति मृत्यु भयो र रोग कति फैलियो भन्ने निर्क्योल गर्न परीक्षणको प्रयास महत्त्वपूर्ण हुन्छ।
कार्यदलको नेतृत्वमा पनि रहेका उपराष्ट्रपति माइक पेन्सले अमेरिकाले अहिलेसम्म ४९ लाख परीक्षण गरेको र त्यसलाई अझै विस्तार गर्न गभर्नरहरूसँग समन्वय भइरहेको बताएका छन्।
शुक्रवार अमेरिकाको संसद्ले ४८४ अर्ब डलरको राहत योजना पारित गरेको छ जसमा परीक्षणलाई विस्तार गर्न सघाउने विषय पनि समाविष्ट छ।
वाशिङ्टनले अनुमोदन गरेको यो चौथो कोभिड-१९ सम्बन्धी राहत प्याकेज हो। यसले अस्पताल र साना व्यवसायलाई ऋण उपलब्ध गराउने कार्यक्रमलाई पनि रकम छुट्याएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त विधेयकमा शुक्रवार हस्ताक्षर गरेपछि त्यो कानुन बनेको छ। उनले नागरिकहरूले "छिट्टै आर्थिक राहत पाऊन्" भन्ने चाहेको बताए।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
अमेरिकाको अहिलेको अवस्था कस्तो छ?
विज्ञहरूले चेतावनी दिँदादिँदै अमेरिकी कतिपय राज्यहरूले प्रतिबन्धलाई खुकुलो पार्न सुरु गरेपछि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको हो।
व्यवसायहरू चाँडै पुन: खोल्ने कार्यतालिका तय गरेको जोर्जामा केश र नङ्ग काट्ने स्थान, खेलकेन्द्र तथा अन्य व्यक्तिगत सेवा प्रदान गर्ने व्यवसायलाई सञ्चालन गर्न अनुमति दिइनेछ।
जोर्जामा सोमवार नाटकघर र रेस्टुराँ पनि खुल्नेछन्।
कार्यदलको बिहीवारको ब्रीफिङमा ट्रम्पले उक्त राज्यका रिपब्लिकन गभर्नर ब्रायन केम्प र उनका विज्ञको टोलीसँग “सन्तुष्ट” नभएको बताएका थिए।
"म जोर्जा निवासीहरू सुरक्षित होऊन् भन्ने चाहन्छु," राष्ट्रपति ट्रम्पले भने। "यसरी खोल्दा अनावश्यक समस्या होस् भन्ने म चाहन्नँ किनभने निर्देशिकामा नभएको विषय तपाईँले निर्णय गर्दै हुनुहुन्छ।"
ट्रम्पको आलोचनापछि केम्पले रेस्टुराँका लागि सरसफाइ र 'सामाजिक दूरी'सम्बन्धी नियम थप कडा पारेका छन्।
कोभिड-१९को सम्भावित उपचार भन्दै नि:सङ्क्रमणका लागि प्रयोग गरिने रसायन बिरामीको शरीरमा सुईमार्फत् लगाउने सुझाव दिएपछि अमेरिकी राष्ट्रपतिको चर्को आलोचना भएको छ।
यो पनि हेर्नुहोस्