कोरोनाभाइरस: बढी लकडाउन उल्लङ्घन राजधानीमा, देशभर १८ हजार बढीलाई कारबाही

तस्बिर स्रोत, Nepal Police
- Author, कमल परियार
- Role, बीबीसी न्यूज नेपाली
कोरोनाभाइरसको जोखिमलाई कम गर्न भन्दै सरकारले लगाएको ‘लकडाउन’ अर्थात् बन्दाबन्दी पूर्ण पालना गर्न सहयोग गर्न गृह मन्त्रालयले जनप्रतिनिधि तथा नागरिक समाजको समेत सहयोगको खाँचो रहेको जनाएको छ।
बीबीसीसँगको कुराकानीमा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले प्रहरी प्रशासनको एकल प्रयासले लकडाउन उल्लङ्घनको नियन्त्रण सम्भव नहुने भएकोले नागरिक समाज तथा जनप्रतिनिधिको सहयोग आवश्यक रहेको बताए।
उनले भने, "लकडाउनको पूर्ण पालना गराई कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्नु हामी सबैको दायित्व हो।"
प्रहरी प्रधान कार्यालयका अनुसार बन्दाबन्दी सुरु भएपछि देशैभर गरेर हालसम्म झण्डै १८ हजारभन्दा बढी मानिस तथा १५ हजारभन्दा बढी सवारीसाधन प्रहरी कार्वाहीमा परेका छन्।
लकडाउनको उल्लङ्घन
शहरी भेगमा तथा एकाबिहानै र रातिको समयमा लकडाउन उल्लङ्घन बढी हुने गरेको प्रहरीको भनाइ छ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले अत्यावश्यक कारण भन्दापनि आत्मानुशासन नभएको वा हेलचक्र्याइँ गरेर बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या धेरै भएको बताए।
उनले भने, "कामविशेषले भन्दा पनि नेपाल बन्दको बेलामा जस्तो 'साँझ त खुलिहाल्छ नि' भन्ने मनस्थिति र 'चोकतिर के छ हेरौँ न' भनेर बरालिँदा धेरै प्रहरीको नियन्त्रणमा परेका हुन्।"
कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन अत्यावश्यक सेवा बाहेक मुलुकभर हिँडडुलमा प्रतिबन्ध लगाइएपनि त्यसको पूर्ण पालना हुन नसक्दा सङ्क्रमणको थप जोखिम बढ्ने चिन्ता सामाजिक सञ्जालमा पनि व्यक्त भएका छन्।
सुरुवातका दुईतीन दिन लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गरिएकोमा अहिले जहाँ उल्लङ्घन गरेको भेटियो त्यहीँ नियन्त्रणमा लिएर केही घण्टा राख्ने गरिएको छ।
नियन्त्रणपछि प्रहरीले आगामी दिनमा लकडाउन उल्लङ्घन नगर्ने सर्तमा कोरोनाभाइरस सङ्क्रमणबारेमा प्रशिक्षण दिएर छाड्दै आएको बताएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

अभ्यस्त हुन समय लाग्छ
तर समाजशास्त्री चैतन्य मिश्र जनसङ्ख्याको ठूलो हिस्सा गरिखाने वर्ग भएकोले हिँडडूल गर्नुपर्ने बाध्यता र लामो समयसम्म लगातार घरमा बस्न हाम्रो समाज अभ्यस्त नभएकोले यस्ता समस्या देखिएको बताउँछन्।
लकडाउन उल्लङ्घनलाई पूर्ण पालना गराउन सरकारी संयन्त्रले केही प्रयास गरेको भएपनि प्रहरीको बलले मात्र यो नियन्त्रण गर्न कठिन रहेको उनको भनाइ छ।
समाजशास्त्री मिश्रले भने, "टोलटोलमा युवा स्वयम्सेवकको परिचालन वा जनप्रतिनिधिको अगुवाइमा सङ्क्रमणबारे जनचेतनासँगै राहत वा खाद्यान्न लगायतका अन्य आवश्यकता पुर्याउने संयन्त्र विकास गरेको भए लकडाउन उल्लङ्घन कम गर्न सकिन्थ्यो।"
त्यसका अतिरिक्त हाल प्रहरीको उपस्थिति शहरका मूल सडकमा मात्रै केन्द्रित रहेकोले शहरका भित्री सडक वा टोलमा मानिस निस्फिक्री हिँडिरहेको उनको गुनासो छ।
बढी उल्लङ्घन राजधानीमा
उल्लङ्घन गर्नेमा सबैभन्दा धेरै काठमाण्डू उपत्यकामा रहेको नेपाल प्रहरीको तथ्याङ्क छ।

तस्बिर स्रोत, Nepal Police
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार बिहान र साँझ व्यायाम गर्न वा हिँडडूल गर्न निस्कनेको सङ्ख्या अत्यधिक छ।
कतिपयले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम रहेको, हालसम्म एकजनाको पनि सङ्क्रमणका कारण मृत्यु नभएको भन्दै हिँड्ने गरेको उनले बताए।
तर उपचार वा औषधी किनमेल गर्न, बिरामी भेट्न वा अत्यावश्यक कारणले लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या न्यून रहेको प्रहरीको भनाइ छ।
डीआइजी पोखरेलले भने, "कसैलाई जरूरी काम परेर बाहिर निस्कनु पर्यो भने १०० मा फोन गरेर वा नजिकको प्रहरीसँग समन्वयमा मात्र निस्कन हाम्रो अनुरोध छ।"
पटकपटक विभिन्न माध्यमबाट सूचित गर्दा वा चेतावनी दिँदा पनि उल्लङ्घनका घटना नरोकिएकोले लकडाउन पालनामा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन रहेको प्रहरीको भनाइ छ।
लकडाउन उल्लङ्घनका घटना बढेमा नियन्त्रण गर्नका लागि निषेधाज्ञा वा कर्फ्यू समेत लगाउन सक्ने स्थानीय प्रशासनलाई आदेश भैसकेको र उल्लङ्घन गर्नेले जरिवाना तथा ६ महिनासम्मको कैदसजाय भोग्नसक्ने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।








