कोरोनाभाइरस: देशभरि बन्देज लगाइएपछि नेपालमा पनि अनलाइन पढाइको थालनी

अनलाइनबाट विद्यार्थीलाई पढाउदै शिक्षक

तस्बिर स्रोत, Bikash Adhikari

तस्बिरको क्याप्शन, अनलाइनबाट विद्यार्थीलाई पढाउदै शिक्षक
    • Author, कमल परियार
    • Role, बीबीसी न्यूज नेपाली

कोरोनाभाइरसको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले सबै शैक्षिक संस्थासमेत बन्द गरेपछि केही नेपाली कलेजहरूले समेत आफ्ना विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट अध्यापन गर्न थालेका छन्।

कतिपय कलेजले निर्धारित समयमै कोर्स सक्नका लागि र केहीले विद्यार्थीलाई अध्ययनमा व्यस्त राख्नका लागि अनलाइनबाट पढाउन र विभिन्न क्रियाकलापमा सहभागी गराउन थालेका हुन्।

माथिल्लो तहमा पढ्ने विद्यार्थी तथा इन्टरनेट सुविधा भएका विद्यार्थीलाई अनलाइन शिक्षा प्रभावकारी भएको कलेजहरूले जनाएका छन्।

प्रभावकारी अनलाइन शिक्षा

कलेजहरूको शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष भेट हुन नसकेपनि जारी बन्दाबन्दीको बेला पढाइमा कुनै असर पर्न नदिएको दाबी छ।

काठमाण्डू विश्वविद्यालयका उपप्राध्यापक डा. विकास अधिकारी भन्छन्, ''विद्यार्थीलाई प्रत्यक्ष भेटेर पढाउनुपर्ने वा व्यवहारिक विषयलाई हालका लागि थाती राखेर हामीले सैद्धान्तिक विषयलाई अनलाइनबाट पढाइरहेका छौँ।''

विश्वविद्यालयकै विद्यार्थी आस्था खनालले आफ्नो घरमा बसेर अध्ययन गर्न पाउँदा खुसी लागेको बताइन्।

उनले भनिन्, ''यस्तो सङ्कटको बेलामा पनि हामीले अनलाइनमा घरबाटै पढ्न पाएका छौँ। लकडाउनको बेला समय खेर फाल्नुभन्दा अनलाइनबाट हुने पढाइले समयको सदुपयोग भएको छ।''

लकडाउन अगाडिकै तयारी

अनलाइनबाट सिकाउँदै एक शिक्षक

तस्बिर स्रोत, Rohit Pandey

तस्बिरको क्याप्शन, अनलाइनबाट सिकाउँदै एक शिक्षक

केही कलेजले कोरोनाभाइरससँग बच्न देशभरि बन्देज लगाइनुपूर्व नै कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर अनलाइन कक्षाको तयारी सुरु गरिएको बताएका छन्।

काठमाण्डूको इस्लिङ्टन कलेजले स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई दुई हप्तादेखि अनलाइनबाट अध्ययनको सुविधा प्रदान गरेको जनाएको छ।

इस्लिङ्टन कलेजका सूचना प्रविधितर्फका प्राज्ञिक प्रमुख रोहित पाण्डेका अनुसार सुरूका दिनमा विद्यार्थीहरूले असहज अनुभव गरेको भएपनि अहिले त्यस्तो छैन।

कलेजका अनुसार अनलाइनबाट पढाइमा कक्षाकोठामा जस्तो शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष अन्तरक्रिया गर्न असुविधा भएपनि विषयवस्तुको सिकाइबुझाइमा भने समस्या छैन।

कतिपय सुरु गर्दै

काठमाण्डूको टेक्सस इन्टरनेसनल कलेजले आइतबारदेखि अनलाइन कक्षा सुरू गर्ने जनाएको छ।

विभिन्न सङ्कायका गरि १,५०० विद्यार्थीमध्ये केही विद्यार्थीहरूले भने घरमा इन्टरनेटको असुविधाका कारण उक्त अवसरबाट बञ्चित हुने कलेजका डिजिटल मिडिया म्यानेजर प्रविण खड्काले बताए।

इन्टरनेटको पहुँच भएका स्थानमा विभिन्न सफ्टवेयर वा एप्सको प्रयोग गरेर विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गर्ने क्रम विगत केही वर्षदेखि नै चलेको भएपनि यसलाई वृहत् बनाउन इन्टरनेटको पहुँचलाई थप विस्तार गर्नु पर्ने विज्ञको भनाइ छ।

दीर्घकालीन विकल्प आवश्यक

बालिका

नेपाल खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माका अनुसार हाल सञ्चालन भइरहेका अनलाइन कक्षाहरू निशुल्क रूपमा उपलब्ध हुने एप्स वा अन्य सफ्टवेयरको माध्यमबाट चलाइएकाले त्यो दिगो हुन नसक्ने हुनाले अन्य विकल्पमा जानुपर्ने बताउँछन्।

उनले भने, "ठूलो सङ्ख्यामा विद्यार्थीहरूलाई अनलाइन कक्षामा आवद्ध बनाउन मोबाइलको डाटाको माध्यमलाई सदुपयोग गर्ने हिसाबले सोच्नुपर्ने हुन्छ। अहिले प्रदान गरिएको सुविधा निश्चित समय र संख्यालाई मात्रै प्रभावकारी देखिन्छ।"

त्यसका अतिरिक्त पाठ्यसामग्रीलाई अनलाइनको माध्यमसँग मेल खाने हिसाबले बनाउन सके र पाठ्यसामग्री जतिबेलामा पढ्न मिल्ने गरी अनलाइन संग्रहका रूपमा राख्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

त्यसका अतिरिक्त युट्यूव, स्थानीय रेडियो र टेलिभिजनबाट समेत यस्तो शिक्षालाई प्रवर्द्धन गर्न सकिने विज्ञको धारणा छ।

कोरोनाभाइरसको सङ्क्रमण फैलने डरले नेपालमा पनि सबै स्कूल कलेज चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो भने कैयन् महत्त्वपूर्ण परिक्षाहरूसमेत स्थगित गरिएको थियो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर