कोरोनाभाइरस: लकडाउन कडा पार्ने, विदेशबाट आएका व्यक्तिको परीक्षणमा तीव्रता दिने नेपाल सरकारको निर्णय

तस्बिर स्रोत, Nepal Police
नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने तथा विदेशबाट फर्किएका र क्वारन्टीनमा रहेका व्यक्तिको परीक्षण गर्ने निर्णय गरेको छ।
नेपालभित्रै सङ्क्रमण सरेको पहिलो घटना पुष्टि भएपछि तथा भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि मन्त्रिपरिषद्को बैठक शनिवार अपराह्ण बसेको थियो।
मन्त्रिपरिषद्ले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गरेको र सङ्क्रमित व्यक्तिको सङ्ख्या थोरै भएकोमा सन्तुष्टि व्यक्त गरेको छ।
कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए।
साथै मन्त्रिपरिषद्ले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारन्टीनमा राखिएका व्यक्तिहरू तथा विदेशबाट फर्किएका व्यक्तिहरूको परीक्षणमा तीव्रता दिने निर्णय गरेको छ। अहिले भेटिएका अधिकांश सङ्क्रमित व्यक्ति ती तीन जिल्लाका हुन्।
नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै डा. युवराज खतिवडाले स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्ने व्यवस्था सरकारले मिलाउने बताए।
उनका अनुसार मन्त्रिपरिषद्को अर्को बैठकले लकडाउनबारे निर्णय गर्नेछ।
यसअघि सुरुमा चैत ११ गतेदेखि १८ गते बिहानसम्मको निम्ति लगाइएको प्रतिबन्ध एक साता थपेर चैत्र २५ गते मध्यरातसम्म पुर्याइएको थियो। अन्तर्राष्ट्रिय उडानमा वैशाख ३ गतेसम्म रोक लगाइएको छ।
मन्त्रिपरिषद्का निर्णय
- लकडाउनलाई अझ पूर्ण पालना गराउन विभिन्न निकायले प्रभावकारी भूमिका निर्वाह गर्न र एक प्रदेशबाट अर्को, एक जिल्लाबाट अर्को र एक स्थानीय तहबाट अर्को तहमा आवागमन गर्न नदिने
- कैलाली, कञ्चनपुर र बागलुङमा सम्भावित सङ्क्रमितको र्यापिड टेस्ट विधिबाट परीक्षण गर्ने र सङ्क्रमणको आशङ्का भएकाहरूको पुनः परीक्षण गर्ने
- स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन बीमाको व्यवस्थादेखि प्रोत्साहन भत्ता दिने तथा स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने
- स्वास्थ्यकर्मीलाई सुरक्षाको व्यवस्था गर्ने
'सङ्क्रमण दोस्रो चरणमा'
नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ।

तस्बिर स्रोत, Roshan Sapkota
एक जना निको भइसकेका छन् भने उपचाररत अन्यको स्वास्थ्यस्थिति सामान्य रहेको अधिकारीहरूले बताएका छन्।
सुदूरपश्चिम प्रदेशका थप तीन जनामा सङ्क्रमण भएको शनिवार पुष्टि गरिएको थियो।
तीमध्ये विदेशबाट आएका आफन्तबाट एक महिलामा भाइरस सरेको बताइएको छ।
त्यससँगै कोरोनाभाइरसको सङ्क्रमण नेपालमा दोस्रो चरणमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्।
अन्य आठजना सङ्क्रमित भारत र अन्य मुलुकबाट नेपाल आएकाहरू हुन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ












