तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: दुई दिनदेखि कोभिड-१९ भएका नयाँ बिरामी फेला परेनन्
स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण नभेटिएको जनाएको छ। बुधवार पनि कुनै सङ्क्रमित फेला परेका थिएनन्।
अहिलेसम्म पुष्टि भएका सङ्क्रमित व्यक्तिको सङ्ख्या १६ छ। तीमध्ये एक जना पहिला नै निको भइसकेका छन् भने १५ जना विभिन्न अस्पतालमा छन्।
बिहीवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा नमुनाको परीक्षण गरिएको तर कुनैमा पनि कोरोनाभाइरस नभेटिएको बताए।
उनका अनुसार सो अवधिमा कुल ३,२६३ व्यक्तिबाट सङ्कलित नमुनाको आरडीटी अर्थात् द्रुत विधिबाट परीक्षण गरिएको थियो।
आरडीटी विधिबाट परीक्षण गर्दा रगतको नमुनामा एन्टीबडी देखिएमा सम्भावित सङ्क्रमित व्यक्तिको घाँटीबाट नमुना सङ्कलन गरी त्यसमा भाइरस भए नभएको हेर्न पीसीआर विधिबाट थप परीक्षण गरिन्छ।
यसअघि मङ्गलवार लगातार तेस्रो दिन कोभिड-१९ भएका व्यक्तिहरू फेला परेका थिए।
देवकोटाका अनुसार अस्पतालमा भएका सङ्क्रमित व्यक्तिको स्वास्थ्यस्थिति राम्रो छ।
उनीहरूमध्ये दुई जना टेकु, दुई जना बागलुङ, चार जना वीरगन्ज र पाँच जना कैलालीस्थित अस्पतालमा उपचार गराइरहेका छन्।
अहिलेसम्म नेपालमा पीसीआर विधिबाट ७,२४० र आरडीटी विधिबाट १२,१९२ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
कैलालीमा भारतबाट फर्किएका व्यक्तिबाट परिवारकी एक सदस्यलाई पनि कोरोनाभाइरस सरेपछि महामारी दोस्रो चरणमा प्रवेश गरेको विज्ञहरूले बताएका छन्।
सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउनको अवधि लम्ब्याएको छ।
कोभिड-१९ भएको पत्ता लगाउन अहिले सबै प्रदेशमा पीसीआर परीक्षण सेवा विस्तार गरिएको छ।
अहिले काठमाण्डू, धरान, विराटनगर, जनकपुर, पोखरा, सुर्खेत, कैलाली, मकवानपुर, काभ्रे, रूपन्देही र चितवनका प्रयोगशाला र अस्पताल गरी कुल १३ स्थानमा पीसीआर विधिबाट नमुनाको परीक्षण गरिन्छ।
अहिलेसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सर्वाधिक ५,१०० भन्दा बढी नमुना जाँचेको छ।
मन्त्रालयका अनुसार विभिन्न स्थानमा गरिएका कुल ३१५ वटा परीक्षणको परिणाम आउन बाँकी छ।
देवकोटाका अनुसार बिहीवारसम्म ६९ वटा जिल्लामा आरडीटी विधिबाट सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण गर्न थालिएको र बाँकी आठ जिल्लामा पनि चाँडै त्यो सेवा उपलब्ध हुनेछ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा