कोरोनाभाइरस: सम्भावित सङ्क्रमित नजिक रहेर काम गर्ने नर्सले मागे सुरक्षा सामग्री

- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली
कोरोनाभाइरस सङ्क्रमित वा कोभिड-१९ का बिरामीको उपचारका लागि राजधानी बाहिरका अस्पतालका आइसोलेशन अथवा एकान्त कक्षमा खटिने नर्सहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई अझै प्राथमिकतामा नराखिएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।
उनीहरूले स्वास्थ्यकर्मीमा भाइरस सङ्क्रमण हुन नदिनका लागि शिरदेखि पाउसम्मै छोप्ने पीपीई अर्थात व्यक्तिगत सुरक्षा कवच र सामग्रीमा आफूहरूको पहुँच नरहेको जनाएका छन्।
कतिपय स्थानीय तहहरूले तयार पारेका क्वारन्टीनमा काम गरिरहेका नर्सहरूले आफूहरूसँग हातमा लाउने पञ्जा पनि नभएको जानकारी दिएका छन्।
सरकारले अन्य भत्ता लगायत सुविधा दिने बताइरहँदा उनीहरूले सबभन्दा पहिला आफ्नो ज्यानको सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार नर्सहरूका लागि भनेर छुट्टै सुरक्षा सामग्री सरकारले उपलब्ध गराइसकेको छैन।
'पालिकाले ध्यान दिएन'
झापाको मेचीनगर नगरपालिकामा कार्यरत शशी राई कोरोना भाइरस कोभिड-१९ का शङ्कास्पद सङ्क्रमितलाई राख्ने स्थान क्वारन्टीन तथा आइसोलेशनमा खटिएकी नर्स हुन्।
नगरपालिकाले नयाँ स्वास्थ्य चौकी भवनमा बनाएको आइसोलेशन कक्षकी नर्स रहेकी उनले बीबीसीलाई भनिन्, "पालिकाका पदाधिकारी दाल चामल बाँड्नतिर लागेका छन्। हाम्रो सुरक्षाको विषयमा कसैको ध्यान छैन। सङ्क्रमितहरू आए र थपिए भने के गर्ने हो केही थाहा छैन। हामी अलमलमा छौँ।"
त्यहाँ आइसोलेशनमा राखिएका एक व्यक्तिलाई नमुना सङ्कलनका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको थियो।
पछि परीक्षणमा सङ्क्रमण नदेखिए पनि सुरक्षा सामग्रीविना लक्षण देखिएका त्यस्ता व्यक्तिहरूको हेरचाहमा खटिँदा जोखिम अनुभव गरेको उनले बताइन्।
झापाको विर्तामोडमा एउटा क्वारन्टीनस्थलमा काम गर्ने नर्स सङ्गीता अधिकारीले पनि आफूहरूले सुरक्षाकवचविना काम गरिरहनु परेको बताइन्।
उनले भनिन्, "पञ्जा छैन। सर्जिकल मास्क छ। त्यसले पनि कति काम गर्छ केही थाहा छैन।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

आइसोलेशनमा पनि पर्याप्त छैन 'पीपीई'
भारतसहित विदेशबाट फर्किएका अनि आफ्नो देश जान लागेका भारतीय नागरिकलाई स्थानीय तह, प्रदेश सरकारहरुले बनाएका क्वारन्टीन स्थलमा लगेर राख्ने गरिएको छ।
अझ कोभिड-१९ को सङ्क्रमणको लक्षण पाइए आइसोलेशनमा लगेर नमुना सङ्कलन गर्ने गरिन्छ। त्यहाँ पनि आफूहरू नै पहिला बिरामीको सम्पर्कमा आउने नर्सहरू बताउँछन्।
प्रदेश सरकारले केही थान पीपीई पठाइदिए पनि त्यो पर्याप्त नभएको मेची अस्पताल भद्रपुरमा कार्यरत नर्स रिका शाहले बताइन्।

उनले भनिन्, "अहिले हामीलाई चाहिएको व्यक्तिगत सुरक्षा सामग्री नै हुन्। जुन हामीलाई पाउन गाह्रो भएको छ।"
हेटौंडा अस्पतालको आइसोलेशन वार्डमा कार्यरत नर्स जोसिका शर्माले अन्य कुरा गौण राखेर पनि गुणस्तरयुक्त सुरक्षा सामग्री आफूहरूलाई चाहिएको बताइन्।
उनले भनिन्, "सङ्क्रमित नभएको बेला त मानौँ ठिकै छ। तर बढे भने के गर्ने?"
अस्पताल के गर्दैछ
तर अस्पताल प्रशासनले भने भएका सामग्रीलाई प्रयोगमा ल्याइएको बताउने गरेको छ।
मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरका अनुसार आइसोलेशनमा काम गरिरहेका नर्सहरूलाई छुट्टै व्यवस्था नगरिएको तर विश्व स्वास्थ्य सङ्गठनको निर्देशन बमोजिम स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री प्रयोग भइरहेको बताए।
उनले भने, "सङ्क्रमित नदेखिएको हाम्रो जस्तो अस्पतालमा अहिलेसम्म उहाँहरूलाई जोखिम कम नै छ । तर भविष्यमा सङ्क्रमितहरूको भीड लाग्यो भने स्वास्थ्यकर्मीको सुरक्षाको विषय चाहिँ अप्ठ्यारो छ।"
नर्सलाई सुरक्षाको माग
नर्सिङ एसोसिएसन अफ नेपालका पदाधिकारीले सङ्क्रमित व्यक्ति वा बिरामीको नजिक गएर सेवा गर्ने नर्सहरूका लागि व्यक्तिगत सुरक्षाका सामग्री तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
एसोसिएसनकी अध्यक्ष मनुकुमारी राईले भनिन्, "हामीले बारम्बार यो कुरा उठाएका छौँ। काठमाण्डूका कतिपय अस्पतालले सुरक्षाका सामाग्री उपलब्ध गराएका छन् तर सबैतिरका नर्सहरूको सुरक्षा हुनुपर्छ भन्ने हाम्रो माग हो।"
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नर्सहरूका लागि भनेर छुट्टै कुनै व्यवस्था नभएको बताए।
श्रेष्ठले भने, "अस्पताल भएका पालिकाहरूमा त हामीले पुर्याएका छौँ। नर्सहरूलाई भनेर छुट्टै वितरण गर्ने योजना छैन।"








